Comments Add Comment

यस्तो गाउँ, जहाँ केवल एकजना महिला मात्र बस्छिन्

आमरुपमा गाउँ जतिधेरै सानो होस् कम्तिमा सय दुईसय जना मानिस त बसेकै हुन्छन् । तर दुनियाँमा एउटा यस्तो गाउँ पनि छ जहाँको जनसंख्या केवल एकजना मात्र रहेको छ । अर्थात् उक्त गाउँमा केवल एकजना महिला मात्रै बस्दछिन् । र, ती महिला पनि निकै वृद्ध छिन् ।

एउटा गाउँमा सिँगै एक्लै बस्ने ती महिलाको कहानी निकै अनौठो छ ।

उक्त गाउँको नाम हो मोनोवी । अमेरिकाको नेब्रास्का राज्यमा यो गाउँ रहेको छ ।

सन् २०१० को जनगणना अनुसार उक्त गाउँको जनसंख्या केवल १ छ । सो गाउँमा बस्ने एकमात्र महिलाको नाम एल्सी आइलर हो । उनको उमेर ८६ वर्ष छ ।

८६ वर्षकी एल्सी नै उक्त गाउँकी सबैथोक हुन् । सन् २००४ देखि उनी सो गाउँमा एक्लै बस्दै आएकी छिन् ।

करीब ५४ हेक्टर क्षेत्रफलमा फैलिएको यो गाउँमा पहिले धेरै जनसंख्या थियो । सन् १९३० सम्ममा त्यहाँ १ सय २३ जना मानिस बस्दथे । त्यसपछि विस्तारै जनसंख्या घट्न थाल्यो । सन् १९८० मा आउँदा गाउँमा केवल १८ जना मात्र मानिस बँचे । सन् २००० मा आइपुग्दा त गाउँको जनसंख्या २ मा झर्यो । ती दुईजनामा एल्सी र उनका पति रुडी आइलर थिए ।

सन् २००४ मा एल्सीका पति रुडीको मृत्यु भयो । त्यसपछि एल्सी एक्ली भइन् । तर उनी कतै बसाइ सरिनन् । त्यसयता गाउँमा एक्लै बस्दै आएकी छिन् ।

एल्सीले गाउँमा एउटा बार चलाउँछिन् । उनको भट्टीमा मदिरा चाख्नका लागि अमेरिकाका अन्य राज्यहरुका साथै विभिन्न देशका पर्यटक समेत त्यहाँ आउँदछन् । पर्यटकहरु उक्त गाउँमा आएर बस्दछन् र प्राकृतिक सुन्दरताको आनन्द लिन्छन् पनि ।

एल्सीले आफ्नो बारमा सहयोगका लागि कोहीपनि कामदार राखेकी छैनन् । उनीकहाँ आउने ग्राहकले नै उनलाई सघाउँछन् ।

उक्त गाउँमा एउटा हुलाक कार्यालय भवन पनि छ, जुन सन् १९०२ मा स्थापना भएको थियो । तर घट्दो जनसंख्याका कारण सन् १९६७ देखि कार्यालय बन्द भयो ।

रोजगारी तथा बालबच्चाको पढाइका लागि गाउँका मानिसहरु अन्यत्र बसाइ सर्नाले सो गाउँको जनसंख्या लोप हुने चरणमा पुगेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment