Comments Add Comment

तिलोत्तमाको सिक्सलेन सडकमा वायो शौचालय

खानेपानी संस्थाको एक करोड लगानी

२२ फागुन,बुटवल । तिलोत्तमा नगरपालिकाको सिक्सलेन सडकमा वायो शौचालय निर्माण गरिएको छ । वायो शौचालयहरु नेपालमै पहिलोपटक तिलोत्तममा प्रयोग गरिएको नगरपालिकाको दाबी छ ।

ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमाको अभियानलाई साथ दिँदै शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १ करोड १६ लाख रुपैयाँ लगानीमा वायो शौचालय निर्माण गरेको हो । संस्थाले नगरपालिकासँगको सहकार्यमा सडकको सर्भिस लेनमा १० ठाउँमा शौचालय राखेको हो ।

योगीकुटी चोकदेखि ड्राइभरटोलसम्म सडकको दुवैतर्फको सर्भिसलेनमा शौचालय राखिएको छ । डबल सिट भएको शौचालय ड्राइभरटोल, योगीकुटी हाटबजार तथा मगरघाटमा राखिएको छ ।

तिलोत्तमाले नगरका अन्य खानेपानी संस्थाहरुसँगको सहकार्यमा कोटिहवासम्म कै सडकमा यस्तै स्मार्ट सार्वजनिक शौचालय राख्ने तयारी गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए । चौबीसैघन्टा खुल्ला रहने शौचालयहरु निशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था हुने खानेपानी संस्थाका अध्यक्ष हरि तिवारीले बताए ।

दक्षिण भारतका सडकमा राखिएको सार्वजनिक शौचालयको अनुशरण गर्दै तिलोत्तमामा पनि राखिएको तिवारीले बताए । खानेपानी संस्थाको टोली वायो शौचालयको अध्ययन गर्न गत वर्ष त्यहाँ पुगेको थियो । भारतीय कम्पनी ईलिफो वायोटेकद्वारा उत्पादित वायो शौचालय ल्याएर यहाँ जडान गरिएको हो । सडक यात्रीको आवश्यकतालाई मध्यनजर राखी नेपालका अन्य ठाउँमा समेत निर्माण गर्न मिल्ने अवधारणाअनुसार वायो शौचालय निर्माण गरिएको नगर प्रमुख घिमिरले बताए ।

‘तिलोत्तमालाई मुलुककै स्वच्छ, सफा र नमूना बनाउने अभियान अन्तर्गत वायो शौचालय निर्माण गरिएको हो,’ नगर प्रमुख घिमिरले भने ।

सडक यात्रीलाई मध्येनजर गरी निर्माण गरिएका शौचालयहरु दिनको दुईदेखि तीन पटकसम्म सरसफाई गर्नका लागि संस्थाले एक जना कर्मचारीको व्यवस्था गरेको छ । ब्याक्टेरिया प्रयोग गरिने भएकोले शौचालयलाई दिगो रुपमा सञ्चालन गर्न सकिने संस्थाका इन्जिनियर दिपक पाण्डेयले बताए । शौचालयमा आवश्यक पर्ने विद्युत जडान गर्न नगरपालिकाको उपस्थितिमा विद्युत प्राधिकरणले खानेपानी संस्थालाई सहमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment