Comments Add Comment

पशुपतिको बज्रेश्वर जात्रा सञ्चालन गर्न रकम अभाव

७ चैत, काठमाडौं । चैत महिनाको कृष्णपक्ष द्वादसीका दिन सञ्चालन हुने पशुपतिको बज्रेश्वर जात्रा सञ्चालन गर्न रकम अभाव भएको छ ।

पशुपति विकास कोषले उपलब्ध गराउने मुआब्जा रकमबाट जात्रा सञ्चालन गर्ने योजना देशोद्धार पूजा संचालन समितिको थियो ।

समितिका अनुसार रकम अभावका कारण यो वर्ष बज्रेश्वर माता (पिंगला माई) जात्रा सञ्चालन नहुने स्थितिमा पुगेको छ ।

समितिले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पशुपति विकास कोषले उपलब्ध गराउने मुआब्जाबाट प्राप्त रकम हस्तान्तरणमा बेवास्ता गरेका कारण जात्रा रोकिने अवस्था आएको जनाएको छ ।

मुख्य आयस्रोतको रुपमा रहेको १३ रोपनी जमिन ०७६ साल जेष्ठ ३० गते पशुपति विकास कोषले अधिग्रहण गरेको थियो । मोहीलाई मुआब्जा वितरण गरी घरघडेरी समेत उपलब्ध गराइसकेको अवस्थामा गुठीयारहरुले भने मुआब्जा प्राप्त गर्न नसकेको समितिले जनाएको छ । कोषले मुआब्जा हस्तान्तरणका लागि संस्था दर्ता तथा बैंक खाता खोल्न आग्रह गरेअनुसार प्रक्रिया पूरा गरीसके पनिसमितिको नाममा मुआब्जा रकम जम्मा गर्न आनाकानी भइरहेको समितिका अध्यक्ष प्रेमानन्द वैद्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

हुरी बतास, अग्नी, जल, रोगब्याधि जस्ता प्रकोप नहोस् भन्ने कामनासाथ यो जात्रा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको समितिले जनाएको छ । जात्राको ४ दिन अघिदेखि नै वैदिक तथा तान्त्रिक विधिद्वारा देशोद्धार पूजा (दे–पूजा) गर्ने परम्परा रहेको समितिको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment