Comments Add Comment

कोरोनाको संक्रमण टी–२० म्याच होइन : इमरान खान

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई नियन्त्रणका लागि अहिले पाकिस्तान लकडाउनमा छ । कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म १३ जना मानिसको ज्यान गइसकेको छ भने एक हजार पाँच सयभन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।

भाइरस नियन्त्रणमा ल्याउन सेनाको प्रयोग गरिएको छ । साथै ठूलो आर्थिक सहायता प्याकेज पनि घोषणा गरिएको छ । पाकिस्तानको उर्दू पत्रिका ‘जंग’ का अनुसार बुधबार पाकिस्तानले १२ खर्ब पाकिस्तानी रुपैयाँको आर्थिक सहायता प्याकेज घोषणा गरेको हो ।

यो प्याकेज घोषणा गर्ने क्रममा प्रधानमन्त्री इमरान खानले अहिले यो निर्णय नगरिए मुलुक नै ध्वस्त हुन सक्ने बताएका थिए । उनले यो भाइरसको संक्रमण टी-२० म्याच जस्तो छिटै नसकिने र यो संक्रमण छ महिनासम्म पनि चल्नसक्ने उल्लेख गरे ।

पाकिस्तानलाई सबैभन्दा ठूलो खतरा कोरोना भाइरस नभई त्यसको डरका कारण गलत फैसला गर्ने मानिसको भएको उल्लेख गरेका छन् ।

लकडाउनले सबैभन्दा धेरै क्षति गरिब र दैनिक मजदुरी गर्ने मानिसलाई हुने भएकाले उनले टाइगर्स फोर्स गठनको भइरहेको बताए । यसले त्यस्ता मानिसको घरघरमा खाना पुर्‍याउनेछ ।

अर्थतन्त्रमा असर

कोरोना भाइरसको असर पाकिस्तानको अर्थतन्त्रमा पनि देखिएको छ । सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ भने पाकिस्तानी मुद्रा पनि निरन्तर कमजोर बनिरहेको छ । पत्रिकामा उल्लेख गरिएअनुसार एक अमेरिकी डलरको भाउ एक सय ६६ पाकिस्तानी रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री खानले विदेशमा रहेका पाकिस्तानीसँग आर्थिक सहयोगको अपिल गरेका छन् । उनले सरकार एक्लैले यो युद्ध जित्न नसक्ने भन्दै समुद्रपारी रहेका पाकिस्तानीलाई सहयोगका लागि आग्रह गरेका हुन् ।

पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग पनि आपतकालीन कोष दिन आग्रह गरेको छ । आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले यस विषयमा आईएमएफले विचार गरिरहेको बताएकी छिन्।

पाकिस्तानलाई सहयोग गर्दै चीन

सार्कका मुलुकले पनि एकअर्काको सहयोग गरिरहेका छन् । यस विषयमा सार्क मुलुकका स्वास्थ्य विशेषज्ञ र अधिकारीले भिडियो कन्फ्रेसिङको माध्यमबाट बैठक बसेका थिए ।

अहिले चीनले पनि पाकिस्तानलाई सहयोग गरिरहेको छ । पाकिस्तानी अखबार नवा-ए-वक्तका अनुसार चीनले ५८ हजार कोरोना टेस्टिङ किट र लाखौं मास्क पाकिस्तान पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment