Comments Add Comment

‘नेपालमा औषधि अभाव हुन्छ भन्नु अफवाह हो’

बनेपास्थित औषधि पसलको अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको टोली । तस्वीर : रासस

२३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिन-१९) को महामारी विश्वभर फैलिएपछि २० फागुनमा भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले १३ थरीका कच्चा पदार्थ र तिनै कच्चा पदार्थबाट बन्ने १३ थरीका औषधीको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो ।

प्रतिबन्ध लगाएका औषधीमा पारासिटामोल, ट्रिनिड्याजोल, मेट्रोनिडाजोल, एसाइक्लोभियरलगायतका थिए ।

त्यसको भोलिपल्ट औषधी व्यवस्था विभागले यसको प्रभावबारे छलफल गर्न नेपालका औषधि व्यवसायी र सप्लायर्सलाई बोलायो ।

बैठकमा औषधी व्यवसायीहरूले प्रतिवन्ध लगाएका अधिकांश औषधीका कच्चा पदार्थ मौज्दात रहेकाले आफैं बनाउन सक्ने र चिनियाँ व्यवसायीबाट पनि औषधि र त्यसको कच्चा पदार्थ ल्याउन सक्ने जानकारी दिए । लगत्तै औषधी व्यावसायी संघले वक्तव्य निकालेर नेपालमा औषधी अभाव हुन नदिने प्रतिवद्धता जनायो ।

तर नेपाललमा औषधी अभाव हुने हल्ला चलिरह्यो ।

शुक्रबार औषधी उत्पादक संघले पत्रकार सम्मेलन गरेर औषधीमा नेपाल ७५ प्रतिशत आत्मनिर्भर रहेको भन्दै अभाव नहुने बताएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएका अधिकांश औषधी नेपालमै उत्पादन हुन्छ भन्दै संघले अफवाह नफैलाउन आग्रह गरेको छ । अहिले नै सरकारले विदेशी कम्पनीलाई औषधीका लागि अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको संघको तर्क छ ।

औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीका अनुसार भारतले प्रतिबन्ध लगाउँदा नेपाली बजारमा तत्काल असर पर्दैन । नेपाली औषधि व्यवसायीहरूसँग अझै दुईदेखि तीन महिनालाई पुग्ने औषधि र औषधि उत्पादन गर्ने कच्चा पदार्थ छ । उनी भन्छन्, ‘कच्चा पदार्थ र बजारमा भएका औषधी हिसाब गर्दा अझै ६ महिनासम्म नेपालमा औषधी अभाव हुन्न ।’

उनका अनुसार पारासिटामोल औषधी बनाउने चाहिने कच्चा पदार्थ जनवरीमा ३८ मेट्रिक टन र फेब्रुअरीमा पनि त्यति नै आयात गरिएको छ । अन्य औषधीको कच्चा पदार्थको पनि अभाव छैन ।

नेपालमा कुल वार्षिक खपतमध्ये ४८ प्रतिशत तयारी औषधी भारतबाट आउँछ भने ५२ प्रतिशत नेपाली कम्पनीले नै उत्पादन गर्छन् । यस्तै नेपालमा उत्पादन हुने औषधीका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुन्छ । यहाँ बुझ्नुपर्ने मुख्य कुरा के छ भने भारत आफैंले औषधी बनाउन चाहिने झण्डै ८५ प्रतिशत कच्चा पदार्थ चीनबाट आयात गर्छ ।

कोरोना भाइरसको मारमा रहेको चीनबाट कच्चा पदार्थ आयातमा असर परेपछि भारतले निर्यातमा कडाइ गरेको हो ।

सरकारले सहयोग नगरेको गुनासो

सरकारी तथ्यांकअनुसार नेपालमा एलोपेथिक औषधीका ६२ वटा उद्योग छन् । उनीहरूले उत्पादन गरेका औषधीले आधाभन्दा बढी माग धान्छ ।

यदि सरकारले स्वेदेशी उद्योगलाई सहयोग गर्ने हो भने अबको दुई वर्षमा नै नेपाल औषधीमा आत्मनिर्भर बन्नसक्ने औषधी उत्पादकहरुको दाबी छ । औषधी उत्पादक संघका महासचिव अधिकारी भन्छन्, ‘सरकारले स्वदेशी कम्पनीलाई प्रोत्साहन गरे मात्रै २ वर्षमा नेपाल औषधीमा आत्मनिर्भर बन्छ ।’

सरकारले २०७४ जेठमा आफ्नै देशमा उत्पादन हुने ३० प्रकृतिका औषधीको कच्चा पदार्थ मात्रै आयात गर्ने निर्णय गरेको पनि हो । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

अधिकारीकाअनुसार कार्यतालिकासहित निर्णय कार्यान्वयन योजना स्वास्थ्य मन्त्रालयमा पेश गरिएको थियो । मन्त्रालयबाट औषधी व्यवस्था विभागमा पत्र पठाएको झण्डै दुइ वर्ष बितिसक्दा पनि कार्यान्वयन भएको छैन । त्यही कारण नेपाली बजारको झन्डै आधा विदेशी कम्पनीले ओगटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment