Comments Add Comment

लकडाउन भएपछि के गर्दैछन सांसदहरु ?

११ चैत, काठमाडौं । सांसदहरुको योजना संसद बैठकलाई हेरेर बन्छ । बैठक नियमित हुँदा उपत्यका केन्द्रीत कार्यक्रम र भेटघाट । बैठक केही दिन मात्रै नहुँदा निर्वाचन क्षेत्र केन्द्रीत कार्यक्रम, अर्थात जिल्ला दौडाह ।

तर, यसपटक कोरोना भइरसका कारण सांसदहरुको पूर्वनिर्धारित योजना अलपत्र परेका छन् । न निर्वाचन क्षेत्र न भेटघाट, न कार्यक्रम । अधिकांश सांसदहरु उपत्यकामै घर वा डेरामा सेल्फ क्वारेन्टाइनमा छन् ।

यो बेला जनतालाई परेको दु:खमा कसरी साथ दिन सकिन्छ ? भनेर लाग्ने पनि छन् । यस्तै एउटा उदाहरणीय काम गरेका छन् सांसद जनार्दन शर्माले ।

उनले अलपत्र परेका रुकुम सानीभेरी गाउँपालिकाका ३६ जना मजदुरको उद्धारका लागि पहल गरेका छन् । निर्माणधीन फास्ट ट्रयाकमा काम गर्नेहरु लकडाउन हुने सुनेपछि टिपर चढेर सोमबार साँझ घरतर्फ हिँडेका थिए । रुपन्देहीको बुटवल नपुग्दै लकडाउनको समय सुरु भएपछि उनीहरु रोकिए ।

यो खबर आफुसम्म आइपुगेपछि रुकुम पश्चिमबाट निवार्चित सांसद शर्माले प्रमुख जिल्ला अधिकारीसँग कुरा गरी उद्धारको पहल गरेका हुन् । सांसद शर्मा भने ललितपुरस्थित घरमा सेल्फ क्वारेन्टाइनमा छन् ।

घटनाबारे शर्माले अनलाइनखबरसँग भने, ‘हामी कहाँ छौं भन्ने पनि उनीहरुलाई थाहा थिएन । मैले तिमीहरुको नजिक कोही स्थानीयबासी छ भने फोन देऊ भनें । उनीहरुले एकजना पसल सन्चालक नारायण पन्थीलाई फोन दिए । नारायण जीले उनीहरुसँग भिडियोमा वार्ता गर्ने व्यवस्था मिलाइदिनुभयो । भिडियोमा हेर्दा त उनीहरु रुकुमका, मेरै चिनजानका रहेछन् ।’
शर्माको पहलपछि अलपत्र परेका मजदुरहरुको उद्धार भएको छ ।

चटारे सांसदहरुलाई गाह्रो !

डिला संग्रौला एकदमै ब्यस्त हुने/देखिने सांसद हुन् । लेखहरु लेखिरहने, संसदमा आफ्नो उपस्थिति देखाउन भरमजदुर प्रयास गर्ने, संसदीय समितिका बैठकमा नियमित जसो सहभागि हुने र आफना तर्कहरु राख्ने । यो सबै गर्न अध्ययन गर्नुपर्यो त्यसका लागि पनि समय छुट्याउने ।

तर, कोरोनाको महामारी विश्वव्यापी रुपमा फैलिएपछि उनमा चिन्ता छ । अझ चिन्ता नेपालमा कोरोनाको संक्रमित भेटिएपछि । ‘पढ्न, लेख्न, केही पनि गर्न मन छैन ! लकडाउन गर्नुपर्ने अवस्था आएपछि सबै बन्द गरेँ’ उनले अनलाइनखबरसँग भनिन् ।

कतिपले सेल्फ क्वारेन्टाइनमा बस्दा अध्ययन गर्ने योजना बनाएका छन् । तर, संग्रौला आफूमा त्यस्तो उत्साह नरहेको बताउँछिन् । भन्छिन् ‘कांग्रेसको इतिहास र वर्तमानलाई ब्याख्या गरेर एउटा किताब लेख्दै छु । सोमबारदेखि त्यो पनि बन्द गरेर बसेकी छु ।

यो पनि पढ्नुहोस बुटवलमा अलपत्र मजदुरलाई प्रभाकरको पहलमा उद्धार

उनलाई घरमा मात्रै बसिरहन पनि गाह्रो भएको छ । तर, नबसी भएन । ‘घरमा बस्ने बानी नै छैन्, अब नबसी भएन । तय भएका कार्यक्रम रोकिए, पछिका पनि स्थगित हुने क्रममा छन्’उनले सुनाइन् ।

संग्रौला काठमाडौंमा बस्छिन् । उनका श्रीमान विराटनगरमा छन् ।

संग्रौला जस्तै संसददेखि बाहिरी कार्यक्रममा आफ्नो उपस्थिति देखाउन लागि पर्ने अर्की सांसद हुन विमला राई पौडेल । के कुरा उठाउँदा संसदमा चर्चा पाइन्छ भन्ने उनमा चिन्ता हुने गरेको पाइन्छ ।

अर्कोतर्फ एनजीओ आइएनजीओका कार्यक्रमदेखि विविधखाले कार्यक्रमहरुमा समय दिने, एकदमै व्यस्त सांसदहरुमध्ये एक हुन् पौडेल । कोरोनाका कारण उनी पनि ललितपुरस्थित घरमै सेल्फ क्वारेन्टाइनमा छिन् ।

‘घरमै बस्ने, परिवारसँग रमाउने, करेसाबारीमा काम गर्ने । फुर्सद मिलेर किताब पढ्दै छु, समाचार हेर्दैछु अनि आर्टिकल लेख्दै छु । सरकारलाई सहयोग सबैले यसै गरे हुन्छ’ पौडेलले अनलाइनखबरसँग भनिन् ।

सेल्फ क्वारेन्टाइनबाटै मतदाताहरुसँग कुरा …

जुम्लाबाट निर्वाचित संघीय सांसद गजेन्द्रबहादुर महत भक्तपुरस्थित डेरामा सेल्फ क्वारेन्टाइनमा छन् ।

विगतमा अलिक लामो समय संसद बैठक नचल्ने भएपछि जिल्ला गइहाल्थे । तर, यसपटक कोरोना भाइरसका कारण पुरै नेपाल लकडाउन हुँदा उनी भक्तपुरमा छन् । ‘लकडाउन हुने अन्दाज त थियो तर हाउस (प्रतिनिधि सभा) १३ गतेलाई बोलाइएको छ । जिल्ला गइहाल्न मिलेन, गइएन’ महत भन्छन् ‘फुत्त जान पाएको भए हुन्थ्यो । अब यहाँ पनि ठीकै छ । यहिँबाट मतदाताहरुसँग कुरा गर्दैछु’ उनले सुनाए ।

कोरोना भइरसबाट कसरी बच्ने ? सरकारको नीति अब कस्तो होला ? लगायतका चासो र जिज्ञासा मतदाताहरुमा रहेको उनको प्रतिक्रिया छ । भक्तपुरमा उनी आमा र भान्जीसँग बस्छन् ।

कतिपय संघीय सांसदहरु भने मोबाइल अफ गरेर बसेका छन् ।

दार्चुलाबाट निर्वाचित सांसद गणेश ठगुन्नाको दुई वटा नम्बर संघीय संसद सचिवालयको टेलिफोन डायरीमा उल्लेख छ । तर, दुबै अफ छन् । यस्तै, सांसद झपट रावलको मोबाइल पनि अफ छ । रावल मिडियामा आउन रुचाउने सांसद हुन् । तर, यो बेला उनी मोबाइल अफ गरेर बसेका छन् ।

शीर्ष नेताहरु पनि उपत्यकामै सेल्फ क्वारेन्टाइनमा छन् । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा सेल्फ क्वारेन्टाइनमा छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेता तथा सांसदहरु आ-आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा छन् ।

१३ गतेको हाउस सूचना टाँसेर स्थगित

प्रतिनिधि सभाको बैठक यही १३ गतेका लागि बोलाइएको छ । संसद सचिवालयका अनुसार १३ गतेको बैठक सूचना टाँसेर स्थगित हुनेछ ।

अर्को बैठक कहिले बोलाउने भन्ने बारे केही भएको छैन् । ‘लकडाउनको समय लम्बिन सक्छ । नलम्बिए पनि परिस्थिति के हुन्छ त्यो हेरेर मात्रै निर्णय लिनुपर्ने हुन्छ’ सचिवालयका कर्मचारीहरु बताउँछन् ।

सरकारले अधिवेशन नै अन्त्य गर्ने भन्छ कि ? भन्ने पनि संसद सचिवालयलाई लागेको छ ।

राष्ट्रपतिबाट अधिवेशनको अन्त्य सम्बन्धी पत्र आउछ कि भनेर यहि चैत ७ गते राष्ट्रिय सभाको बैठक बोलाइएको थियो । तर, अधिवेशनको पत्र नआएपछि राष्ट्रिय सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने र उक्त सिफारिसलाई राष्ट्रपतिले संसदमा पठाएपछि उक्त पत्र बाचन गरेर अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment