Comments Add Comment

‘उडुवा चामल’ले कर्णालीलाई कुपोषित बनायो !

कर्णालीमा भोकमरी होइन, भातमरी फैलिएको छ

२४ फागुन, सुर्खेत । कर्णालीमा कुपोषणको डरलाग्दो अवस्था छ । कुपोषणकै कारण शारीरिक र मानसिक रुपमा कमजोर मात्र होइन, अकालमै ज्यान पनि गुमाउनुको परेको समाचार बग्रेल्ती सुन्न सकिन्छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले कर्णालीमा प्रत्येक वर्ष जन्मिएका ५ वर्षमुनीका बालबालिका १ हजार जनामध्ये ५८ जनाले ज्यान गुमाउँदै आएको देखाएको छ । शिशु मृत्युदर पनि प्रतिहजारमा ४७ जना उल्लेख छ ।

पोषणयुक्त खानेकुराको अभाव, राम्रो स्वास्थ्य उपचार केन्द्रको अभाव र स्वास्थ्य शिक्षाको अभावले कर्णाली प्रदेशमा सबैभन्दा बढी पुड्कोपनाले विकराल रुप लिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार ५ वर्षमुनीका बालबालिकामा ५५ प्रतिशत पुड्कोपना देखिएको छ ।

कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्न पौष्टिक आहारयुक्त भने नहुने होइनन् । त्यहाँ उत्पादन हुने मकै, मार्सी चामल, सिमी, आलु, लट्टे लगायतका खाद्यान्न पौष्टिक रुपले अत्यन्तै लाभदायक मानिन्छन् । तर, पनि कर्णाली प्रदेश किन भोकमरी र कुपोषणको शिकार भइरहेको छ त ? यही विषयलाई लिएर ऋति फाउन्डेसनले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णाली उत्सव आयोजना गरेर ‘दबाइ र देउता, भोक र भकारी’ शीर्षक बहस चलायो ।

बहसमा ‘कर्णालीको भोकमरी’बो डिस्कोर्स सुरु गरेकी पोषणविद् डा अरुणा उप्रेती, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्ले र कृषिविज्ञ डा कृष्णप्रसाद पौडेल सहभागी थिए । र, तीनै जना वक्ताको निष्कर्ष थियो, ‘उडुवा चामलले कर्णालीको पोषण बिगार्‍यो । स्थानीय उत्पादनलाई उडुवा चामलले विस्थापित गर्‍यो र खाना भन्ने (भात) चामलमात्रै हो भन्ने भ्रम बनाइदियो ।’ उनीहरुको भाषामा ‘उडुवा चामल’को अर्थ आयातित चामल हो, जुन नेपालगञ्ज, सुर्खेत लगायतका विमानस्थलबाट उडाएर गाउँगाउँसम्म पुर्‍याइन्छ ।

सेसन सहजीकरण गरिरहेका केशव ढकाल लामो समय कर्णालीका कृषि र खाद्यबारे अध्ययन गरेका कृषि विज्ञ कृष्णप्रसाद पौडेललाई सोधे, ‘कर्णालीमा १० वर्ष स्थलगत अध्ययन गर्दा यहाँको कृषि र खाद्यवस्था अध्ययनका क्रममा कस्तो पाउनुभयो ?’

जवाफमा डा. पौडेलले कर्णालीको समग्र खेतिपातीलाई विकसित र वैज्ञानिक गराउने नाममा पश्चिमा शैली अपनाएर समस्या बढ्दै गएको सुनाउँछन् । ‘यहाँको कृषि युरोप, अमेरिका, भारतमा भएजस्तो कृषि क्रान्तिका आधारमा काम गरिरहेका छौं । यो हाम्रो समस्या हो,’ उनी भन्छन्, ‘यहाँको कृषि भनेको कुटो, कोदालोले नै धान्ने कृषि हो । कुटो, कोदालोबाटै यहाँको खाद्यान्न धान्न सकिन्छ ।’

कर्णालीबासीले कुटो, कोदालो प्रयोग गरेर जमिन खन्दा जम्मा ढेड इन्च खनिने र त्यही मात्रा कर्णालीमा उत्पादन गर्न प्रयाप्त रहेको डा पौडेलको अनुभव छ । ‘यहाँको माटो र भौगोलिक बनावट नै त्यस्तै छ । ढेड इन्चभन्दा बढी खन्यो भने उत्पादन हुन सक्दैन,’ उनले भने । उनले कर्णालीको कृषि महिलाले धानिरहेको समेत सुनाए ।

कर्णालीमा उत्पादन हुने काबुनो, कोदो, सिमी, मार्सी, लट्टेले नै धान्न सक्ने भएपछि अहिले खेती परम्परा नै धरापमा परेको पौडेलको विश्लेष छ । ‘अहिले कर्णालीमा खेती छैन । यहाँ केवल विदेशीले दानमा दिएका अन्न छन् । जसलाई हामी उडुवा चामल भन्छौं,’ भन्छन्, ‘त्यही उडुवा चामलको पछि लागेर हामीले पुरुषत्व देखाएका छौं । त्यसलाई हामीले जहाज र हेलिकप्टरमा उडाएर गाउँमा लैजान्छौं । र त्यही उडुवा चामलमाथि झगडा गर्छौं ।’ उनले खेती गर्ने परम्परागत वैज्ञानिक तरिकामात्रै नभएर प्रयोग हुने नुग्रे, कुटो लगायतका साधन पनि व्यापारका साधनमात्र बनाइएको उनी सुनाउँछन् ।

डा पौडेलले प्रदेश सरकारले ‘अर्गानिक कर्णाली’लाई अझै सम्मान नगर्ने हो भने समस्या अझै विकराल रुपमा फैलिने चेतावनी दिए । ‘सिंहदरबारबाट सापटी लिएर नेपालगञ्ज एअरपोर्टबाट गाउँगाउँमा ल्याएको बुद्धिले यहाँको समस्या हल हुन सक्दैन,’ उनले भने, ‘सिंहदरबारको पछि लागेर यहाँका जनता विष मगाउने र त्यही खानेमै आफ्नो बुद्धि बन्धकी राखेका छन् ।’

चामललाई मात्रै खाद्यान्न मानेर पछिल्लो समय कर्णाली ‘थलिएको’ भन्ने निष्कर्ष निकालेकी पोषणविद् डा अरुणा उप्रेती पनि स्थानीय खाद्यान्नलाई नै प्रवर्द्धन गरे कर्णाली भोकमरीको समस्या नरहने दाबी गर्छिन् ।

उनी पनि उडुवा चामलले कर्णालीबासीको भोक मेट्नुको साटो झनै भोकमरीमा धकेलिरहेको तर्क गर्छिन् । ‘कर्णालीको मान्छेलाई किनुवा, मासी, आलु, सिमीजस्ता खाद्यान्न काम नलाग्ने खानेकुरा हुन् भन्ने लागेको छ । आफ्नो उत्पादनप्रति विश्वास नभएपछि उनीहरु उडुवा चामलप्रति निर्भर हुन थालेका छन्,’ उप्रेती भन्छिन्, ‘उडुवा चामललाई म सेतो चामलको काला जादू भन्छु । त्यो चामलका स्थानीय र मौलिक खानामा जस्तो कुनै पनि पोषण हुँदैन ।’

डा उप्रेतीले विभिन्न नाममा उडेर गाउँ पुग्ने उडुवा चामलले स्थानीय उत्पादन घटिरहेको, पौष्टिक तत्वमा कमी आइरहेको सुनाइन् । ‘सरकारले चामलमात्रै दिन्छ । हामीलाई चाहिने चामलमात्रै होइन । भातसँग खाने अरु खानेकुरा खोइ त ?’ उनले भनिन्, ‘सुत्केरीलाई पनि त्यही चामल, गर्भवती महिलालाई पनि त्यही चामल, बिरामीलाई पनि त्यही चामल । यसले कुपोषणको समस्या विकराल बनाउँदैछ ।’

उडुवा चामलकै कारण एक पुस्ता कुपोषणग्रस्त भइसकेपछि त्यसले आउने पुस्तालाई पनि प्रभावित बनाउँदै लगिरहेको डा उप्रतीले सुनाइन् । ‘उडुवा चामलले यहाँको राजनीतिक, सामाजिक, स्वास्थ्य र आर्थिक जम्मै क्षेत्रमा प्रभाव पारिरहेको छ,’ उनले भनिन्, ‘त्यसैले यहाँका नागरिकले आफैं उत्पादन थालेर सरकारलाई तिम्रो चामल तिमी नै राख भन्ने आँट गर्न सक्नुपर्छ ।’

कर्णालीमा ‘भोकमरी नभई भातमरी’ फैलिएको डा उप्रेती बताउँछिन् । स्थानीय उत्पादनलाई ध्यान नदिई आयातित खाद्यान्नलाई महत्व दिँदा कर्णालीमा कुपोषणको समस्या विकराल हुँदै गएको तर्क राखिन् । सामान्यतयाः खाना पेट भर्नका लागि मात्रै जस्तो देखिएपनि त्यो संस्कृतिसँग जोडिएको हुने विचार राखिन् । ‘जब हाम्रा स्थानीय र मौलिक खाना, भोजन हराउँछन्, सँगसँगै संस्कृति र भाषा पनि हराउन थाल्छ,’ उनले भनिन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्ले कर्णालीको कुपोषण समस्या हटाउन आफूहरु लागि परेको तर, आमाहरुमै कुपोषण् भएकाले तत्काल समाधान गर्न नसकिएको सुनाए । ‘दबाइले सबै रोग निको पार्छ भन्ने होइन, सबैभन्दा पहिले प्रभाव पार्ने भनेको खाद्यान्नले नै हो,’ उनले भने, ‘यहाँ कुपोषणको समस्या धेरै देखिएको छ । कुपोषित आमाहरुबाट जन्मिएका सन्तानमा कुपोषण सरेको छ । त्यसलाई हामी तत्काल चिर्न सकिरहेका छैनौं ।’ उनले कुपोषण समस्या न्यूनीकरण गर्न समन्वय, सहकार्य लगायतका प्रक्रिया अघि बढाइरहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment