Comments Add Comment

संघीयता समाप्त पार्न कर्मचारीलाई तालिम दिएर पठाइयो : मुख्यमन्त्री राउत

३० फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । संघीयतालाई समाप्त पार्न संघीय सरकारले कर्मचारीलाई तालिमै दिएर पठाइने गरेको उनको आरोप छ ।

गत आर्थिक वर्षका योजनाहरुको भुक्तानी नभएका कारण प्रदेश २ सरकार समस्यामा छ । सत्तारुढ दलकै सांसदहरुले समेत अवरोध गरेपछि प्रदेशसभा लामो समयदेखि बन्द रह्यो ।

शुक्रबार यही भुक्तानी विवादबारे प्रदेशसभालाई जवाफ दिँदै मुख्यमन्त्री राउतले प्रदेशका आयोजनाहरुको भुक्तानी विवादलाई अवसरको रुपमा प्रयोग गरेर संघीयताविरुद्ध षड्यन्त्र शुरु भएको बताए ।

प्रदेशसभा र मन्त्रिपरिषद्ले एकमत भएर भुक्तानी दिने निर्णय गर्दा पनि कर्मचारीले कार्यान्वयन नगरेको मुख्यमन्त्री राउतको दाबी छ । ‘सार्वभौम अधिकार सम्पन्न प्रदेशसभा र प्रदेशको कार्यकारी अधिकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने त कर्मचारीले हो । मुख्यमन्त्री र मन्त्रीले निर्देशन मात्रै दिन सक्छन्’ उनले भने, ‘यहाँ कस्तो तालिम दिएर पठाइन्छ ? प्रदेश २ मा आउने, तर काम नगर्ने ।’

उनले अघि भने, ‘केपी ओली नेतृत्वको सरकार वा संघीय संसदको निर्णय कुनै कर्मचारी या निकायले मान्दिन भन्नसक्छ ? तर यहाँ आएपछि यस्तो मानसिकता किन ?’

आफ्नै कार्यालयमा एक जना सचिव नभएको तर रातारात भर्ना गर्न पनि नसक्ने अवस्था रहेको मुख्यमन्त्री राउतले बताए ।

तीन पटक संघीय मामिला मन्त्रालय गएर कर्मचारी अभावबारे जानकारी गराइसकिएको भन्दै उनले भने, ‘कर्मचारी छैन, सचिव छैन भनेर कसलाई सुनाउन जाऊँ ?’

गीता र कुरान हातमा राखेर भन्छु

मुख्यमन्त्री राउतले आफ्नो र प्रदेश सरकारको कारण भुक्तानी नरोकिएको दाबी गरे । केन्द्रीकृत मानसिकता बोकेकाहरु भुक्तानी विवाद सिर्जना गरेको भन्दै उनले भने, ‘गीता र कुरान हातमा राखेर भन्छु, मेरो प्रयास इमान्दार छ र रहिरहनेछ ।’

संघीयतालाई असफल बनाउने खेल सफल हुन नदिने भन्दै उनले त्यसका लागि सडकमा धर्ना बस्ने चेतावनी दिए । ‘संघीयतालाई बर्बाद गर्न खोजिएको विरुद्व धर्ना बस्न तयार छु । तपाईंहरु पनि सहयोग गर्नुस्’ उनले भने ।

उनले भुक्तानीबारे रोडम्याप बनाउन र यसमा उपभोक्ता समितिलाई पनि राख्न सबै दललाई आग्रह गरे । सबै मिलेर भुक्तानी बिषयमा गम्भीर बन्न र गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रदेश सभालाई तयार रहनुपर्ने उनले बताए ।

फायल अख्तियारले लैजानु पनि षड्यन्त्र

संघीयतालाई समप्त पार्न संघीय सरकारले विभिन्न हथ्कण्डा अपनाउन थालेको उनको आरोप छ ।

यसका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि प्रयोग गर्न खोजेको उनको आशय छ । भ्रष्टाचार भएको पाएपछि छानबिन गर्नुपर्ने व्यवस्था संविधानले गरेको छ । तर भुक्तानी नै नभएका फाइल पनि अख्तियारले लगेको छ । भुक्तानी नै नभएका फाइल किन लगियो ? उनले भने ।

प्रदेश २ लाई बिना कारण अनियमिततामा बढी देखाउन खोजिएको समेत मुख्यमन्त्री राउतको दाबी छ । ‘एकातिर ६ देखि ७ प्रतिशत बजेट खर्च भइरहेको देखाइँदैछ भने अर्काेतिर ठूलो भ्रष्टाचार भइरहेको भनिएको छ’ उनले भने, ‘यो बदनाम गराउने र संघीयतालाई समाप्त पार्ने खेल मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment