Comments Add Comment

दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री खतिवडा

२० फागुन, काठमाडौं । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि कानुनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए ।

उनले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको बताए ।

उनले भने, ‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने सेवा प्रदान नगर्ने ओगट्ने अनि तिमीले गरेका कामहरु छिटो छरितो सम्पन्न गर भन्दा अदालत गुहार्न जाने यो कुराको पनि अब अन्त्य हुनुुपर्छ । लाइसेन्स होल्ड गर्ने कुरा अन्यत्र छ भन्ने सुनेको थिएँ, अहिले केही दिनदेखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाली रहँदा यहाँ पनि त्यो प्रवृति रहेछ हेर्नुस् । यो त राष्ट्रिय रोग पो भएको रहेछ, यसको पनि अब अन्त्य हुनुपर्छ, यसरी हुँदैन ।’

मन्त्री खतिवडाले दूरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडिने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफू मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताए । उनले राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दबावमा परेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठ्ने समेत बताए ।

उनले अबको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने बताए । क्रिप्टोकरेन्सी, क्राउडसोर्सिङ, ई-कमर्सका क्षेत्रमा डेटा महत्वपूर्ण हुने भएकाले डेटाको सेवा वृद्धि गर्न र गुणस्तरीय बनाउन ध्यान दिन उनले आग्रह गरे । उनले प्राधिकरणको व्यवसायीक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने बताए । जवाफदेही विनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर कम गर्न उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment