Comments Add Comment

कोरोना पूर्वतयारीमा ३ मुख्य आशंका र विज्ञको जवाफ

नेपालको ल्याबमा गडबडी छ ? विज्ञ भन्छन्– शंका नगरौं

३ चैत, काठमाडौं । विश्वव्यापी रूपमा कोरोना संक्रमणको त्रास बढ्दै गएपछि नेपाल सरकारले पूर्वतयारी तीव्र बनाएको छ । कोरोना संक्रमण नफैलियोस् भनेर सरकारले प्लान ए, प्लान बी र प्लान सी अनुरूप काम गरिरहेको बताए पनि नागरिकहरु अझै ढुक्क हुन सकेका छैनन् । यसको प्रमुख कारण युरोपियन देशहरुमा बढ्दै गएको कोरोनाको प्रकोप रहेको जनस्वास्थ्य विज्ञहरुको तर्क छ ।

यतिबेला सरकारको तयारीलाई लिएर विशेषगरी ३ वटा प्रश्नहरु उठेका छन् ।

१. स्वास्थ्यकर्मी तथा संक्रमितलाई पर्याप्त व्यक्तिगत सुरक्षा उपकरण छ ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेसँगै १५ सय पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) अर्थात् व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न सुझाव दिएको थियो ।

तर, डब्लुएचओले सुझाव दिएको १ महिना बित्दा पनि स्वास्थ्य मन्त्रालयले पर्याप्त पीपीई खरिद गरेको छैन । आइतबार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले पीपीई तथा अतिआवश्यक १७ थरि इक्युपमेण्टको लागि आइतबार बल्ल टेण्डर आह्वान गरेको छ ।

स्वास्थ्य सेवा विभागको व्यावस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन प्रमुख चुडामणि भण्डारी शुक्रबारसम्म टेण्डरको आवेदन आइसक्ने बताउँछन् । उनका अनुसार अबको १५ दिनमा सम्पूर्ण १७ थरि पीपीई उपलब्ध भइसक्ने छ ।

मास्क, डिसइन्फेक्सन स्प्रे, हेलमेट, चस्मा, गाउन लगायत १७ थरि पीपीई आवश्यकताअनुसार २ हजार देखि १ लाख ५० हजार पिससम्म मगाएको बताउँदै भण्डारी भन्छन्, ‘अहिलेको अवस्थामा १ हजार पीपीई हामीसँगै स्टकमा छ ।’

पीपीई नेपालमै उत्पादन हुने ‘इक्युपमेण्ट’ होइन । १२० भन्दा बढी देशमा कोरोना संक्रमण फैलिएकाले अन्य देशबाट सजिलै पीपीई ल्याउन सक्ने अवस्था पनि छैन । यस्तो बेला टेण्डर आव्हान गर्दा पीपीई पाइएला त ?

आपूर्ती व्यावस्थापन प्रमुख भण्डारी भन्छन्, ‘पहिलाको भन्दा रेट महँगो पर्ला, व्यापारीहरुले मौकाको फाइदा उठाउन खोज्लान् तर राज्यले माग गरेपछि नपाइने भन्ने हुँदैन । ढुक्क हुनुस्, अबको १५ दिनमा पर्याप्त पीपीई हामीसँग हुन्छ ।’

२. संक्रमण फैलियो भने आइसोलेसन बेड पर्याप्त छ ?


जसरी पीपीई नभएको अवस्थामा संक्रमण फैलियो भने भयावह अवस्था आउँछ त्यसरी नै आइसोलेसन बेड पर्याप्त नहुनु पनि घातक मानिन्छ । त्यसैले कतिपय देशहरुले संक्रमण फैलिनुअघि नै होम क्वारेण्टाइनमा बस्न जनताहरुलाई निर्देशन दिइसकेका छन् । नेपालले पनि चैत १ देखि संक्रमण फैलिएको देशबाट आउनेहरुलाई होम क्वारेइण्टाइनमा बस्न निर्देशन दिएको छ । क्वारेण्टाइन व्यवस्थित भयो भने ठुलो संख्यामा आइसोलेसनमा जानु पर्ने अवस्था नआउने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

के छ बेडको अवस्था ?

सरकारले काठमाडौं उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू बेड तयार गर्ने निर्णय गरेको छ । हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १५५ वटा आइसोलेटेड बेड तयार गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका अनुसार नेपालमा कोरोनाको संक्रमण देखिहाल्यो भने उपत्यकाका तीन वटा अस्पतालमा मात्र उपचार गरिनेछ । टेकुस्थित शुक्रराज ट्रपिकल, पाटन अस्पताल र कीर्तिपुरको आयुर्वेद केन्द्रमा मात्र उपचार गर्ने व्यवस्था मिलाइनेछ । त्यसैगरी वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी छ ।

३. नेपालको ल्याबमा गडबडी त छैन ?

विश्वभरका १ सय २० भन्दा बढी देशमा फैलिँदा १ लाख ५५ हजारभन्दा बढी मानिसमा संक्रमण र ५ हजार ९ सय २५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरि छिमेकी देश भारतमा पनि कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।

यी र यस्ता तथ्यांक नियालिरहेका कतिपयले जनस्वास्थ्य विज्ञहरुलाई, ‘युरोपका समृद्ध देशहरुमा कोरोना देखिँदा नेपाल जस्तो स्वास्थ्य सेवा कमजोर भएको देशमा नदेखिनुले कतै नमूना परीक्षण गर्ने नेपालको ल्याबमै गडबडी त छैन ?’ भनेर सोधिरहेका छन् ।

डा. रुना झा, निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु

तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको निर्देशक डाक्टर रुना झा प्रयोगशालामा कुनै गडबडी नभएको बताउँछिन् । उनका अनुसार, डब्लुएचओको टोलीले पनि ल्याबमा समन्वय गरिरहेको छ । टेकु ल्याबमा जाँच गरिएका केही नमूना हङकङको ल्याबमा पठाउँदा पनि एउटै रिपोर्ट आएको छ । नेपालको ल्याबमा कुनै खराबी नभएको निर्देशक झाको दाबी छ ।

ल्याबको विश्वसनीयतासँगै क्षमताको प्रश्न उठाउँदै धेरैले सोधेका छन्, ‘एउटा मात्रै ल्याबले कति जनाको नमूना परीक्षण गर्न सक्छ, नमूना परीक्षण गर्ने किट पर्याप्त छ त ?’

राष्ट्रिय जनस्वासथ्य टेकुका निर्देशक झाका अनुसार अहिलेको अवस्थामा दैनिक २ सय नमूना परीक्षण गर्न सकिन्छ । त्यसैगरी १५ सय किट स्टकमा छ । आवश्यक पर्नासाथ तुरुन्त किट मगाउन सकिन्छ । २० जना मात्रै कर्मचारी थप्ने हो भने प्रयोशालामा भएका तीनवटा उपकरण चलाएर तीन सिफ्टमा काम गर्दा दैनिक १५ सय नमूना परीक्षण गर्न सकिन्छ । उनी भन्छिन्, ‘हामीले गर्नुपर्ने पूर्वतयारी गरिरहेका छौँ, महामारी नै फैलियो भने पनि अरु निजी ल्याब छन्, हामी पनि क्षमता बढाउन सक्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment