Comments Add Comment

बिरानो बन्दै थकान भुलाउने भञ्ज्याङहरु

‘भञ्ज्याङ कुर्नु गाह्रै भो ए साईला …

बैशालु यो थुंगे फुल, त्यसै ओइली जाला’

जमुना लिम्बुले भञ्ज्याङको बारेमा गाएको यो गीतमा भनेजस्तै बैशालु थुंगे फुल जस्तै ओइलाउँदैछ भञ्ज्याङको क्रेज । गीतमा भनेको जस्तै भञ्ज्याङलाई समेत कुर्न गाह्रै हुँदैछ हिजो आज । भञ्ज्याङहरुको स्वतन्त्र अस्तित्व बिस्तारै मेटिँदैछन् यातायातको बिस्तारसागै । भञ्ज्याङका चौतारीहरु सडक बिस्तारसँगै भत्किन थालेका छन् । बिस्तारै बिस्तारै यसको अस्तित्व नै मेटिँदै गएको छ ।

पहाडको यात्रा गर्दा क्षितिजलाई देखेर धेरै झुक्किने गर्छन् । पहाडको त्यही शिरभाग नै सबैभन्दा उच्च स्थान विन्दु हो भन्ने भ्रम जोकोहीलाई पनि लाग्न सक्छ । तर, त्यही पहाडको काखमा बसेको भञ्ज्याङले कहिलै पनि यस्तो गल्ती गरेन । होचो ठाउँमा रहेर पनि उच्च छ भञ्ज्याङको गरिमा । त्यसैले सदियौंदेखि पूर्खाहरुले समेत विश्वास गर्दै आएका छन् यही भञ्ज्याङहरुलाई ।

इतिहासलाई नियाल्ने हो भने अनेकौं प्रयोजनमा प्रयोग हुँदै आएको छ भञ्ज्याङको । लिच्छवीकाल र मध्यकाललाई नियाल्ने हो भने यही भञ्ज्याङ सुरक्षाको लागि सेनाको गढीको रुपमा प्रयोग भयो । जतिबेला बाह्य आक्रमणहरुको चिन्ता कम हुँदै गयो ।

यो भरियाले थकाई मेटाउने विश्राम स्थलको रुपमा प्रयोग हुन थाल्यो । मान्छेको आवागमन बढेसँगै यतै मन्दिरहरुको स्थापना गर्न लागियो । त्यो पवित्र धार्मिक स्थलको रुपमा विकास हुँदै गयो । बिस्तारै साझा र उपयुक्त ठाउँ देखेर त्यतै कुल पूजाको सुरुवात गरे । त्यो ठाउँ झनै पवित्र स्थल बन्दै गयो ।

के हो भञ्ज्याङ ?

भञ्ज्याङ, पहाड वा पर्वत श्रृङ्खलाको बीचबाट वारिपारी आवत जावत गर्न सकिने गरी बनेको एउटा होचो स्थान हो । यही भञ्ज्याङहरु मध्यकालसम्म पनि नेपालको नाकाको रुपमा प्रचलनमा थिए । अहिले नै पनि सायदै भञ्ज्याङहरु हुँदैन थियो भने यो कचौराजस्तो काठमाडौंमा यातायातको आवागमनमा निकै असहज हुन्थ्यो होला । भञ्ज्याङले विगत र वर्तमानमा पनि शहरलाई बाहिरी दुनियाँसँग जोड्ने काम गरिरहेको छ र अझै गर्दैछ ।

हल्का समथर परेको ठाउँ, नजिकै पिउन लायक पानीको धारा होस् या कुवा । नजिकै बर र पिपलको चौतारी । रात बिताउनको लागि नजिकै एउटा सानो पाटी । यी भञ्ज्याङका पुरक आवश्यकताहरु हुन् । भञ्ज्याङ केवल प्राकृतिक बनोटले तयार पारेको एउटा गल्छी मात्रै होइन । यो त एउटा भरियादेखि सैनिकसम्मको भावना जोडिएको अपूर्व सम्पदा पनि हो । त्यो साँघुरो ठाउँ समेत कति धेरै सामग्री अटाउने गर्छ ? त्यो आफैंमा सबैको भावना जोडिएको छ ।

सैपाल हिमश्रृङ्लामा जानेहरुलाई उराई भञ्ज्याङले अझै सहजता थपिरहेको छ । तिलिचो पुग्नेहरु थोराङ भञ्ज्याङको संसर्गमा नपुगी फर्किन सक्दैनन् । लिपेलेक (लिपेडाँडा) जानेहरुलाई प्यारजुङ भञ्ज्याङले सुस्ताउने ठाउँ दिने गरेको छ । पहाडी एवं हिमाली नेपालको यात्रा गर्ने क्रममा कुनैपनि त्यस्तो ठाउँहरु नहोला जहाँ भञ्ज्याङको साथमा समय बिताउन नपाईयोस् । यही देशभरी फैलिएर रहेको आश्रय स्थल हो, भञ्ज्याङ ।

भञ्ज्याङलाई ट्रेकिङ गर्नेहरुको लागि थकाई मेटाउने सारथि मान्छन्, साइकल अभियान्ता सौरभ ढकाल । ‘ट्रेकिङमा जानेहरुको लागि सुस्ताउने धेरै ठाउँहरु हुन्छन् । तर, त्यस्ता कुनैपनि ठाउँ हुँदैनन् जसले भञ्ज्याङको झल्को मेट्न सकोस् ।’

पसिनाले भिजेको शरीरमा भञ्ज्याङले दिएको चिसो हावाको उपहारले अपार आनन्द दिने उनी अनुभव सुनाउँछन् । उनी यी भञ्ज्याङहरुको बिरानो बन्दै गएको भन्दै यसको अस्तित्वलाई पुनस्र्थापित गर्नुपर्ने बताउँछन् ।

उबेलाको भरिभराउ भञ्ज्याङ

चन्द्रबहादुर गुरुङ (७२), धादिङको तत्कालीन ढोला गाविसबाट कम्तिमा वर्षमा एक पटक काठमाडौं आउने गर्थे । ‘चामल र मकै बोकेर काठमाडौं आउँदै गर्दा भीम ढुंगामा सबै सामान बेचिन्थ्यो’ उनी सुनाउँछन् ‘त्यही पैसाले वाणभञ्ज्याङको बाटो ओरालो लागेर धादिङ पुगिन्थ्यो । धादिङबाट आउँदा बाणभञ्ज्याङमा आएर आनन्दसँग बस्दाको आनन्द अझैपनि याद छ ।’

गुरुङ दुई वर्ष अघि काठमाडौं आउँदा अहिले त्यतिबेलाका पाटीहरु भत्किइसकेको र त्यो भञ्ज्याङ उराठ भएको देखे । ‘थानकोटबाट त्यही हेर्नको लागि गएको थिएँ । अहिले भञ्ज्याङ पहिलेको जस्तो रहेनछ ।’ उनले भनेझैं भत्किन बाँकी रहेका भञ्ज्याङका पाटीपौवाहरु पनि भत्किने क्रममा छन् । सडक विस्तार भएका अधिकांश ठाउँहरुमा पसलहरु सुरु भएका छन् । मोटरबाटोको सुविधाले भञ्ज्याङसँगै आफ्नो दुखको गाथा सुनाउनेहरुको अभाव झेल्दैछन् भञ्ज्याङहरुले ।

सुरक्षाको लागि भञ्ज्याङ

भञ्ज्याङ केवल आनन्द र थकाई मेटाउने केन्द्र मात्रै होइन । यो त सुरक्षाको एउटा बलियो किल्ला पनि हो । गोर्खाली सेनाहरुले समेत अँग्रेजलाई परास्त गर्नको लागि यही भञ्ज्याङको साहारा लिएको इतिहासले बताउँछन ।

इतिहासमा भञ्ज्याङसँग जोडिएका धेरै किस्साहरु पाइन्छ । सन् १८२४ तिरको कुरा हो, रातदिनगरी हतार हतार सिन्धुलीबाट आएका एक भारदारले पृथ्वी नारायण शाहलाई अँग्रेजहरुले गोर्खामाथि आक्रमण गर्न लागेको जानकारी गराए ।

चावहिलतिर ठाना सार्दै बसेका आफ्ना सेनापति रामकृष्ण कुँवरलाई तत्कालै पृथ्वी नारायण शाहले बोलाएर भनेका थिए ‘मिलाउनु पर्ने सबै बन्दोबस्ती मिलाउनू, चाहिँदो फौज लिएर सिन्धुली जानू, सिन्धुलीबाट फिरिङ्गीहरुले आक्रमण गर्छन् भन्ने कुरा साँचो हो ।  जयप्रकाश (काठमाडौंका तत्कालीन राजा)को हुँदो भएर आउने हो । तर, भारतलाई खानेले नेपाललाई मात्रै छाड्ला भन्ने सोच्नु हुँदैन । गोरखा भन्नु र नेपाल भन्नु एउटै हो । फिरङ्गीहरु भनेका ब्वासाहरु हुन् । तिमीहरु तराई नझर्नु, भञ्ज्याङमा गढी बनाएर बस्नु ।’

तत्कालीन समयमा राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहले भञ्ज्याङलाई एउटा सुरक्षित स्थलको रुपमा देखेर आफ्ना सेनाहरुलाई भञ्ज्याङमा नै गढी बनाएर बस्नको लागि निर्देशन दिएको इतिहासका पानाहरुमा भेटिन्छ ।

पृथ्वी नारायण शाहकै सुझाव अनुसार पूर्व एक नं रामेछाप डाँडोको फेदीमा बग्ने सुनकोशीको दक्षिण किनारामा रहेको खुरकोटबाट करिब २ कोशमा निगाले र त्यहाँबाट एक कोश जति ठाडो उकालो तरेपछि महाभारत डाँडाको लेकमा जुन भञ्ज्याङ रहेको छ । त्यसलाई प्राचीन कालदेखि नै सिन्धुली भञ्ज्याङको नामले चिन्ने गरिन्थ्यो ।

त्यहीँ गोर्खाली सेनाले आफ्नो गढ बनाएर बसेको मोहनप्रसाद खनालले प्राचीन नेपालमा छापेको आलेखमा उल्लेख छ । त्यही भञ्ज्याङमा किल्ला बनाएर त्यतिबेलाको युद्धमा गोर्खालीहरुले अँग्रेजलाई पराजीत गराएका थिए । अहिले त्यही भञ्ज्याङ सिन्धुली गढीको नामले चर्चित छ ।

भञ्ज्याङै भञ्ज्याङले घेरिएको काठमाडौं

काठमाडौंलाई प्राचीन कालदेखि नै ‘चारभञ्ज्याङ भित्रको शहर’ को रुपमा चिनिँदै आएको पाइन्छ ।  प्राचीन समयदेखि नै उपत्यकाबाट बाहिरिनको लागि चारवटा दिशामा चार वटा भञ्ज्याङलाई नाकाको रुपमा विकास गरिएको थियो । त्यही बेलादेखि नै यसलाई चारभञ्ज्याङभित्रको शहरको रुपमा मान्न थालियो । तर, यो केवल चार भञ्ज्याङले मात्रै घेरिएको शहर नभएर भञ्ज्याङै भञ्ज्याङले घेरिएको शहरको रुपमा मान्न सकिन्छ ।

काठमाडौंको पश्चिमतर्फ थानकोटको वाणभञ्ज्याङ, पूर्वमा साँगा भञ्ज्याङ, उत्तरतर्फ पाँच भञ्ज्याङ र दक्षिण तर्फ फर्पिङ भञ्ज्याङलाई सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिन्थ्यो । त्यही कारणले पनि यसलाई प्राचीन कालदेखि नै अति महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्थ्यो ।

उपत्यका बाहिरका केही चर्चित भञ्ज्याङहरु

– चाबुक भञ्ज्याङ : ताप्लेजुङ

– टिपताला भञ्ज्याङ : ताप्लेजुङ

– खाङ्लो भञ्ज्याङ : ताप्लेजुङ

– झिनसाङ भञ्ज्याङ : ताप्लेजुङ

– घाङ्ला भञ्ज्याङ : ताप्लेजुङ

– पोटरी भञ्ज्याङ : संखुवासभा

– उम्बक भञ्ज्याङ : संखुवासभा

– रागला भञ्ज्याङ : संखुवासभा

– छिरनचोभा भञ्ज्याङ : संखुवासभा

– भाटभटेनी भञ्ज्याङ : संखुवासभा

– पर्चे क्यामा भञ्ज्याङ : मुस्ताङ

– छाटाङ भञ्ज्याङ : मुस्ताङ

– चाङ्चुमी भञ्ज्याङ : मुस्ताङ

– फाङ्फुङ्ला भञ्ज्याङ : मुस्ताङ

– लाज्युङ भञ्ज्याङ : गोरखा

– मैलाट साचिङ भञ्ज्याङ : गोरखा

– थाप्ले भञ्ज्याङ : गोरखा

– लार्के भञ्ज्याङ : गोरखा

– ग्याला भञ्ज्याङ : गोरखा

– यान्डोल भञ्ज्याङ : गोरखा

– छ्याङ्ला भञ्ज्याङ : दार्चुला

– उराइ भञ्ज्याङ : बझाङ

– रसुवागडि भञ्ज्याङ : रसुवा

– नाम्जा भञ्ज्याङ : मुगु

– झुमा कोदारी भञ्ज्याङ : सिन्धुपाल्चोक

– नाङ्पा भञ्ज्याङ : सोलुखुम्बु

– ठाङ्ना भञ्ज्याङ : दोलखा

– टिंकर भञ्ज्याङ : दार्चुला

– काङ्कुङ भञ्ज्याङ : डोल्पा

– पिण्डु भञ्ज्याङ : डोल्पा

– आररिम भञ्ज्याङ : डोल्पा

– मारिम भञ्ज्याङ : डोल्पा

– ज्याङ्चे भञ्ज्याङ : डोल्पा

– मेङ्ला भञ्ज्याङ : डोल्पा

– खुङ भञ्ज्याङ : डोल्पा

– यानाङ भञ्ज्याङ : डोल्पा

– याला भञ्ज्याङ : डोल्पा

– चाङ्ला भञ्ज्याङ : हुम्ला

– नारा भञ्ज्याङ : हुम्ला

– चिमाला भञ्ज्याङ : हुम्ला

– सर्पे भञ्ज्याङ : हुम्ला

– लाप्चे भञ्ज्याङ : हुम्ला

– लोलुङ भञ्ज्याङ : हुम्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment