Comments Add Comment

कोरोनाको प्रभाव मुद्रामा पनि, कमजोर बन्दैछ नेपाली रुपैयाँ

२७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर प्रति डलर ११८ रुपैयाँ ८४ पैसा तोकेको छ । याे यस वर्षकै उच्च हाे ।

अघिल्लो सोमबार अमेरिकी डलरको बिक्रीदर प्रति डलर ११५ रुपैयाँ ८६ पैसा तोकिएको थियो । एक सातामै करिब ३ रुपैयाँले अमेरिकी डलरको भाउ बढेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेका बेला अमेरिकी डरल बलियो बन्दै गएको छ भने नेपाली रुपैयाँ झनझन कमजोर बन्दै गएको छ । २ वर्ष अघिको र अहिलेको तुलना गर्ने हो भने त झन नेपाली रुपैयाँ धेरै नै कमजोर भएको देख्न सकिन्छ ।

महिना दिनकै तुलना गर्ने हो भने पनि एक महिनामा अमेरिकी डलर करिब ४ रुपैयाँले बढेको छ । ९ फेब्रुअरीमा ११४ रुपैयाँ ५३ पैसा थियो । आजभन्दा ठ्याक्कै एक वर्ष अघि ९ मार्च २०१९ मा अमेरिकी डलरको भाउँ ११२ रुपैयाँ ५४ पैसा थियो भने २ वर्ष अघि अर्थात ९ मार्च २०१८ मा १०४ रुपैयाँ ५३ पैसा थियो ।

दुई वर्षको अवधिमा १४ रुपैयाँले अमेरिकी डलर बलियो बनेको छ । यद्यपि, यो इतिहासकै महंगो भने होइन । गत वर्ष अमेरिकी डलरको मूल्य ११९ रुपैयाँ नजिक पुगेको छ ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरु बताउँछन् । डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महंगो हुन जाने भएका कारण पनि अमेरिकी डलरको भाउ बढ्दा यसको असर नेपाली अर्थतन्त्रमा देखिन्छ ।

कोरोना भाइसरको असर !

कोरोना भाइरसको असर यतिबेला विश्व अर्थतन्त्रमा नै असर परेको छ । हालै एशियाली विकास बैंकले सार्वजनिक गरेको रिपोर्टले कोरोनाका कारण विश्व अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा ०.४ प्रतिशतसम्म असर पार्ने देखाएको छ । कोरोनाले ३ खर्ब ४७ अर्ब डलरसम्म विश्व अर्थतन्त्रमा असर पार्ने प्रतिवेदनमा उल्लेख छ ।

जीडीपीमा असर पर्ने त पक्का छँदैछ, के अहिले डलर महंगिँदै जानुका कारण पनि कोरोना नै हो त ? नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाखर भट्ट कच्चा पेट्रोलियम पदार्थको माग कम हुँदाको असर अमेरिकी डलरमा परेको बताउँछन् ।

पेट्रलियम पदार्थको पदार्थको माग कम भएसँगै अहिले मूल्य पनि घटेको छ । यसको कारण कोरोना नै भएको डा. भट्टले जानकारी दिए । कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएसँगै यस क्षेत्रका लगानीकर्ताहरुले डलरमा लगानी गर्न शुरु गरेको उनले बताए ।

लगानीकर्ताले डलरलाई विश्वास गरेका कारण बलियो भएको उनले बताए । ‘कोरोना भाइरसका कारण प्रोजेक्टहरु बन्द हुँदा पेट्रोलको माग घट्यो, माग घटेपछि मूल्य घट्ने भइहाल्यो’ उनले भने, ‘जसका कारण लगानीकर्ताहरुले प्रतिफल राम्रो आउने भन्दै डलरमा लगानी गरे, यसले डलर बलियो बन्दैछ ।’

लगानीकर्ताहरुले पेट्रोलियममा भन्दा धेरै डलरमै लगानी सुरक्षित हुने देखेको उनले बताए । पेट्रोलियमको तुलनामा अमेरिकी अर्थतन्त्रप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको कन्फिडेन्स बढेको उनको बुझाइ छ ।

अर्थविद् खनाल भन्छन्– कोरोनाले जापानी येन पनि बढायो

अर्थविद् रामेश्वर खनालले कोरोना भाइरसको त्रास पछि जापानी येन तथा सुनको मूल्य समेत बढेको बताए । उनले कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा लगानीकर्ताहरुले लगानीका लागि अन्य क्षेत्रहरु खोजेको बताए ।

मूल्य घटेका कारण पेट्रोलियम क्षेत्रका लगानीकर्ताको रोजाईमा जापानी येन तथा सुन परेको उनले बताए । ‘कच्चा तेल ब्रेन्ट–क्रुडको मूल्य यो वर्षको उच्च तह घटेर अहिले ३२ डलरमा झरेको छ, यो भन्दा तल झ‍र्‍यो भने केही लामो समयसम्म मूल्य पुरानो अवस्थामा फर्कन सक्दैन भन्ने मनोविज्ञानका कारण तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकले उत्पादन कटौती गर्ने निर्णय गर्न सक्रिय भयो’ उनले भने, ‘तर, ओपेकको सदस्य नरहेको रूसले उत्पादन कटौती गर्न चासो नदिएकाले कच्चा तेलको मूल्य अझ घट्न सक्ने भएकाले लगानीकर्ताहरुले अन्त लगानी गर्दैछन् ।’

उनले अमेरिकी डलर अहिले अन्तर्राष्ट्रिय बजारमा बलियो नबनेको बताए । भारतीय रुपैयाँसँग स्थिर विनिमय दर भएका कारण नेपाली रुपैयाँ कमजोर देखियो उनले बताए । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर अहिले धेरै बढे पनि अन्तर्राष्ट्रिय बजारमा धेरै नबढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment