Comments Add Comment

कुनै क्षेत्रमा संक्रमण देखिए ‘लक डाउन’ गर्छौं : स्वास्थ्य मन्त्रालय

२८ फागुन, काठमाडौं । सरकारले देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गर्ने योजना बनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यकबाहेक अरु बन्द गर्ने तथा पकेट एरिया लक डाउन गर्ने योजना सरकारले बनाएको बताए । उनले भने, ‘अत्यावश्यक बाहेक अन्य बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउन गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।’

आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्नसमेत सहकार्य गरिने उनले बताए ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ । कोरोनाको संक्रमण देखिएपछि भारतले भोलिदेखि पर्यटक आवागमन रोकेको छ भने संक्रमण फैलिएका देशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने भएको छ । अमेरिकाले पनि बेलायतबाहेक सबै युरोेपेली देशबाट अमेरिका यात्रा गर्न एक महिनासम्म रोक लगाउने निर्णय गरेको छ ।

नेपालले भने संक्रमण फैलिएको देशबाट आउनेलाई कोरोना संक्रमण नभएको भनेर दिइएको सात दिन ननाघेको प्रमाणपत्र ल्याउनुपर्ने निर्णय गरेको छ । तर कोरोना संक्रमण रोकथाम र भविष्यमा देखिएको अवस्थामा उपचार गर्न सरकारको पूर्वतयारी नपुगेको भनेर सरकारको आलोचना भइरहेको छ ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले भने कोरोना संक्रमण विकसित भएअनुसार व्यवस्थापन गर्ने गरी तयारी गरेको बताए ।

उनका अनुसार ४३ वटा सीमा नाकामा सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेका छन् ।

अहिलेसम्म साढे ४ सयको परीक्षण गर्दा एकजनामा बाहेक अरुमा संक्रमण देखिएको छैन । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोथग अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment