Comments Add Comment

राजनीतिक संकटमा मलेसिया, के हो विवाद ?

२३ फागुन, काठमाडौं । पछिल्लो केही समययता मलेसियामा राजनीतिक संकट पनि चुलिएको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएसँगै त्यहाँको राजनीतिक सरगर्मी बढेको हो ।

उनले राजीनामा दिएसँगै उनको स्थानमा गृहमन्त्री मुहयुद्दिन यासिनलाई प्रधानमन्त्री नियुक्त गरिएको छ । उनले आफ्नो बहुमत जुटाउने विश्वास मलेसियाका राजाले व्यक्त गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएसँगै यासिनले संसद्को बैठक २ महिना पर सारेका छन् ।

किन प्रधानमन्त्रीबाट हटे महाथिर ?

सत्तारुढ पार्टीभित्रको तनावको कारण महाथिर मोहम्मद प्रधानमन्त्रीबाट हटेका हुन् । यसअघि सन् २०१८ मा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई हटाउन बनेको उनीहरुको गठबन्धनमा सरकार बनेदेखिनै केही विवाद देखिँदै आएको थियो । तर, महाथिरको राजीनामा पछि भने यो सतहमा आएको हो ।

सरकार बनाउँदा महाथिरले आफूले प्रधानमन्त्रीको अधिकार अनवार इब्राहिमलाई दिने बताएका थिए । तर, उनले त्यसको लागि मिति भने तोकेका थिएनन् ।

यसैबीचमा प्रधानमन्त्रीको पद नपाएपछि गठबन्धनको पार्टीले महाथिरको साथ छाडेको हो । महाथिरलाई यसअघिका सरकारसँग आफ्नो पनि संलग्नता रहेको बताए पनि पछिल्लो समय आफ्नो कुरा फेरेको भन्दै इब्राहिमको पार्टीले आलोचना गर्दै आएको थियो ।
महाथिर प्रधानमन्त्रीबाट बाहिरिए पनि उनको शक्ति भने कम नभएको विश्लेषकहरुले बताएका छन् ।

विवाद के हो ?

महाथिर र अनवार अब्राहिमको बीचमा लामो समयदेखिको विवाद छ । उनीहरुको बीचमा सम्झौता हुँदाको समयमा नै यो गठबन्धनको विषयमा आशंका गरिएको थियो । महाथिर र अनवारले एउटै पार्टीमा रहेर लामो समयदेखि काम गरिसकेका छन् ।

महाथिर प्रधानमन्त्री बनेको बेलामा २२ वर्षसम्म अनवार सहायक प्रधानमन्त्री र अर्थमन्त्री थिए । सन् १९९८ मा उनीहरुको बीचमा आर्थिक विषयलाई लिएर विवाद निस्किएको थियो । त्यसपछि उनी महाथिरविरुद्ध आन्दोलनमा निस्किएका थिए । पछि उनी भ्रष्टाचार र अप्राकृतिक यौन मुद्दामा जेल परेका थिए ।

सन् २०१८ को निर्वाचनभन्दा अघि महाथिरले अनवारसँग साँठगाँठ गरेका थिए । त्यसपछि उनी लामो समयदेखि अबद्ध रहँदै आएको पार्टी छाडेर अनवारको पार्टीमा आबद्ध भएका थिए । पार्टी छाडेपछि पनि उनले निर्वाचनमा आफ्नो गठबन्धनलाई जिताए । यो क्रममा उनले अनवारलाई जेलबाट निकाल्ने वाचा गरेका थिए । सन् २०१८ मे महिनामा उनी राजकीय माफीमा जेलबाट बाहिर निस्किएका थिए । महाथिरले आफ्नो राजनीतिक जीवनमा असर पार्नसक्ने भएकाले इब्राहिमलाई जेल हालेको आरोप छ ।

मलेसियाको राजनीतिक विवाद अब यत्तिकै साम्य हुने छाँटकाँट देखिएको छैन । प्रधानमन्त्रीबाट हटेका महाथिरले आफूमाथि धोका भएको अभिव्यक्ति दिएका छन् । महाथिरले तत्काद संसदीय निर्वाचनको आह्वान गरेका छन् । उनले नयाँ प्रधानमन्त्रीले संसद्मा विश्वासको मत जित्न नसक्ने बताएका छन् ।
मुहयुद्दिनले आफूले मलाए जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment