Comments Add Comment

प्रदेश २ मा तोकियो कोरोना उपचार स्थल

११ चैत, जनकपुरधाम। प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा कोरोना भाइरस संक्रमण रोक्न व्यवस्थापन समिति गठन गरेको छ । मंगलबार बसेको सरोकारबालाहरुको बैठकले मन्त्री साहको संयोजकत्वमा समिति गठन गरिएको हो ।

बैठकले वीरगञ्जस्थित केडिया टेन्टल क्लिनिक, रौतहटको गौरस्थित होटल सिया पैलेस र गौर नर्सिङ्ग इन्स्टिच्यूट, धनुषाको मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र नगराइनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । तोकिएका क्वारेन्टाइन स्थलहरु सबै तयार भइसकेको मन्त्री साहले बताए ।

सप्तरीको रुपनी गाउँपालिकास्थित प्रहरी अस्पताल र जनकपुरधामस्थित मणिपाल मेडिकल कलेजको भवनलाई व्यवस्थित गर्दै क्वारेन्टाइन बनाउने तथा आवश्यक्ता अनुसार अन्य स्थानमा समेत क्वारेन्टाइन केन्द्रहरुको सम्भाव्यता अध्ययन गर्दै सञ्चालनमा ल्याउने निर्णय समेत बैठकले गरेको छ ।

कोराना संक्रमितका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी मेडिकल कलेजको सिटी हस्पिटलाई उपचारका लागि तोक्ने निर्णय गर्दै बैठकले सबै जिल्ला अस्पताललाई १० बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने जनाएको छ ।

कोरोनाका शंकास्पद व्यक्तिहरुलाई एम्बुलेन्स सेवा तथा क्वारेन्टाइन केन्द्रहरु र अस्पतालहरुलाई सुरक्षा व्यवस्थाको लागि जिल्ला प्रशासनलाई अनुरोध गर्ने र आवश्यक उपकरण, औषधि सामग्रीका लागि अन्तर्राष्ट्रिय संघसंस्थालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई तत्काल कोरोना टेस्टका लागि तयार गर्न तदारुकताका साथ काम गर्ने तथा बिभिन्न क्वारेन्टाइन केन्द्रहरु तथा अस्पतालहरुलाई आवश्यक पर्ने सम्पूर्ण उपकरण, औषधिको आपूर्तीका लागि प्रदेश सवास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment