Comments Add Comment

सुन लुकाउन संकेत गर्ने कार्यालय सहयोगीविरुद्ध मुद्दा

२१ फागुन, काठमाडौं । बाह्य मुलुकबाट अवैध रुपमा भित्रिएको सुन लुकाउन सहयोग गरेको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

कार्यालय सहयोगी डोमा शेर्पाविरुद्ध १६८५ ग्राम सुन लुकाउन सहयोग गरेको आरोपमा ७ लाख ७ हजार ७ सय रुपैयाँ माग दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा शेर्पाले सांकेतिक भाषाको प्रयोग गरी विमानस्थलस्थित प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा रहेको सोफा पछाडि अवैधरुपमा भित्र्याइएको सुन फाल्न लगाएर तस्करीलाई सघाउन खोजेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारको अनुसार थाइएयरवेजमार्फत २०७६ साल बैशाख ८ गते नेपाल आएका भियतनामी नागरिक फन्थीलोन थाओ र कम्बोडियन नागरिक थेरी वेयलाई शेर्पाले सांकेतिक भाषाको प्रयोग गरी भन्सार प्रमुखको कार्यकक्षमा रहेको सोफा पछाडि सुन फाल्न लगाएकी थिइन् ।

खानतलासी गर्ने क्रममा शेर्पाले सांकेतिक संवादमार्फत सोफाको पछाडि भागमा उक्त परिमाणको सुन फाल्न लगाएकी थिइन् । तर उक्त परिमाणको सुन सोफाको पछाडि भागबाट बरामद भएको थियो ।

अवैध रुपमा सुन भित्र्याउने दुवै जना विदेशी नागरिकमाथि पनि कानुनी कारबाहीको प्रक्रिया अघि बढी रहेकोले शेर्पाविरुद्ध पनि सुन लुकाउन लगाई गैरकानुनी रुपमा राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment