Comments Add Comment

एक लाखमा कोरोना, ५६ हजार निको भए

२३ फागुन, काठमाडौं । पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको नोभल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण एक लाख भन्दा बढीमा देखिएका छ । शुक्रबार अपरान्हसम्मा १ लाख १ सय ६२ जनामा कोरोनाको संकेत देखिएको हो ।

कोरोना देखिएका मध्ये आधा भन्दा बढी निको भइसकेका छन् । ९३ देशमा पुगेको कोरोनाका ५५ हजार ८ सय १२ जना उपचारपछि निको भइसकेको एजेन्सीहरूले जनाएका छन् ।

कोरोनाका कारण ३ हजार ४०८ जनाको ज्यान गइसकेको छ ।

नेपाल कोरोना मुक्त

संक्रमित भेटिएका मध्ये नेपालसहित चार देशका बिरामीले स्वास्थ्य लाभ गरिसकेका छन् । चीनबाट फर्किएका एक विद्यार्थीमा कोरोना देखिएको र उनी निको भइसकेका छन् ।

नेपालमा आशंकित ४३२ जनाको परीक्षण भएको र उनीहरूमा कोरोना भाइरस नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, एक/एक जना संक्रमित देखिएका श्रीलंका, लाटभिया र कम्बोडियामा पनि कोरोनाको बिरामी नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दक्षिण एसियामा कहाँ कति ?

दक्षिण एसियाली देशहरू मध्ये भारतमा सबैभन्दा बढी संक्रमित भेटिएको छ । पछिल्लो आंकडा अनुसार भारतमा ३१ जनामा कोरोना देखा परेको हो । उनीहरू मध्ये तीन जना निको भइसकेका छन् भने २८ जना आइसोलेसनमा राखिएका छन् ।

पाकिस्तानमा ६ जनामा यसको संक्रमण देखिएको छ । भुटान र अफगानिस्तानमा पनि एक एक जनामा संक्रमित फेला परेका छन् ।

बंगलादेश र माल्दिभ्समा कोरोना संक्रमित भेटिएको छैन ।

मृत्युदर ३.४ प्रतिशत

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ भाइरसबाट संक्रमित मध्ये ३.४ प्रतिशतको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ । यसअघि संगठनले मृत्युदर दुई प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

चीनमा तीन हजार ४२ जनाको ज्यान गएको छ । चीन बाहिर १८ देशका ३६६ जनाले ज्यान गुमाएका छन् ।

इटलीमा १४८, इरानमा १२४, दक्षिण कोरियामा ४२, अमेरिकामा १४, जापानमा १२ (६ जना डायमण्ड प्रिन्सेस) र फ्रान्समा ७ जनाको मृत्यु भएको छ ।

यस्तै, स्पेनमा ५, इराकमा ३, हङकङ र अष्ट्रेलियामा २÷२ तथा स्विटजरल्याण्ड, बेलायत, नेदरल्याण्डस्, थाइल्याण्ड, ताइवान, अष्ट्रिया, सान मारिने र फिलिपिन्समा एक/एक जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment