Comments Add Comment

प्रदेश १ मा कांग्रेसले माग्यो कोरोना रोकथामबारे सरकारको जवाफ

२२ फागुन, विराटनगर । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भइरहेको प्रयासको जानकारी माग गरेको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसका मुख्य सचेतक केदार कार्कीले कोरोना भाइरस (कोभिड १९) बाट विश्व त्रस्त रहेका अवस्थामा प्रदेशमा यसको रोकथाम र सतर्कताका लागि के भइरहेको छ भनी सरकारसँग जानकारी मागेका हुन् ।

कार्कीले कोरोना भाइरस (कोभिड १९) बाट विश्व त्रस्त रहेको अवस्थामा अफवाहको भरमा गलत क्रियाकलाप र कालोबजारी सुरु भएको पनि बताए ।

‘संक्रमण देखिए भारतले सीमा लक गर्छ । दबाइ पठाउन छाड्यो । ग्यासको अभाव सुरु भयो । सरकार के गर्दैछ ? खाद्यान्न छ कि छैन ? हामीसँग बोर्डरमा चेक गर्ने मेसिन, लगाउने उपकरण पोसाक छ कि छैन ?’ उनले भने ।

सांसद कार्कीले भारतीय सीमा बन्द भए पन्ध्र दिनमै भोकमरी लाग्ने भन्दै कार्कीले रोगभन्दा भोकमरीको त्रास भएको सुनाए । ‘‘दैनिक उपभोग्य वस्तुको त्रास भयो । झक्झक्याउन खोजेको हो,’ कार्कीले भने, ‘‘सरकार हाम्रो तयारी के छ ?’

प्रमुख प्रतिपक्षी दलले जवाफ माग गरेपछि समाजिक विकास मन्त्री जीवन घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिँदै प्रदेशमा पनि उच्च सतर्कता र सावधानी अवलम्बन गरेको बताए ।

कोरोनाको संक्रमण भइहालेका खण्डमा त्यसको आवश्यक उपचारको व्यवस्था सरकारले मिलाएको जानकारी दिए । उनले प्रदेशका ६ वटा अस्पतालमा तयारी गरिएको जानकारी दिए ।

प्रकोप बारम्बार आउने भएकाले नियमन गर्नका लागि प्रदेश सरकारले आपत्कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र कोसी अस्पताल परिसरमा निर्माण गरिएको र त्यो दुईचार दिनभित्रै सञ्चालनमा आउने बताए ।

‘यसको अर्थ उत्पात भइसक्यो । कहालीलाग्दो अवस्था र ज्यान जान लागिसक्यो भन्ने रूपमा बुझ्नु हुन्न । तर, सचेतना अपनाउनु पर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment