Comments Add Comment

व्यवसाय प्रवर्द्धनका कार्यक्रमहरू स्थगन गर्ने लघुवित्त बैंकर्स संघको निर्णय

संघका अध्यक्ष बसन्त लम्साल

९ चैत, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले कर्जाका लागि नयाँ आवेदन अनिश्चितकालका लागि स्थगन गरेका छन् । लघुवित्त बैंकर्स संघले बैठक बसी कोरोना भाइरस (कोभिड–१९) का कारण उच्च सतर्कता अपनाउनका लागि भन्दै नयाँ आवेदन रोक्ने निर्णय गरेको हो ।

कोरोनाको जोखिमबाट बच्नका लागि भन्दै संघले व्यवसाय प्रवद्र्धनका कुनै पनि कार्यक्रमहरु समेत नगर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष बसन्त लम्सालले कर्जा दिनका लागि प्रतिवद्धता जनाइसकेकाले भने लगानी गर्ने बताए । कर्जा स्वीकृत भइसकेकाले पाए पनि कर्जा लिनका लागि नयाँ आवेदन भने रोकिएको अध्यक्ष लम्सालले बताए ।

यदि इमर्जेन्सी परेको अवस्थामा भनेर लघुवित्तले ऋण दिन सक्ने उनले बताए । अन्य आधारभूत आर्थिक कारोबारहरु भने यथावत रहने उनले बताएकका छन् ।

‘नयाँ कर्जा मात्रै नदिने भनेका हौं, प्रतिवद्धता भइसकेको वा इमर्जेन्सी परेको अवस्थामा भने कर्जा दिनेछौं’ उनले भने, ‘बचत, कर्जा असुली तथा बचत फिर्ता लगायतका हाम्रो सेवा भने रोकिएका छैनन् ।’

उनका अनुसार संघले लघुवित्तका शाखा कार्यालयहरुमा स्वास्थ्य सतर्कता अपनाउन समेत आग्रह गरेको छ । कोरोनाबाट जोगिनका लागि धान धुने सावुन पानी, स्यानिटाइजर तथा माक्स प्रयोग गर्न आग्रह गरिएको संघले जनाएको छ ।

यस्ताे छ संघले गरेका ४ निर्णयहरूः

(क) यस संघको अघिल्लो बैठकले गरेको निर्णयानुसार कोरोना भाइरसबाट बच्न र बचाउन सचेतना कार्य गर्न र आफना कार्यालयहरुमा हात धुने तथा सरसफाई प्रयोजनका लािग पानी, साबुन तथा स्यानिटाईजरको व्यवस्था गर्न सबै लघुवित्त वित्तीय संस्थाहरुलाई अनुरोध गर्ने ।

(ख) समुह÷केन्द्र बैठक हुने स्थान वा कार्यालय परिसरमा सावधानी (सामाजिक/भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने ब्यवस्था, स्यानीटाइजरको प्रयोग, मास्कको प्रयोग आदि) अपनाई समूह सदस्यहरुसंग व्यक्तिगत तवरले वा केन्द्र प्रमुख मार्फत समन्वय/सम्पर्क गरी आधारभुत आर्थिक कारोवार (बचत संकलन, कर्जा असुली, बचत फिर्ता आदि) गर्न सबै लघुवित्त वित्तीय संस्थाहरुलाई अनुरोध गर्ने ।

(ग) परिस्थितिमा सुधार नआउन्जेल सम्म पहिले प्रतिवद्धता जनाइसकिएको कर्जा वाहेक नयां कर्जा लगानी स्थगन गर्न, सदस्यहरुलाई सोहि वमोजिम धैर्य रहन अनुरोध गर्न, व्यवसाय प्रबद्र्धनात्मक क्रियाकलाप नगर्न लगायत सदस्यहरुको भेला हुने प्रकारका कुनैपनि कार्य नगर्न सबै लघुवित्त वित्तीय संस्थाहरुलाई अनुरोध गर्ने ।

(घ) परिस्थितिको गाम्भीर्यताका आधारमा आवश्यक नीतिगत व्यवस्थाका लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गर्ने । साथै, उपरोक्त बमोजिमको व्यहोरा नेपाल राष्ट्र बैंकलाई जानकारी गराउने निर्णय समेत गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment