Comments Add Comment

सिन्धुपाल्चोकका विद्यालयमा स्वीस दाताको १ अर्ब २० करोड लगानी

२४ फागुन, सिन्धुपाल्चोक । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकमा पुनर्निर्माण गरिएका विद्यालय भवनहरु स्वीस दाता कम्पनीले नेपाललाई हस्तान्तरण गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग भएको सम्झौताबमोजिम संस्थाको सहयोगमा मेलम्ची जलाधार क्षेत्र अन्तर्गत पर्ने हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थानपालधाप गाउँपालिकामा ३६ वटा विद्यालय र २ वटा छात्रावास पुनर्निर्माण कार्य सम्पन्न गरी सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण भएको हो ।

यी परियोजना अन्तर्गत विद्यालय तथा छात्रावास पुनर्निर्माणमा कुल १ अरब २० करोड रुपैयाँ खर्च भएको कारितास स्वीटजरल्याण्डका कार्यक्रम व्यवस्थापक ठाकुर थापाले अनलाइनखबरलाई बताए ।

यसैवीच, विहीबार हेलम्बु गाउँपालिका, स्थानीय साझेदार संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको समन्वयमा नवनिर्मित भवनहरु स्थानीय सरकार मार्फत विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

विहीबार एक कार्यक्रमवीच हस्तान्तरण गरिएको हेलम्बुको इचोकस्थित आधारभूत माविमा १४ कोठे विद्यालय भवनका साथै खानेपानी, शौचालय, फर्निचर, खेल मैदान निर्माण गरिएको छ ।

यो विद्यालय पुनर्निर्माण लागत ५ करोड ६ लाख २४ हजार ८ सय २० रुपैयाँ छ ।

कारितास स्विट्जरल्याण्डका कार्यक्रम ब्यवस्थापक थापाले गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पामार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेलदोर्जे गुरुङलाई नवनिर्मित सम्पूर्ण पूर्वाधारहरु हस्तान्तरण गरे ।

भवन उद्घाटन पश्चात् हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले हेलम्बु गाउँपालिकामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा संस्थाले पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।

विद्यालयको भौतिक संरचना निर्माण कार्य पूरा भएकाले अब शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताउँदै अध्यक्ष शेर्पाले पालिकाका सबै विद्यालयहरुमा समयसापेक्ष सुधार गर्न शिक्षक, शिक्षिका एवं अभिभावकलाई आग्रह गरेे । उनले भने, भने, ‘शिक्षामा गुणस्तरीयता सामुदायिक विद्यालयबाटै ल्याउनुपर्छ ।’

कार्यक्रममा कारितास स्वीटजरल्याण्डका कार्यक्रम ब्यवस्थापक थापाले भौतिक संरचनाको दिगोपनामा जोड दिँदै संरक्षणका लागि स्थानीय सरकार, समुदाय, विद्यालय र सबै सरोकारवालालाई ध्यान पुर्‍याउन अनुरोध गरे ।

कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यालयले दाता संस्थाहरु लगायत जग्गादाताहरुलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment