Comments Add Comment

प्रधानमन्त्रीलाई अझै केही दिन अस्पताल राखिने

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अझै केही दिन अस्पतालमा राखिने भएको छ ।

प्रधानमन्त्री ओलीको शरीरमा गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसका लागि उनी गत सोमबार नै त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

उनलाई अझै केही दिन अस्पतालमा राखिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ‘प्रधानमन्त्रीज्यू त तुरुन्तै जान चाहनुहुन्छ । तर परिवारले तयारीका लागि केही दिन समय माग्नु भएको छ’ डा. दिव्या सिंह शाहले भनेकी छन्, ‘जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं ।’

यद्यपि प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भएकाले चाँडै डिस्चार्ज हुने सम्भावना रहेको उनले बताइन् ।

डिस्चार्ज भएपछि प्रधानमन्त्री ओली विस्तारै काममा फर्किन सक्नेछन् । तर सामान्य मानिस जसरी पूर्ण रुपमा सक्रिय हुन ६ महिनादेखि एक वर्षसम्म लाग्नेछ ।

अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्‍सकसमेत रहेकी डा. दिव्याले भनिन्, ‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, रुघाखोकी वा अरु संक्रमण भएकाहरुसँग टाढा बस्नुपर्छ । र साधारण मान्छे जसरी सक्रिय हुन ६ महिना वा एक वर्षसम्म लाग्न सक्छ ।’

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका डा. प्रेमराज ज्ञवालीले प्रत्यारोपणमा सात जना सर्जन संलग्न भएको जानकारी दिए । उनले भने, ‘टिम नभएसम्म सम्भव थिएन, त्यो टिम शिक्षण अस्पतालमा छ ।’

डा. सिंहका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण पूर्व सबै कानूनी प्रक्रियासमेत पूरा गरिएको छ ।

अरु अस्पतालमा जस्तै शिक्षणमा पनि वकिल, सीडीओ कार्यालयका प्रतिनिधि रहेको समिति रहेको र त्यसले नाता प्रमाणितको कागजात हेरेको भन्दै उनले भनिन्, ‘अरुको जसरी प्रोसेस गरिन्छ, प्रधानमन्त्रीज्यूको पनि त्यसरी नै गरिएको छ ।’

यो पनि पढ्नुहोस प्रधानमन्त्री पुरै सक्रिय हुन ६ महिनासम्म लाग्छ : चिकित्सक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment