Comments Add Comment

मुख्यमन्त्रीको जवाफ माग्दै कांग्रेसद्वारा गण्डकी प्रदेशसभा अवरुद्ध

३० फागुन, पोखरा । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसदबीच विभेद गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तेस्रो दिन पनि गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेसले मुख्यमन्त्रीले संसदमा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीले समानुपातिक र प्रत्यक्ष सांसदबीच फाटो ल्याउने काम गरेको आरोप लगाए । ‘किन यस्तो भइरहेको छ, मुख्यमन्त्रीले जवाफ दिनुपर्छ । नत्र संसद चल्न दिँदैनौं’ उनले भने ।

तनहुँ क्षेत्र नम्बर १ को क, पर्वत क्षेत्र नम्बर १ को क, बागलुङ क्षेत्र नम्बर १ को क र नवलपरासी सुस्ता पूर्व क्षेत्र नम्बर १ को ख मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बाँडफाँट तथा योजना कार्यान्वयनमा सांसदबीच नै सहमति हुन नसक्दा विवाद चुलिएको थियो ।

मुख्यमन्त्री गुरुङले सहमति गरेर आउन, समानुपातिक सांसदले भन्दा प्रत्यक्ष सांसदले बढी बजेट पाउने र प्राथमिकतामा पर्ने बताएको भन्दै कांग्रेसले विरोध जनाएको हो ।

उनले सहमति नजुटे प्रदेशकै कार्यालयबाटै योजना छनोट गरेर कार्यान्वयन गर्न निर्देशन दिएका थिए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यविधिमा सबै सांसदलाई एउटै नजरले हेरिएको भए पनि मुख्यमन्त्री गुरुङले विभेद सिर्जना गरेको कांग्रेसको आरोप छ ।

गण्डकी प्रदेशसभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि डाकिएको थियो । कांग्रेस सांसदले अवरोध कायम राखेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन् । कांग्रेसले बुधबार र बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो ।

कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले माग सम्बोधन नहुँदासम्म संसद अवरोध जारी राख्ने बताए ।

कांग्रेसले प्रदेशसभा सचिवालय सम्बन्धी विधेयकमा पनि असहमति जनाएको छ । उक्त विधेयकमा रहेको सचिव नियुक्तिसम्बन्धी प्रावधानमा कांग्रेसले असहमति जनाएको हो । उसले सचिवालय ब्यवस्थापनमा अरु दललाई पनि भागबण्डा मिलाउनुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment