Comments Add Comment

कोरोना सतर्कताप्रति रौतहटका स्थानीय तह उदासीन

५ चैत, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि रौतहटमा भने अझै पनि प्रभावकारी कार्यक्रमहरु अगाडि बढन सकेको छैन ।

भारतको बिहारसँग सीमा जोडिएको बेलबिछवा, गौर, राजपुर, बंकुल, औरैयालगायतका स्थानहरुमा कोरोना विरुद्धको अभियान निकै फित्तलो रहेको छ ।

रौतहटको सदरमुकाम गौरमा भन्सार कार्यालयको अगाडि कोरोना रोगको संक्रमितको पहिचान तथा चेकजाँचका लागि थर्मल थर्मोमिटर सहितको स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि सीमाक्षेत्र जोडिएका अन्य नगरपालिकाले भने ठोस कदम चाल्न सकेको छैन ।

गौर नगरपालिकाले भारतीय सीमा बैरगनियामा सहायता कक्ष स्थापना गरेर चेकजाँचको काम सुरु गरेको दुई साता भएको छ । तर अन्य नगरपालिकाहरुले भने सहायता कक्ष स्थापना गरेका छैनन् ।

अहिले पनि कोरोना रोकथामका लागि केही पालिकाहरुले बैठक र कार्यक्रममै सीमित राखेका छन् ।

वैदेशिक रोजगारीबाट गाउँ फर्किनेहरुको सँख्या र अवस्थाको बारेमा पालिकाहरुले ध्यान दिन जरुरी रहेको स्थानीय बताउँछन् । भारतीय क्षेत्रसँग सीमा जोडिएको राजदेवी, राजपुर, इशनाथ र बौधीमाई नगरपालिका लगायत रौतहटका अन्य स्थानीय तहमा समेत कोरोना विरुद्धको कार्यक्रम हुन सकेको छैन ।

भारतका विभिन्न प्रान्त र शहरमा कोरोना फैलिन थालेपछि रोजगारीका लागि भारतमा रहेका नेपालीहरु विभिन्न नाका भएर घर फर्किने क्रममा रहेका छन् । भारतबाट नेपाल फर्किनेलाई नाकामा प्रभावकारी चेकजाँचको व्यवस्था नहुँदा सर्वसाधरणमा त्रास बढेको छ ।

‘महामारीको रुपमा फैलिरहेको रोगलाई पालिकाका प्रमुखहरुले वेवास्ता गरिरहेका छन्” नागरिक समाजका अध्यक्ष जगन्नाथप्रसाद केशरीले भने, ‘भारतमा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । खुल्ला सिमानाका कारण विभिन्न नाकाहर बाट संक्रमितहरु नेपाल प्रवेश गर्ने ठूलो सम्भावना रहेको छ ।’

रौतहटका नगरपालिकाहरुले यो महामारीलाई सामान्य रुपमा लिएको र समयमै सचेत हुन नसकेको देख्दा दुःख लागेको उनले बताए ।

‘गौरबाहेक ईशनाथको औरैया र बौधीमाईको बंकुलमा पनि बुधबारबाट सहायता कक्ष सञ्चालन भएको छ,’ प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘जिल्लाका सबै स्थानीय तहलाई द्रुत गतिमा रोकथामका कार्यक्रम अगाडि बढाउन भनिएको छ । स्थानीय प्रशासनले सूक्ष्म निगरानी गरिहेको छ ।’

सीमा नाकाहरुमा कडाइ तथा जनचेतना मूलक कार्यक्रमहरु सञ्चालका लागि पनि सबै पालिकाहरुलाई अनुरोध गरिएको प्रजिअ घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment