Comments Add Comment

कोरोना प्रभाव : वीरगञ्जमा होली मनाउँदा भीडभाड नगर्न आग्रह

२० फागुन, वीरगञ्ज । वीरगञ्जका सरोकारवालाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि होली पर्वमा ठूलो भीडभाड नगर्न आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सरोकारवालाको बैठकले होली पर्वमा ठूलो जमघट हुने गरी कार्यक्रम नगर्न र गर्नै पर्ने अवस्थामा विशेष सतर्कता अपनाउन आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै ठूला मेला महोत्वसको लागि अनुमति नदिने र अत्यावश्यक बाहेक सार्वजनिक कार्यक्रम नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।

मंगलबारको बैठकले वीरगञ्ज नाका हुँदै आउने सबैको स्वास्थ्य परीक्षण गर्न सम्भव नहुने र आवश्यक समेत नरहेको निश्कर्ष निकालेको छ ।

यसअघि नै वीरगञ्ज भन्सार नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

तर हेल्थ डेस्क’ मा नाका हुँदै आउने सबैको स्वास्थ्य जाँच गरिदैन । डेस्कले हालसम्म ३२ जना चिनियाँ नागरिक सहित विभिन्न मुलुकका १ सय ३० जनाको स्वास्थ्य परीक्षण गरेको छ । उनीहरुमा कोरोना भाईस संक्रमणको कुनैपनि लक्षण नभेटिएको दावी हेल्थ डेस्कको छ ।

डेस्कमार्फत दैनिक हजारौंको संख्यामा आउने भारतीय नागरिकलाई निगरानीमा राखिएको छैन ।

वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण महतोले भारतमा कोरोना संक्रमित देखिए पनि आत्तिहाल्नुपर्ने अवस्था नभएकोले भारतीय नागरिकको स्वास्थ्य परीक्षण नगरिएको बताए ।

‘भारतमा भेटिएका संक्रमित बाहिरबाट आएका हुन्, उनीहरुलाई आइसोलेसनमा राखिएको छ । यसको अर्थ उनीहरुबाट अरुलाई रोग सर्दैन’ महतोले भने ‘अहिले नै नाकाबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्नु आवश्यक छैन ।’

प्रमुख जिल्ला अधिकारी कार्कीले पनि हजारौंको संख्यामा आउने नागरिकको स्वास्थ्य परीक्षण सम्भव नदेखिएको बताए । ‘नाकाबाट धेरै मानिसहरु आउने रहेछन्, सबैको स्वास्थ्य जाँच गर्न संभव छैन’ उनले भने ।

हेल्थ डेस्कको राखिएको अध्यागमन कार्यालयको पुरानो भवनको संरचना उपयुक्त नभएको, सामान्य वर्षा हुँदासमेत पानी जम्ने समस्या देखिएको र हेल्थ डेस्कमा हात धुने बेसन र पञ्जा समेत नदेखिएको गुनासो आएको छ । हेल्थ डेस्कमा खटिएका हेल्थ असिस्टेन्ट सुमनचन्द्र ठाकुरले नारायणी अस्पताललमा आइसोलेसन वार्ड स्थापना गरेको भनिए पनि सम्पर्क व्यक्तिको बारेमा जानकारी नदिएको गुनासो गरे ।

‘कसरी आफू जोगिएर स्क्रिनिङ गर्ने भन्ने बारे जानकारी हुने भएकोले सचेत छौं, तपक्रम नाप्दा लेजर थर्मोमिटरको प्रयोग गरिरहेका छौं’ उनले भने ‘स्क्रिनिङ गर्दा व्यक्तिमा कोरोनाका लक्षण छ वा छैन भनेर हेर्छौ, उनीहरुको हाउभाउ, गतिविधिलाई नियाल्छौं । जोखिमयुक्त नलागेपछि जान दिन्छौं ।’

उनले हेल्थ डेस्कका लागि कोरोना भाइरस पत्ता लगाउने किट र प्रोटेक्सन गाउन लगायत अत्यवश्यकीय सामाग्री उपलब्ध गराउनुपर्ने माग गरे ।

बैठकले सीमामा हेल्थ डेस्कलाई व्यवस्थित बनाउने, एम्बुलेन्स लगायत अत्यावस्यकीय सामानको बन्दोबस्त गर्ने, नारायाणी अस्पतालमा जस्तै आइसोलेसन वार्ड स्थापनाका लागि निजी अस्पताललाई अनुरोध गर्ने, स्थानीय तहलाई स्थानीय भाषामा कोरोना भाइरस र यसबाट बच्ने उपायका बारेमा प्रचार गर्न, होली पर्वमा भीडभाड नगर्न आग्रह गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकमा सुरक्षा निकायका प्रतिनिधि, वीरगञ्ज महानगरपालिका, नेपाल पत्रकार महासंघ, वीरगञ्ज भन्सार कार्यालय, अध्यागमनको कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायतका सरोकारवाला निकायका प्रतिनीधि सहभागी थिए ।

कोराना भाइरसको रोकथाम र नियन्त्रणका लागि गरिएको ७ बुँदे निर्णय

१. जिल्ला प्रशासन कार्यालय तथा वीरगंज महानगरपालिकाले ठूला मेला महोत्वसको लागि अनुमति नदिने र अत्यावश्यक बाहेकका मानिसहरुको भीडभाड हुने सार्वजनिक कार्यक्रमहरु सञ्चालन नगर्न, नगराउन जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानगरपालिका तथा अन्य सरोकारवाहरु सबैले सम्बद्ध सबैलाई अनुरोध गर्ने ।

२. आउँदै गरेको होली पर्वमा ठूलो जमघट हुने गरी कार्यक्रम नगर्न र गर्नै पर्ने अवस्थामा पनि विशेष सतर्कता अपनाउन आग्रह गर्ने ।

३. कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि बीरगञ्ज महानगरपालिकाले नेपाल भारत सीमा (शंकराचार्य गेट) मा स्थापना गरेको हेल्प डेस्कमा एम्बुलेन्स, औषधी लगायतका आवश्यक सामानहरुको व्यवस्था गरी यसलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने ।

४. नारायणी अस्पताललगायत निजी अस्पतालहरुले कोरोना भाइरसका शंकास्पद विरामीहरुका लागि छुट्टै आइसोलेसन वार्ड स्थापना गरी स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्ने र सम्पर्क व्यक्ति समेत तोकी हेल्प डेक्सलाई जानकारी गराउने ।

५. कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि व्यापक जनचेतना जगाउन अति जरुरी देखिएकोले स्थानीय तहहरुलाई स्वास्थ्य संस्थाहरु, विद्यालयहरु, संचार माध्यम, सिनेमा हलहरु तथा अन्य सरोकारवाला निकाय, संस्थाहरुसँग समन्वय गरी पर्चा , पम्पलेट, ब्रोसर जस्ता प्रचार सामाग्रीहरु स्थानीय भाषामा समेत तयार गरी व्यापक प्रचार प्रचार गर्न अनुरोध गर्ने ।

६. सीमा नाकाहरुमा खटिएका कर्मचारी तथा सुरक्षा कर्मीहरुले शंकास्पद मानिसहरु भेटिएमा उच्च सतर्कता अपनाई हेल्प डेक्स तथा नजिकको स्वास्थ्य संस्थामा पठाउने ।

७. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालयसँग स्वास्थ्य कार्यालय पर्साले समन्वय गरी आवश्यक टेस्ट किट, गाउन, मास्क लगायत अन्य सामाग्रीको व्यवस्थाको लागि पहल गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment