Comments Add Comment

तिलोत्तमामा खाद्य मेला सुरु

२३ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा शुक्रबारदेख खाद्य मेला सुरु भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको मुख्य आयोजना र तिलोत्तमा नगरपालिकाको सहआयोजनामा तिलोत्तमाको कोटिहवास्थित पशुपति माविको प्रांगणमा खाद्य मेला सुरु भएको हो । मेला फागुन २५ गतेसम्म चल्ने छ ।

मेलामा खाद्य सम्बन्धी विभिन्न प्रकृतिका ६० वटा स्टल रहेका छन् । मेलामा अन्नमा आधारित अनरसा, भक्का, चटामरी, च्याख्ला, चिउरा, ढिंडो, गोलफुकी, खट्टे, लावा, सेलरोटी, सयाबजी तथा योगरीको स्वाद लिन पाइने छ भने दलहनमा आधारित किनेमा, क्वाटी, मस्यौरा, सातु र टोफुको स्वाद लिन पाइने छ ।

यसैगरी फलफूलमा आधारित अचार, खल्प, चुक, माडा, निम्की, तितौरा, तेलहनमा आधारित फिलिङ्गे, घिउ दूधमा आधारित दही, मही, घिउ, गुँदपाक, पुष्टकारी तथा माछा मासुमा आधारित सुकुटी, छोयला, कचिला, मोमो, सिद्रा, सुकाएको माछालगायतका परिकार राखिएको छ ।

मेलामा नगरभित्र रहेका मौलिक होमस्टे तथा परम्परागत खानाका परिकारहरुले समेत सहभागिता जनाएका छन् ।

मेलाको पूर्वमन्त्री एवं रुपन्देही १ का प्रतिनिधि सभा सदस्य सदस्य छविलाल विश्वकर्माले उदघाटन गरे । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले अल्प प्रयोगमा भएका तथा पौष्टिक आहारका बारेमा जनताले खाद्य मेलाबाट जान्ने अवसर प्राप्त गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment