Comments Add Comment

५० लाख लगानीमा विद्यालयमा पानी शुद्धिकरण मेसिन

२७ फागुन, गोरखा । पालुङटार नगरपालिका–४ लुइँटेलको अमरज्योती जनता माविमा करिब ५० लाख खर्चेर पानी शुद्धिकरण मेसिन जडान गरिएको छ । ६ वटा च्याम्बर मेसिन राखिएको विद्यालयका प्रधानाध्यपाक माधावराज देवकोटाले बताए ।

‘एउटा मेसिनले पानीमा रहेका आइरन, एल्मुनियम, म्याग्नेसियम जस्ता पदार्थ छान्छ, अनि पानीलाई नरम बनाउने काम गर्छ,’ उनले भने, ‘अर्काे मेसिनले शरीरलाई आवश्यक पर्ने लवणहरु थप्छ ।’ मेसिनबाट प्रशोधित हुँदै पानी शुद्धिकरण भएर ट्याङकीमा जम्मा हुने उनले जानकारी दिए ।

पानी संकलनका लागी एक हजार लिटर क्षमताको रिजर्भ ट्याङ्क रहेको उनको भनाइ छ । ‘अटो सिस्टममा जडान भएकाले मेसिनहरु आफैं चल्छन्, हामीले केही गर्नुपर्दैन, मेसिनहरु पनि आफैं सफा हुन्छन्,’ उनले भने । मेसिनले एक घण्टामा १५ सय लिटर पानी फिल्टर गर्ने उनले बताए ।

प्रअ देवकोटाकाअनुसार विद्यालयदेखि करिब १८ सय मिटर टाढा रहेको धारापानी मुहानबाट पानी ल्याइएको छ । मेसिन राख्न २ लाख ५० हजार रुपैयाँ खर्चेर सुरक्षित अस्थायी घर निर्माण गरिएको छ । घरबाहिर चार वटा धारा जडान गरिएको प्रअ देवकोटाले बताए । ‘धाराबाट आउने पानी विद्यार्थीले बोत्तलमा थापेर मात्र खान पाउँछन्, हात मुख धुन दिँदैनौं,’ उनले भने । हात मुख धुनका लागि छुट्टै धाराको व्यवस्था गरिएको उनको भनाइ छ । बिहान नौ बजेदेखि दिउँसो चार बजेसम्म धारामा पानी आउने व्यवस्था मिलाइएको उनले बताए ।

गोरखा फाउण्डेशन नेपालको समन्वयमा पानपा–४ बोरागाउँ घर भई हाल अमेरिका बस्दै आएका इश्वरचन्द्र देवकोटाले विद्यालयमा उक्त मेसिन जडान गरिदिएका हुन् ।

‘६ महिना भयो मेसिन जडान गरेको, तीन जना शिक्षकलाई वाटर पिउरोलोजिष्ट सम्बन्धी एक दिने तालिम पनि दिनुभयो,’ प्रअ देवकोटाले भने ।

मेसिन जडान भएसँगै शुद्ध पानी पिउन पाउँदा विद्यार्थीहरु हर्षित छन् । विद्यालयमा कुल ६ सय ३० जना विद्यार्थी छन् । दृष्टिविहीन विद्यार्थीहरु पनि आवासीय सुविधासहित उक्त विद्यालयमा अध्ययरत रहेको प्रअ देवकोटाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment