Comments Add Comment

जापान र सिंगापुरबाट फर्केर चितवनमा ड्रागन फल खेती

२६, फागुन, चितवन । भरतपुर महानगरपालिका- २६ दिब्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उनका भाइ ताइबहादुर गुरूङले एक विघा जमिनमा ड्रागन फ्रुट खेती थालेका छन् । विदेशको जागिरबाट अवकासपछि व्यवसायिक कृषिमा सकृय भएका उनीहरु नेपालमा नयाँ भएकोले ड्रागन खेती थालेको बताउँछन् ।

पदमबहादुर लामो समय जापानमा काम गरेर फर्किएका हुन् भने ताइबहादुर सिंगापुर गोर्खा कन्टिन्जेन्टबाट सेवा निवृत्त भएका हुन् । बाँकी जीवन स्वदेश मै सकृय भएर बिताउन पुर्खाको कृषी कर्ममा फर्केको उनी ताइबहादुरले बताए ।

ड्रागन खेतीका लागि उनीहरुले दुई मिटर फरकमा ७०० वटा सिमेन्टका पोल गाडेर हरेक पोलमा चारवटा विरुवा रोपेका छन् । हालसम्म ३५ लाख लगानी गरेका उनीहरु यो खेतीलाई क्रमिक रुपमा दुई विघा पुर्‍याउने हिसाबले काम गरिरहेका छन् ।

एकपटक लगाएपछि निकैवर्ष फल दिने, रोग-किरा कम लाग्ने र नयाँ पनि भएकोले ड्रागन फ्रुट लगाएको पदमबहादुरले बताए । ‘यसको खेती अरु बालीको भन्दा सजिलो छ’, उनले भने, ‘बजारको पनि अभाव देखिएन ।’

गुरूङ दाजुभाइ प्राङगारिक मल-विषादी मात्र प्रयोग गरेर ड्रागन फलाउने सुरमा छन् । गर्मीमा सप्रने यो फलको लागि चितवन निकै उपयुक्त ठाउँ प्रमाणित हुने उनीहरुको ठम्याइ छ । चितवनका अन्य ठाउँमा पनि ड्रागन फ्रुट लगाइएको छ, तर एकै पटक यति धेरै विरुवा लगाउने चाही गुरुङ दानुभाइ नै हुन् ।

डिप बोरिङ गरेर थोपा सिँचाइ प्रणाली अपनाइएको खेतीमा विरुवालाई पानीसँगै मल दिने गरिएको छ । सिउँडी प्रजातिको भएकाले ड्रागन फ्रुटलाई बिषेशतः चर्को घाम लाग्ने चैत, बैशाख र जेठमा मात्र पानी दिए पुग्ने पदमबहादुरले बताए ।

उनका अनुसार, पानी लाग्ने तर नजम्ने तराई र भित्री मधेसमा ड्रागन फ्रुटको राम्रो व्यावसायीक सम्भावना छ । पूर्वमन्त्री लोकेन्द्र बिस्ट मगरले दाङमा लगाएको ड्रागन फ्रुट खेती हेरेर, सल्लाह पनि लिएर चितवनमा यो खेती थालेको उनले बताए ।

सुरुमा विरुवा पाउन भने समस्या परेको पदमबहादुरले बताए । त्यसका लागि काठमाडौं, काभ्रे र भारतसम्म पुनेर महंगो -प्रति बोट पाँचसय रुपैयाँसम्म) दाम हाल्नु परेको उनी बताउँछन् । ‘अहिले त हामीले नै नर्सरी तयार गरेका छौं’, उनले भने ‘नवलपरासीका एक जनाले तीन हजार विरुवाको अर्डर गरेका छन् ।’

उनका अनुसार, ड्रागन फ्रुटको बिरुवा लगाएको दुई वर्षमा फल्न थाल्छ । जेठदेखि कात्तिकसम्म ५-६ पटक फल दिन्छ । फल २५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । यो फल टिपेको १५ दिनसम्म नबिग्रने र किलोको एक हजार रुपैयाँसम्म बिक्री हुने पदमबहादुरले बताए ।

उनका अनुसार, रसिलो, गुलियो र स्वादिलो फल ड्रागन फ्रुटमा  १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यसबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रि‌ंक, वाइन र ब्रान्डी पनि बनाउन सकिन्छ । यसको फूलको तरकारी स्वादीलो हुन्छ । पदमबहादुर भन्छन्, ‘उच्च एन्टीअक्सोडेन्टयुक्त हुने भएकोले यो फलको बजार ठूलो छ ।’

तीन खालका ड्रागन फ्रुट

ड्रागन  फ्रुट तीन किसिमको हुन्छ- खाने भाग सेतो, रातो र बाहिरी भाग पहेँलो हुन्छ । बाहिर बोक्रा रातो र भित्र खाने भाग सेतो हुने ड्रागन फलमा बाहिर रातो र भित्र खाने भाग पनि रातो हुने प्रजातीको तुलनामा गुलियोपन कम हुन्छ ।

भित्र-बाहिर रातो हुने ड्रागन फलमा गुलियोपन बढी भए पनि फल कम लाग्ने पदमबहादुर गुरुङ बताउँछन् । अहिले नेपालमा बाहिर रातो भित्र सेतो हुने ड्रागन फल बढी लगाइएको उनले बताए । उनका अनुसार, बोक्रा हल्का पहेँलो र खाने भाग सेतो हुने प्रजाती पनि हुन्छ, तर त्यसको पनि फल कम लाग्छ ।

नेपालमा जुनसुकै प्रजातीको ड्रागन फल खेती गरे पनि अहिले सुरु चरण भएकोले प्राविधिक परामर्श र सरसहयोग पाउन गाह्रो हुने गुरुङ दाजुभाइको अनुभव छ ।

नेपालमा कागजमा खेती गर्नेहरुको बिगबिगी भएकोले पनि वास्तविक किसानले सरकारी अनुदान लगायत सहयोगको कमै आशा गर्न सकिने उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment