Comments Add Comment

मानिसको शरीरभन्दा बाहिर कति समयसम्म बाँच्छ कोरोना भाइरस ?

९ चैत, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बारे अझै पनि धेरै रहस्य खुल्न बाँकी छ ।

तर यो भाइरस मानिसको शरीरभन्दा बाहिर पनि जीवित रहन सक्छ भन्ने पुष्टि भइसकेको छ । त्यसैले मानिसहरुले मास्क लगाउने, ढोका खोल्दा कुहिनाले खोल्ने, प्रोटेक्टिभ कपडा लगाउने र संक्रामक रोगलाई रोक्न स्प्रे छर्किने गर्न थालेका छन् ।

श्वासप्रश्वाससम्बन्धी धेरै भाइरसजस्तै कोभिड–१९ पनि साना थोपाको माध्यमबाट स्वस्थ मानिसमा सर्छ ।

मानिसले खोक्दा वा हाच्छ्यूँ गर्दा यस्ता धेरै थोपाहरु नाक र मुखबाट बाहिर निस्किन्छन् । एकपटक मानिसले खोक्दा त्यस्ता तीन हजार थोपा निस्किन्छन् । यस किसिमका साना थोपाहरु अर्को मानिसका साथै कपडा र अन्य सतहमा पनि बस्न सक्छन् । तर केही साना जीवाणुहरु हावामै रहन सक्छन् ।

साथै दिसा पिसाबको माध्यमबाट पनि भाइरसका जीवाणु सर्न सक्छन् । त्यसैले शौचालय गएपछि अनिवार्य रुपमा हात धुने बानी बसाल्नुपर्छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार कुनै सतहमा छोएर आफ्नो अनुहारमा हात लैजानु भाइरस सर्ने प्रमुख तरिका भने होइन । तर पनि सीडीसी, विश्व स्वास्थ्य संगठनलगायतले नियमित हात धुने र सफाइ गर्नुका साथै दैनिक रुपमा त्यस्ता संक्रमण सर्न सक्ने सतहलाई संक्रमण फैलिन नदिने गरी स्प्रे गर्नाले भाइरसबाट बच्न सकिने बताएका छन् ।

सार्स र मार्सजस्ता भाइरसहरु धातु, सीसा र प्लाष्टिकको सतहमा नौ दिनसम्म जीवित रहन सक्ने केही अध्ययनले देखाएको छ । यस्तै कोरोना भाइरस कम तापक्रम भएको स्थानमा २८ दिनसम्म रहन सक्ने केहीले बताएका छन् ।

तर मानिसको शरीरभन्दा बाहिर कति समयसम्म बस्न सक्छ भन्ने स्पष्ट भइसकेको छैन ।

यसबारे अनुसन्धान भइरहेको छ । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनएचआई) का शोधकर्ताले गरेको एक अनुसन्धानले कोरोना भाइरस हावामा तीन घण्टा रहन सक्ने पाइएको थियो । भाइरसको जीवाणु १ देखि ५ माइक्रोमिटरको मात्र हुन्छ । यो मानिसको कपालको मोटाइभन्दा ३० गुणा सानो हो ।

कागजपत्रमा यो भाइरस २४ घण्टा र प्लाष्टिक वा स्टिलको सतहमा २ देखि ३ दिनसम्म रहन सक्ने पाइएको थियो । यसबाट के कुरा थाहा हुन्छ भने कोरोना भाइरसको जीवाणु ढोकाको चुकुल, प्लाष्टिक र अन्य सतहमा पनि हुन सक्छन् ।

तामाको सतहमा भने करिब चार घण्टा पनि नै यो भाइरसका जीवाणु बाँच्न सक्दैनन् ।

यदि ६२–७१ प्रतिशत अल्कोहल भएको संक्रमण रोक्ने स्प्रेको प्रयोग गर्ने हो भने एक मिनेटभित्रै यो भाइरसको जीवाणु मर्न सक्छन् । धेरै तापक्रम र आद्रताले पनि कोरोना भाइरसको जीवाणुलाई छिटो मार्न सक्छ । कोरोना भाइरसका जीवाणु ५६ डिग्री सेल्सियसभन्दा बढी तापक्रममा बाँच्न नसक्ने पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment