Comments Add Comment

ओखलढुंगामा दन्तशिविर : डाक्टरले दाँत राखे, अतिथिले ठेले

गाउँपालिका अध्यक्ष भन्छन्– गाउँपालिका 'थोतेरहित बनाउँछाैं

५ चैत, काठमाडौं । ‘ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम तथा नोबेल कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम’को ब्यानर टाँगिएको छ । सोही ब्यानर अगाडि उभिएर डाक्टरले दाँत नभएकी एक जना वृद्धाको मुखमा कृत्रिम दाँत राखिदिन्छन् । अतिथिहरुले उक्त दाँतलाई छोएर फिट गरिदिएजस्तो गर्छन् । दाँत छुन नसक्नेहरुले जसले छोएको छ, त्यही व्यक्तिको हात छुन्छन्, सामूहिक पूजामा मुख्य कर्ताको हात अन्य कर्ताले छोएजस्तै । अनि सम्पन्न हुन्छ दाँत उपहार कार्यक्रमको उदघाटन समारोह ।

यो दृष्य हो ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडानम्बर ६ घोराखोरिको । यही चैत ३ गते जेष्ठ नागरिकलाई दाँत उपहार दिएर दन्त शिविर उदघाटन गरेको यो फोटो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । धेरैले कार्यक्रम उदघाटन गर्ने शैलीप्रति व्यंग्य गरेका छन् ।

दाँत नभएका सबैलाई दाँत उपहार दिने अभियानअन्तर्गत सोमबार सो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि थिइन् प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर ।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष नवराज केसीले गरेका थिए भने अतिथिको रुपमा प्रदेश सांसद मोहन कुमार खड्का, चम्पादेवी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष अजय लुइँटेल र विभिन्न राजनीति दलका नेताहरु सहभागी थिए ।

गाउँपालिका अध्यक्ष नवराज केसीले कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायबारे जानकारी दिन र दाँत नभएका सबैलाई दाँत उपहार दिने अभियान गाउँपालिकाका बिभिन्न स्थानमा चलाएको बताए । उनले डेन्टिस्ट केशव रिमालबाहेक अरुले मुखमा नछोएको दाबी गरे । उनले अनलाइनखबरसँग भने, ‘बिरामीको दाँत ठेलेर शिविर उदघाटन गरेको भनिएको छ, वास्तवमा त्यस्तो होइन ।’

‘गाउँपालिकालाई थोतेरहित बनाउन दन्त उपहार कार्यक्रम चलाएका छौं र मुस्कानसहितको सेवा सुरु गरेका छौं,’ उनले भने, ‘त्यही अभियान अन्तर्गत त्यो कार्यक्रम भएको हो ।

गाउँपालिका अध्यक्ष केसीका अनुसार दाँत उपहार दिने र कोरोनाबारे जनचेतना जगाउने कार्यक्रम चैत ६ गतेसम्म जारी हुने छ । यही कार्यक्रम ५ र ६ गते पलापुमा पनि हुने भएकाले शिविरको फाइदा लिन गाउँपालिकाले सबैलाई अनुरोध गरेको छ ।

दाँत उपहार दिने र कोरोनाबारे सचेतना जगाउने कार्यक्रमका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पाँच लाख रुपैयाँ नगद र पूर्वाञ्चल डेन्टल अस्पतालले प्राविधिक सहयोग गरेको उनले बताए ।

अध्यक्ष केसीका अनुसार हाल गाउँपालिकालाई नमूना बनाउन बिभिन्न कार्यक्रमहरु अभियानको रुपमा सन्चालन हुँदै आएको छ । केसीले भने, ‘हामीले टोलटोलमा बाटो, घरघरमा धारो, चम्पादेवी गाउँपालिकाका सबै घर उज्यालो’ नारासहित बिभिन्न कार्यक्रम पनि गर्दै आएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment