Comments Add Comment

सरकारको आग्रह-लक डाउन उल्लंघन बहादुरी होइन, घरभित्रै बस्नुस्

उच्चस्तरीय समितिको बैठक बस्दै,उपभोग्य बस्तुका पसल खुला गर्नुपर्ने

११ चैत,काठमाडौं । सरकारले कोरोना संक्रमणविरुद्धको लडाइमा राष्ट्र एकताबद्ध भएर लड्नुपर्ने भएकाले ‘लकडाउन’ लाई कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । पहिलो दिनको लकडाउनको समिक्षा गर्न उच्चस्तरीय समन्वय समितिको बैठक अपराह्न  सिंहदरबारमा बस्दैछ ।

उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आम जनताले सरकारको निर्णयप्रति पुर्‍याएको सहयोगको प्रशंसा गरेका छन । उनले अपवाद बाहेक आम जनताले लकडाउन पालना गरेको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै पोखरेलले भने-जनताले सरकारको निर्णय पालना गरेकोमा प्रशंसा गर्न चाहन्छु । वास्तवमा यो राष्ट्रले एकताबद्ध भएर लड्नुपर्ने समस्या हो । सबैको सहयोग पाइएको छ र जनता आफैं सचेत भएर सरकारको निर्णय पालना गर्नुपर्छ ।

पोखरेलले लकडाउनलाई अवज्ञा गर्नुलाई बहादुरीका रुपमा लिन नहुने भन्दै सरकारको यो कदम कुनै आन्दोलन दबाउन गरिएको प्रशासनिक वा सुरक्षा बल प्रयोगको कारबाही नभएकाले जनताले स्वस्फूर्त रुपमा घरभित्र बसेर आफू र मुलुकलाई संक्रमणबाट जोगाउनुपर्ने बताए । उनले लकडाउन उल्लंघन गर्व गर्ने विषय नभएको समेत प्रष्ट पारे ।

पोखरेलले भने-अहिलेसम्म आमरुपमा ठिकै छ, हामी थप समीक्षा गरेर अरु निर्णय पनि गर्छौं । यस्तो बेला सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्ने हुन्छ । यो समय सरकारले भने अनुसार गर्नुपर्छ । हामी पक्ष विपक्षमा छैनौं,त्यसैले सरकारलाई विश्वास गरौं ।

उपप्रधानमन्त्री पोखरेलले जनताले लकडाउन पालना गर्दासम्म अन्य कदम चाल्नु नपर्ने बताए । उनले उपभोग्य बस्तुका पसलहरु खोल्नुपर्ने भन्दै बन्द गर्न नभनिएको पनि प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment