Comments Add Comment

तीन दिनभित्र रक्सीभट्टी नष्ट नगरे प्रहरी इन्जार्चलाई कारवाही

सांसदद्वारा प्रदेशलाई रक्सीमुक्त प्रदेश बनाउन माग

४ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले आ–आफ्नो क्षेत्रका घरेलु रक्सीका भट्टी नष्ट गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

तीन दिनभित्र भट्टी नष्ट नगरिए सम्बन्धित क्षेत्रका इन्जार्चलाई कारवाही गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।

‘आजै सुरक्षा निकायसँग हाम्रो बैठक बसेको छ’ मन्त्री यादवले सोमबार प्रदेशसभा बैठकमा भने, ‘बैठकले प्रत्येक इलाका प्रहरी कार्यालयलाई आफ्नो क्षेत्रभित्रका घरेलु मदिरा भट्टीलाई नष्ट गर्न निर्देशन दिइएको छ । तीन दिनभित्र नष्ट नगर्ने प्रहरी कार्यालयका इन्चार्जलाई कारवाही गरिनेछ ।’

मन्त्री यादवले घरेलु मदिरा उद्योग सञ्चालनमा सहयोग गर्ने प्रहरीलाई पनि कारवाही गर्ने विषयमा पनि बैठकमा छलफल भएको जानकारी गराए ।

घरेलु रक्सी समाजको कुरीति हो भन्दै उनले कुरीति हटाउन बल प्रयोग गरेर भए पनि सरकार अघि बढ्ने बताए ।

खुला रक्सीका कारण धनुषामा २० जना भन्दा धेरैको मृत्यु भइसकेको छ । ज्यान जानेका परिवारलाई प्रदेश सरकारले जनही ३ लाखका दरले सहयोग उपलब्ध गराउने बताउँदै मन्त्री यादवले सिकिस्त बिरामीको उपचार पनि प्रदेश सरकारले गराउने बताए ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीका सांसद शत्रुधन महतोले खुला रक्सी बन्द गराउन प्रदेश सभामा सोमबार सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएपछि सांसदहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेशभरि नै युवा दुर्व्यसनमुक्त अभियान संचालन गर्न लागेको बताए ।

उनले यसका निम्ति निर्देशिका तयार भइसकेको र एक हप्ताभित्रै काम शुरु गर्ने जानकारी गराए । मन्त्री यादवले प्रत्येक जिल्लामा लागूऔषधविरुद्वको काउन्सिलिङ सेन्टरको पनि स्थापना गर्न लागिएको बताउदै चालू आर्थिक बर्षमै यो पनि स्थापना हुने बताए ।

रक्सीमुक्त प्रदेश बनाउन माग

नेकपा सांसद महतोले समाजवादीका शैलेन्द्र यादव, राजपाका परमेश्वर साह र कांग्रेसका शिवचन्द्र चौधरीको समर्थनमा खुल्ला रक्सी नियन्त्रण गर्नेबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएपछि यस बिषयमा सोमबारको बैठकमा छलफल भएको छ ।

छलफलमा बोल्ने सांसदले प्रदेशलाई रक्सीमुक्त बनाउनुपर्नेमा जोड दिए ।

नेकपा सांसद दिलिप साहले आफूले यसअघि पनि प्रदेशमा रक्सी बन्द गराउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराए पनि सरकारले ध्यान नदिएको बताए । उनले आगामी पुस्तालाई राम्रो बनाउनका लागि भएपनि प्रदेशलाई रक्सीमुक्त बनाउनुपर्नेमा जोड दिए ।

समाजवादी पार्टीकी सांसद करिमा बेगमले सूर्य अस्त, नेपाल मस्त भइरहेको अवस्थामा समाज नै बिग्रिरहेकाले प्रदेशलाई चाँडो रक्सीमुक्त बनाउनुपर्ने बताइन् ।

कांग्रेसका सांसद ओमप्रकाश शर्माले गाउँमा मात्र नभई शहरका रेष्टुरेन्टमा पनि रक्सीको बिक्री बन्द गर्नुपर्ने बताए ।

राजपा सांसद विन्देश्वर यादव ‘विक्की’ ले मदिराबाट आउने राजस्वभन्दा बढी खर्च त्यसको प्रयोग गरेपछि भइरहेकाले अबिलम्ब मदिरा बन्द गर्नुपर्ने बताए ।

कांग्रेस सांसद गीताकुमारी यादवले नेताहरुकै कारण रक्सी बन्द हुन नसकिरहेको बताइन् । चुनाव आउँदा आफ्ना कार्यकर्तालाई रक्सीमै डुबाउने नेताहरु यो काम बन्द नगरेसम्म रक्सी नियन्त्रण हुन नसक्ने बताइन् ।

राजपा सांसद उपेन्द्र महतोले कुनै प्रहरी कार्यालयको क्षेत्रभित्र खुला रक्सी उत्पादन भएको पाइए त्यो कार्यालयका इन्चार्जलाई कारवाही गर्नुपर्ने बताए ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र नेकपाकी सांसद बेचु लुंगेलीले किराना, कपडादेखि हरेक पसलमा रक्सी पाउन थालिएकाले रक्सीमुक्त नै बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment