Comments Add Comment

अब सात रुपैयाँमै सर्जिकल मास्क !

दैनिक १५ हजार वटाको उत्पादन सुरु

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२७ फागुन, काठमाडौं । उद्योगी व्यवसायीले मास्क र स्यानिटाइजर अभाव एक हप्ताभित्रै हल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिसंग मंगलबार भएको छलफलमा तत्कालका लागि उद्योगीले नै मूल्य अभिवृद्धि कर (भ्याट) ब्यहोर्ने गरी बजारमा सात रुपैयाँमै मास्क उपलब्ध गराउन सकिने जानकारी गराइएको नेपाल चेम्बर अफकमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

‘तत्कालका लागि व्यवसायीले भ्याट तिर्ने गरी सात रुपैयाँमा जनताले मास्क पाउने गरी पठाउने जानकारी गराएका छौं’ उनले थपे ‘हुन त कसैले पाँच रुपैयाँमै बेच्छौं पनि भनेका छन् तर हामी देशका सबै क्षेत्रमा पुग्ने गरी मास्कको वितरण थाल्दै छौं ।’

छलफलमा चेम्बरको पहलमा दैनिक १५ हजार वटा मास्क उत्पादन सुरु भइसकेको र यसै साताभित्र बजारमा पठाउने जानकारी बैठकमा गराइएको अध्यक्ष श्रेष्ठले बताए ।

दैनिक १५ हजारका दरले उत्पादन भइरहेको मास्क सबै होलसेल पसल र जिल्ला जिल्लाका चेम्बर कार्यालयमा पुर्‍याएर वितरण गर्ने तयारी भइरहेको पनि श्रेष्ठले बताए ।

नेपालका लागि प्रशस्त मात्रामा पुग्ने गरी स्यानिटाइजर भित्रिने क्रममा रहेको जानकारी बैठकमा औषधी व्यवसायीले गराएको पनि उनले जानकारी दिए । ‘होलीका कारण तराइमा रोकिएको भन्ने उहाँहरुको कुरा छ,’ उनले भने ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण आपूर्ति व्यवस्थामा रहेको समस्या र समाधानबारे सरकारले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघसंग मंगलबार छलफल गरेको हो ।

यो पनि पढ्नुहोस सरकार र निजी क्षेत्रको निष्कर्ष : ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment