Comments Add Comment

प्रचण्डलाई जुत्ता हानिएको घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

१९ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर भएको जुत्ता प्रहारको घटनाबारे छानबिनका लागि एक जना प्रहरी वरिष्ठ अधिकृतको नेतृत्वमा समिति गठन भएको छ ।

उपत्यकामा हुने विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।

समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना सदस्य छन् ।

समितिले प्रकरणबारे छानबिन सकेर तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउनेछ ।

आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । घटनामा संलग्न जुम्लाका रतन तिरुवा पक्राउ परेका छन् ।

प्रहरीलाई बयान दिँदै उनले प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेको भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment