Comments Add Comment

नक्कली नागरिकता बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्वगाविस सचिव पक्राउ

२५ फागुन, वीरगञ्ज । पर्सा प्रहरीले नक्कली नेपाली नागरिकता बनाउने कार्यमा संलग्न रहेको आरोपमा एक पूर्वगाविस सचिवलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ स्थित घरबाटै पूर्वगाविस सचिव विन्दाप्रसाद साह पक्राउ परेका हुन् ।

नक्कली नागरिकता बनाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले साहको घरमा आइतबार बिहान छापामारी गरेको थियो । बहुदरमाई – ७ रामनगरीका साह पछिल्लो समय वीरगञ्जमै घर बनाएर बस्दै आएका थिए । साहको घरबाट चार दर्जन बढी नक्कली नागरिकता, विभिन्न व्यक्तिको फोटो, जन्मदर्ता, विवाहदर्ता प्रमाणपत्र, नागरिकता बनाउन भर्नुपर्ने अनुसूची फारम समेत बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

घरको एउटा कोठामा ताल्चा लगाइएको पाइएपछि प्रहरीले ताल्चा फोडेको थियो । कोठाभित्र राखिएका बक्साको ताल्चा फोडेर हेर्दा दुई वटा सिरकभित्र नागरिकता लगायतका कागजात बरामद गरिएको थियो । साह स्वयं पनि बाक्सामा लुकेर बसेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले नक्कली नागरिकताका सम्बन्धमा शंकास्पद व्यक्ति पक्राउ परेको जानकारी दिइन् । उनले अनुसन्धानपछि विस्तृत जानकारी दिन सकिने बताइन् ।

तीन दिन अघि नक्कली नागरिकतासहित जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी बनाउन पुगेका अभिषेक साह पक्राउ परेका थिए । सोही घटनाको अनुसन्धानका क्रममा प्रहरी विन्दा साहसम्म पुगेको हो । नक्कली नागरिकता बनाउने कार्यमा गिरोह नै संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । तर विन्दा साह पक्राउ परेको कुरा सार्वजनिक भइसकेकोले गिरोहका थप सदस्य पक्राउ गर्न प्रहरीलाई कठिन हुने एक प्रहरी अधिकारीले बताए ।

यो पनि पढ्नुहोस नक्कली नागरिकता लिएको आशंकामा एक जना पक्राउ

साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ । छापा मार्दा साह कै तीन वटा नागरिकता बरामद प्रहरीले बताएको छ । साहले ४० हजार रुपैयाँमा एउटा नागरिकता बनाउने गरेको बयान प्रहरी अधिकारीलाई दिएका छन् ।

पर्साको साविक डोकैला बहुअरी गाविस सचिव हुँदा साहमाथि आर्थिक हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो । मुद्दामा विशेष अदालतले साहलाई दोषी ठहर गर्दै ५ महिना कैद सजायको फैसला गरेको थियो । उनी कैद सजाय भुक्तान गरेर २ वर्ष अगाडि छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment