Comments Add Comment

कोरोनाको चुनौती र हाम्रो मौलिक संस्कार

लेखिका नम्रता पाण्डे

विगत तीन महिनादेखि चीनको वुहान सहर हुँदै फैलिएको कोरोना भाइरस नेपालकै छिमेकी मुलुकबाट नेपाललाई नछोइकन युरोप, अमेरिका पुग्यो । विश्वव्यापी महारोगको रूपमा विस्तारै फैलिँदै दक्षिण एशियाली मुलुकहरूमा र फेरि पनि हाम्रै छिमेकी मुलुक भारतमा यसको संक्रमण अलि बढी देखिन थालेको छ ।

नेपालमा भने आजको दिनसम्म एक जनामा मात्र यसको संक्रमण रहेको र त्यो पनि उपचार पश्चात ठीक भएर घर फर्केको समाचार सुन्नमा आइरहेको छ ।

तीन महिना बितिसक्दा पनि हामी सुरक्षित रहनु सक्नु अस्तित्वगत कृपा नै मान्नुपर्छ । तर, भाइरस हो, कतिबेला कसको माध्यमबाट सेकेण्डमै हामीलाई आक्रमण गर्छ, यकिन गर्न सक्ने अवस्था छैन । हामी सचेत हुने र सुरक्षाका उपायलाई नियमसंगत रूपमा अपनाएर आफ्नो डाक्टर आफैँ बन्नेबेला आएको छ ।

नेपाल सरकारको सुरक्षा पहल र स्वास्थ्य सेवासम्बन्धी जिज्ञासास्वरूप धेरै मेडिकल विज्ञहरूले आवाज उठाइरहेका पनि छन् । नेपालको वास्तविक स्थिति के हो ? कोरोना जाँच्ने उपकरण र सुविधा उपलब्ध हो कि होइन ? आजको दिनसम्म विमानस्थल खुल्ला रहनु र संक्रमित मुलुकबाट नेपाल भित्रिने यात्रुहरूको निरन्तरता बढीरहनु आदि कारणले आत्मशंका, डर, तनाव र नकारात्मकता सिर्जना गरिरहेको भान हुन्छ ।

अर्कोतिर, आफ्नै नेपाली दाजुभाइहरू आफ्नो मुलुकमा भित्रिन किन नपाउने, सरकारले सामान्यीकरणको नियम ल्याएर नेपालीमाथि नै अन्याय गर्न मिल्दैन भन्ने तर्कहरू पनि आइरहेका छन् ।

यतिबेला हामी सबै नेपालीहरू तर्क, आत्मशंका, डर र तनावमा बाँच्न विवश छौँ । यो समय हाम्रा लागि चुनौतिपूर्ण बनेर आएको छ ।

त्यसो त, केही समयभित्रै हामी यति धेरै सचेत बनेका छौँ कि हाम्रो भेटघाट गर्ने, भोजभतेर गर्ने तरिकामा परिवर्तन आएको छ । अनावश्यक भिडभाडमा नजाने, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, सेल्फ क्वारेन्टाइनमा बस्ने, मास्क प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने र निरन्तर साबुनपानीले हात धुने अभ्यास बढाउँदै गएका छौं । सम्भव भएसम्म घरबाट नै काम गरौँ भन्ने अभ्यास बढ्दै गएको छ ।

सरकारले विद्यालय बन्द गर्ने, एसईई लगायतका परीक्षाहरूलाई स्थगित गर्ने, सभा, सेमिनार, सिनेमा हल, जीमखाना लगायत धेरै व्यक्ति जम्मा भएर आयोजना हुने प्रायः क्षेत्रहरू बन्द गर्न लगाएको छ । जुन महत्वपूर्ण कदम र सुरक्षाको माध्यम बनेको छ ।

हामी महामारी र आपत पर्दा मात्र सतर्क रहने कि ? सामान्य अवस्थामा पनि आफ् आधारभूत सरसफाई, खानपान र संस्कारलाई निरन्तरता दिने ? स्व-स्मरणको क्षण बनेर आएको छ । चुनौतीलाई सहजताका साथ अवलम्बन गर्ने, हतास नहुने, धेरै चिन्ता र आशंका पनि नगर्ने तर अपनाउनुपर्ने सावधानी शतप्रतिसत अपनाउनुपर्छ भन्ने सन्देश र स्मरण पनि यो समयले गराएको छ ।

आजकल हामी सबैतिर ‘कोरोना विज्ञ’ देख्न सक्छौँ । मानौँ कि कोरोनाको विषयमा जानकारी नभएको व्यक्ति नै छैन, सबैमा यसको भरपूर जानकारी छ ।
यस विषम परिस्थितिमा कोरोनाप्रति सचेत रहनु, जानकारी राख्न खोज्नु स्वाभाविक पनि हो । तर, अधिकारिक सूचना के हो र वास्तविकता के हो नबुझिकन सन्त्रास फैलाउने कामदेखि सावधान हुनुपर्दछ ।

विश्व स्वास्थ्य संगठनको अधिकारिक अपडेट के छ, नेपालको स्वास्थ्य मन्त्रालयले के प्रगति विवरण उपलब्ध गराएको छ, वास्तविकता बुझ्न पाउनु सबैको अधिकार पनि हो । तर, कोरोना कुनै ब्याक्टेरिया नभई भाइरस भएका कारण यसको उपचार पत्ता लागेको छैन, सुरक्षित हुने उपाय अपनाउँ भन्ने नै अहिलेको मुख्य जानकारी रहेको बुझिन आएको छ ।

त्यसैले यो समय भनेको आफू र आफ्ना वरपरकालाई सुरक्षित रहन सिकाउने, आवश्यक परेको सहयोग गर्ने र जनचेतना फैलाउने काम नै मुख्यतः रहेका छन् । हामी जे सोच्छौँ त्यसले गहिराइमा गएर काम गर्न सक्छ, त्यसैले नकारात्मकरूपमा कुराकानी नगरी आफ्नो आत्मबल बढाउने र हामीलाई कोरोनाले केही गर्न सक्दैन भन्ने भावलाई विकसित गर्नु आफ्नो आत्मशक्ति बढाउने उपाय पनि हो ।

हुन त, मेडिकल विज्ञानले प्रयोगशालाको परीक्षणलाई मात्र विश्वास गर्छ, आत्मशक्ति, आत्मविश्वास र आत्मविकासले मानिसलाई माथि उठाउँछ र निडर भएर बाँच्न सिकाउँछ भनेर नपत्याउन सक्छ । तर, अहिलेको परिस्थितिमा मेडिकल विज्ञानले पनि कोरोनालाई सखाप पार्न सकेको छैन । मानिस नै विज्ञ बने, विज्ञानको आविष्कार गरे, अणु, परमाणु, विविध शक्तिपुञ्ज पत्ता लगाए । बम विष्फोट गरेर संसार ध्वस्त पार्ने कौशलता प्राप्त गरे पनि कोरोनाको भाइरसलाई ध्वस्त पार्ने उपाय आजको दिनसम्म पत्ता लागेको छैन ।

त्यसैले आफ्नो आत्मस्वरूपलाई जानेर निश्चिन्त रहन र सेल्फ क्वारेन्टाइनमा सजिलै दिन बिताउन भित्रको यात्रा अर्थात् ध्यानको सख्त जरूरत छ । ध्यान हाम्रो आन्तरिक स्वभाव हो । हामीलाई बाहिरै भडि्कने आदत परेकोले अब यो विषम परिस्थितिमा पनि घरभित्र बस्न असहज लाग्न सक्छ ।

ध्यान र योगका अभ्यासलाई निरन्तरता दिएर आफ्नो आन्तरिक स्व-सत्ताको पहिचान गर्ने बानी बसाल्यौं भने हामीलाई सहजता मिल्छ र सकारात्मक ऊर्जाले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्दछ । आफू, आफ्ना नानीहरू र आफन्तलाई समेत उत्प्रेरणा मिल्ने गरी यो समयलाई ध्यानको माध्यमबाट उर्जावान हुने अभ्यास गरेर हेरौं त !

यो विशाल ब्रहृमाण्डका अगाडि हामी सानो केही अंश मात्र हौं, उसको विशाल शक्ति, आन्तरिक शक्ति उसलाई मात्रै थाहा छ । प्राकृतिकरूपमा यो अस्तित्वलाई कसरी व्यवस्थापन गर्न सकिन्छ उसलाई नै ज्ञान छ । उसलाई आन्तरिक र गहन रूपमा जान्ने ज्ञेय, जान्नेवाला हामी बन्न सक्छौँ । सारा परिस्थितिलाई साक्षीपूर्वक हेर्दै, आफ्ना सावधानीका उपायलाई नियमसंगत अपनाउँदै, सकारात्मकरुपमा बुझ्ने कोशिस गर्यौं भने हामीले कोरोना जित्न सक्छौँ कि ?

हाम्रो पुरानो संस्कारलाई याद गर्यौं भने थाहा लाग्छ- हामी एक अर्काबाट टाढा रहने, सकभर नछोइने प्रचलन थियो, अहिलेको सोसियल डिस्टयान्स र फिजिकल डिस्टयान्सको अवधारणा यही त हो । खानेबेलामा एक अर्कामा नछोइने, आफू भन्दा ठुलाको अनुहारमा सिधै नहेर्ने, खोक्दा र हाछ्युँ गर्दा मजेत्रो या रुमालले छोपेर गर्ने, ननुहाईकन भान्छामा नजाने, खाना नखाने, बाहिरबाट आउनासाथ हातखुट्टा धोएर मात्र गृह प्रवेश गर्ने संस्कार हुन् हाम्रा ।

रुघा लाग्दा अलग्गै बस्ने, ज्वरो आउँदा के खाने, के नखाने, कुन प्रकृतिको विरामीले के सावधानी अपनाउनेजस्ता अयुर्वेदीय अभ्यास हाम्रा प्रचलन हुन् । हातले खाना खाने हुँदा पटकैपिच्छे हात धुने, हातले खाँदा पञ्चतत्वको महत्वलाई व्याख्या गर्ने जस्ता जति पनि संस्कार छन्, धेरै नै वैज्ञानिक छन् । हाम्रा पूर्खाले चोखो, चोखो भन्ने अर्थ यहि सरसफाईकै प्रचलन हो, शुद्धताको अभियान हो ।

साबुन उपलब्ध नहुँदाको अवस्थामा पनि खरानी, रिठ्ठो लगायतका चिजहरू प्रयोग गरेर नुहाउने, कपडा धुने, हात धुने प्रचलन थियो नै । अहिले आएर मात्र साबुन पानीले हात धुन सिकेका होइनौं हामीले ।

अभिभावदनको शैली नमस्कार अर्थात्  ह‍ृदय चक्रमा हात जोडेर ह‍ृदयदेखिको अभिवादनको संस्कार त संसारकै लागि अलौकिक खुसी र सम्मानको एउटा मुऽा नै हो, जसलाई आज सबैले आत्मसात गरिसकेका छन् । अभिवादनमा हात मिलाउने प्रचलन हामीले पश्चिमा संस्कृतिबाट लिएका हौँ । हात मिलाउनु भन्दा कयौं गुणा सुन्दर देखिन्छ एक अर्कामा नमस्कार गरेर आत्मीयता र श्रद्धा प्रकट गर्दा ।

हामी विदेशीले हात मिलाउन आउँदा पनि नमस्कार नै गर्ने गर्दछौँ, आफ्नो संस्कृति चिनाउनको लागि । प्रायः सबै संक्रमण हातबाट नै नाक, मुख हुँदै सर्ने भएकाले यो सचेतना हामीमा परापूर्वदेखि नै रहेछ भन्ने बोध हुन्छ ।

हाम्रा सबै नै प्रचलन वास्तवमा वैज्ञानिक अर्थात् अर्थपूर्ण रहेछन् भन्ने कुरालाई मनन गर्ने बेलापनि आएको छ । हाम्रा कर्मदेखि लिएर सोचविचार सबै सकारात्मक र नियमसंगत बनून् भन्ने शिक्षा यो समयले बताएको छ ।

क्वारेन्टाइन र आइसोलेसनको अर्थ पनि त आफ्नो आचरणमा र आफ्नै नियममा रहनु भन्ने हो । आज हाम्रा यी स्वाभाव र आन्तरिक गुणवत्ताप्रति जागरूक बन्न र व्यवहारिक रुपमा अपनाउन सक्यौँ भने आत्तिनुपर्ने अवस्था रहँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment