Comments Add Comment

श्रीमानलाई मदिराको लत, घरबार बर्बाद

मदिरा एवं खैनी–चुरोटको लत लागेकाहरुलाई कुनै उपदेश, अर्ति, गालीले काम गर्दैन । तपाईंले पुराण नै सुनाएपनि मदिरा सेवन गर्नेहरु त्यसको लत छाड्दैनन् । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झै अनेक बहाना गरेर पिउन बस्छन् ।

तपाईंले उनीहरुलाई मदिराको अवगुणबारे बखान गर्नुहोस्, एकछिन सुने र बुझे जस्तो गर्छन् । तर, मदिरा देख्नसाथ ¥याल काड्न थाल्छन् ।

तपाईंले उनीहरुलाई मदिराको भयानक असरबारे सुनाइदिनुहोस्, एउटा कानले सुन्छन् र अर्को कानले उडाउँछन् ।

तपाईंले उनीहरुलाई मदिराले आफु र परिवारले भोगिरहेको पिरलो सुनाउनुहोस्, एकछिन गंभिर भएजस्तै गर्छन् । मदिरा देख्नसाथ छेपारोको रंग झै बद्लिन्छन् ।

जब–जब  मदिराको दुर्गुणबारे कुरा गर्न सुरु गर्नुहुन्छ, तपाईंका श्रीमान मुन्टो बटार्न थाल्छन् । हाई काड्न थाल्छन् । मोवाइल वा पुस्तकमा ध्यान दिए झै गर्छन् । जुरुक्क उठेर हिँड्छन् । रिसाएर बटारिन्छन् ।

तपाईंका श्रीमान पक्कै अनभिज्ञ छैनन् कि, ‘मदिरा स्वास्थ्यका लागि हानिकारक छ ।’ मदिरा पिउनेहरु वा खैनी–चुरोट च्याप्नेहरु, सबैलाई थाहा छ कि यी खराब हुन् । मदिरा, चुरोट एवं खैनीले खल्ती रित्याउने काम मात्र गर्दैन स्वास्थ्यलाई नोक्सानी पनि ।

तर, मदिरा एवं चुरोटको बानी लागेकाहरु यसको तलतल मेट्न मरिहत्ते गर्छन् । त्यही कारण उनीहरु कहिले घरबाहिरको रमझममा हराउँछन् त कहिले घरलाई भट्टी जस्तै बनाइदिन्छन् ।

एउटा ठट्यौली छ, ‘मदिरा स्वास्थ्य र स्वास्नी दुबैका लागि हानिकारक छ ।’ अक्सर पुरुषहरुमा मदिरा र चुरोटको लत हुन्छ । उनीहरु मदिरा र चुरोटको स्वादमा रमाउँछन् । तर, उनीहरुको स्वास्थ्यलाई जति खराब गरिरहेको हुन्छ, उत्तिकै पिरोलिइरहेको हुन्छ, परिवारलाई । खासगरी श्रीमतीलाई । बालबच्चालाई । र, बुढा बुवाआमालाई ।

यसको साइड इफेक्ट उनको शरीरदेखि श्रीमती, बालबच्चा परिवार हुँदै समुदायसम्म पर्छ । अर्थात एउटा जड्यहा व्यक्तिको असर समाजले समेत भोग्नुपर्ने हुन्छ । मदिराको सुरमा उनीहरुले गर्ने हर्कतले समाजलाई विकृत बनाइदिन सक्छ ।

यतिबेला कोरोना भाइरसको कारण सबैजना घरभित्रै समेटिएका छन् । परिवारका सदस्यहरु आपसमा भलाकुसारी गर्न पाएका छन् । बाहिर हिँडडुल गर्न मनाही छ । किनमेलका लागि बजार खुला छैन । यसले मदिराका लत भएका श्रीमानहरुलाई पनि ठेगान लगाइदिएको छ । उनीहरुले खुलमखुला मदिरा खरिद गर्न र सेवन गर्न पाइरहेका छैनन् । यसको सकारात्मक प्रभाव, घरमा खुसीयाली छाएको छ ।

यही खुसीयालीमा तपाईंहरुले पारिवारिक चर्चाको विषय बनाउन सक्नुहुन्छ, मदिरालाई । खासगरी आफ्ना श्रीमानले मदिरा सेवन गरेको बखत आफुहरुले के कस्ता दशा भोग्नु परेको थियो ? कहाँ कसरी लज्जित हुनुपरेको थियो ? कति रात जागा रहनुपरेको थियो ? बालबच्चालाई कसरी सम्हाल्नु परेको थियो ? विस्तारमा यसरी सुनाउनुहोस् कि त्यो अहिले समय कटाउने खुराक पनि बनोस् ।

साथसाथै आफ्ना परिवारका सदस्यको भोगाई पनि सुनाइदिनुहोस् । श्रीमान मदिराले मस्त भइरहँदा एउटी श्रीमतीको मनोदसा कस्तो हुन्छ ? श्रीमान मदिरा सेवन गर्दै साथीभाईसँग रमझम गरिरहँदा साथै खाना खान कुरेर बसेकी श्रीमती कति पिरोलिएका हुन्छिन् ? कतिबेला बुवा आइपुग्छन् र खेल्न पाइएला भनेर पर्खिरहेका बालबच्चाहरु कति दुःखी हुन्छन् ? यी सबै अनुभव र अनुभूति सुनाइदिनुहोस् ।

तपाईंले यो नभन्नुहोस् कि, ‘अब मदिरा खान छाड्नुहोस् ।’ किनभने तपाईंको यस्तो भनाईंले उनमा कुनै प्रभाव रहँदैन । तपाईंको प्रयास व्यर्थ हुनेछ ।

मदिराले स्वास्थ्यमा हानी गर्छ, यसको असर यस्तो हुन्छ भनेर बेलीबिस्तार लगाइरहनु पनि आवश्यक छैन । तर, आवश्यक छ, श्रीमानले मदिरा पिएको बेला तपाईंको मनोदसा कस्तो हुन्छ ? तपाईंको मन कति पिरोलिन्छ ?

कहिले काहीँ मदिरा सेवन गरेर श्रीमान बाटोमा अलपत्र पर्छन् । मध्यरात घर आइपुग्छन् । घरमा आएर झगडा गर्न थाल्छन् । यसले पारिवारिक माहौल कसरी विथोलिन्छ ? सुनाइदिनुहोस् ।

तपाईंले अर्ती नदिनुहोस् । केवल आफ्नो भोगाई मात्र सुनाइदिनुहोस् ।

श्रीमानसँगै हिँडेको बेला तपाईं कतिपय अवस्थामा लज्जित हुनुभयो होला । साथीभाईले हेयका दृष्टिले हेरे होलान् । श्रीमानले मदिराकै लागि मरिहत्ते गरिरहँदा तपाईंका साथीसंगीले कुरा काटे होलान् । त्यस्तो अवस्थामा तपाईंले कसरी आफुलाई सम्हाल्नुभयो ? बालबच्चालाई कसरी सम्झाउनुभयो ? घर परिवारलाई कसरी व्यवस्थित बनाउनु भयो ? सुनाउन सक्नुहुन्छ ।

तपाईंको कथाव्यथा सुनिसकेपछि श्रीमानले भन्न सक्छन्, कहिले काहीँ त हो नि । यसो साथीभाईसँग त हो नि । यसो मुड चलेको बेला मुड खराब भएको बेला त हो नि । अथवा यसो थोरै जिब्रो भिजाउनका लागि त हो नि ।

कहिले काहीँ होस् वा थोरै, मदिराले असर गर्छ नै । थोरै मात्रामा वा नियन्त्रित मात्रामा मदिरा सेवन गर्दा कुनै असर गर्दैन भन्ने तर्क वैज्ञानिक छैन । यो मनगढन्ते तर्क हो । किनभने चाहे थोरै होस् वा धेरै, मदिराको सोझो असर कलेजोमा पर्छ ।  थोरै मात्रामा मदिरा सेवन गरिन्छ भने त्यसको असर अलि लामो समयमा देखिनेछ । यदि धेरै पिउने बानी छ भने त्यसको असर तुरुन्तै वा चाडै देखिनेछ । जतिसुकै होस्, मदिराले हानी गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment