Comments Add Comment

लिभरपुललाई हराउँदै एट्लेटिको क्वाटरफाइनलमा

काठमाडौं । मार्कोस लरेन्टेले अतिरिक्त समयमा २ गोल गरेपछि एट्लेटिको मड्रिडले साविक विजेता लिभरपुललाई पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

प्री–क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा १–० को जित हात पारेको एट्लेटिकोले दोस्रो लेगमा लिभरपुललाई उसैको मैदानमा ३–२ ले पराजित गर्दै समग्रमा ४–२ को जित हासिल गर्‍यो ।

लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा लरेन्टेले अतिरिक्त समयमा दुई गोल गरे भने अल्भारो मोराटाले एक गोल थपे । लिभरपुलका लागि निर्धारित समयमा जर्जिनाओ विजनालडम र अतिरिक्त समयमा रोवर्टो फिर्मिनोले गोल गरेका थिए ।

साविक विजेता लिभरपुललाई क्वाटरफाइनलमा पुग्न घरेलु मैदानमा जितको विकल्प थिएन।

६४औं मिनेटमा जर्जिनाओ विजनाल्डमले गोल गर्दै शुरुवाती अग्रता दिलाए । निर्धारित ९० मिनेटसम्म उक्त अग्रता कायम राख्दा समग्रमा खेल १–१ को बराबरी भयो।

त्यसपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । जसमा अग्रता पनि लिभरपुलले नै लियो तर जोगाउन सकेन । एट्लेटिकोले लगातार ३ गोल गर्दै शानदार जित हासिल गर्‍यो ।

९४औ मिनेटमा फिर्मिनोले गोल गरेपछि लिभरपुलले खेलमा अग्रता दोब्बर पार्दै समग्रमा २–१को अग्रता लियो । तर त्यसको तीन मिनेट पछि नै लरेन्टेले गोल गर्खै खेल २–२ को बराबरीमा पुर्‍याए । लरेन्टेले नै १०५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिकोले ३–२ को अग्रता बनायो । यस्तै १२० औं मिनेटमा मोराटोले गोल थपेपछि एट्लेटिको शानदार जित हात पार्दे क्वाटरफाइनल पुगेको हो ।

लिभरपुल २००६ पछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो । त्यतिखेर लिभरपुल दुवै लेगमा वेनफिकासँग पराजित भएको थियो । र, दुवै लेगमा पराजित भएको पनि त्यसयता पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment