Comments Add Comment

‘२ नम्बरी’मा भुटानी नायिका उगेनसँग दयाहाङको जोडी

दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘२ नम्बरी’मा भुटानी नायिका उगेन छोदेनको प्रवेश भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै चलचित्रमा उगेनले काम गर्न लागेको जनकारी दिइएको हो ।

भुटानी चलचित्र क्षेत्रमा नायिका, निर्मात्री तथा निर्देशक समेत रहेकी उगेनले २ नम्बरीबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी हुन् । उगेनले चलचित्रमा अभिनेता दयाहाङ राईको जोडी भएर काम गर्नेछिन् ।

नेपाली चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको उगेनले बताइन् । पत्रकार सम्मेलनमा उनले भनिन्, ‘भुटानमा हेर्ने भनेको नै बलिउड र नेपाली चलचित्र हो । भुटानमा नेपाली चलचित्रको राम्रो क्रेज छ । नेपाली चलचित्रमा काम गर्न पाएकोमा मलाई निकै खुसी लागेको छ ।’

आफूलाई दयाहाङको फ्यान भन्दै उनले दयाहाङसँग काम गर्न पाउँदा आफूलाई गर्व लागेको बोलिन । उनले थपिन्, ‘मलाई दयाहाङ निकै मन पर्ने कलाकार हुनुहुन्छ । उहाँको धेरै चलचित्र हेरेको छु । उहाँको कबड्डी चलचित्र हेरेपछि म उहाँको फ्यान भएको थिए ।’

दयाहाङ पनि भुटानमा स्थापित भइसकेकी नायिका उगेनसँग काम गर्नको लागि उत्साहित छन् । उगेनलाई स्वागत गर्दै उनले भने, ‘दुई देशका चलचित्रकर्मीहरुले एकसाथ काम गर्दैछौँ । पक्कै यस चलचित्रले दुई देशको सम्बन्धलाई टेवा पुग्नेछ ।’

निर्देशक लामाले आफ्नो चलचित्रलाई सुहाउने भूमिका रहेकाले उगेनलाई अनुबन्धित गरेको सुनाए । उनले भने, ‘मैले उहाँलाई केही वर्ष अगाडि चलचित्र फेस्टिभलमा भेटेको थिए । मेरो चलचित्रमा भुटानी क्यारेक्टर चाहिने भएकाले उहाँलाई अफर गरेको थिए । उहाँले पनि सहजै मान्नुभयो ।’

निर्देशक लामाकै कथा रहेको चलचित्रमा पल शाह र वर्षा राउतको पनि मुख्य भूमिका रहेको छ । किरण नेपालीको प्रस्तुतीमा बन्न लागेको यस चलचित्रको छायांकन आगमी साताबाट सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment