Comments Add Comment

पुरोहित बनेर चोरी गर्ने ६ जना पक्राउ

२८, फागुन, चितवन । घरमा स्वस्ति शान्तिको पूजा गर्ने बाहना धनमान चोरी गरेको आरोपमा भारतीय पुरोहितसहित ६ जना पक्राउ परेका छन् ।

प्रहरीले सुन र चाँदीका गरगहना र नगदसमेत गरेर १४ लाख ८७ हजार रुपैयाँ चोरी गर्ने भारत मोतीहारीका १८ वर्षीय नेहाल तिवारीसहित ६ जनालाई पक्राउ गरी सावजनिक गरेको हो ।

पक्राउ परेका ६ मध्ये पाँचजना भारतीय नागरिकहरु हुन् । पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय सोनुकुमार पाण्डे, १९ वर्षीय राजनकुमार उपाध्याय, १९ वर्षीय रितिक रोशन र पर्सा वीरगञ्ज महानगरपालिका-१६ घर भइ भरतपुर-६ मा सुनचाँदी पसल सञ्चालक २५ वर्षीय राजकुमार गुप्ता छन् । गुप्ताले चोरीको गहना किनेका थिए ।

उनीहरुले मञ्जुको घरबाट चोरी गरेको सुनको औंठी एक थान, नथिया एक थान, बिन्दिया एक थान, जिउटिया तीन थान, मंगलसुत्र एक थान, सानो नथुनी ८ थान, फुली एउटा गरी २२.४५० ग्राम सुनको गरगहना, ४८७ ग्रामको चाँदीको पाउजु ४ जोर बरामद गरेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका-२ बेलटाँडीकी खाँडको घरबाट फागुन २३ गते उनीहरुले धनमाल चोरी गरेको अभियोग प्रहरीको छ ।

प्रहरीका अनुसार नेहाल तिवारीले आफूले पुरेत्याइँ गर्ने भन्दै मञ्जुलाई विश्वास दिलाएर फागुन २० गते घरमा पूजा लगाएका थिए । त्यही पूजा लगाउने दिन तिवारीले सुनचाँदीका गरगहना रहने स्थानको बारेमा जानकारी लिएको र पछि अन्य सहयोगी लगाएर धनमाल चोरी गरेको प्रहरीको भनाइ छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार फागुन २३ गते साँझ घरका सबै खाना खान भान्सा कोठामा गएको मौका पारेर नगद तथा धनमाल चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।

चोरीमा संलग्न मुख्य व्यक्ति भारतकै २० वर्षीय बिक्कीकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । मासिक तलब दिएर चोरी गर्न अन्य मानिसलाई उनले प्रयोग गरिरहेको खुलेको छ । सबैले चोरेको धनमाल बिक्कीलाई नै बुझाउने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरु सबैलाई डाँका चोरी मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको चितवन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment