Comments Add Comment

महामारी निम्त्याउने भाइरस र तापक्रमको असर

चीनमा कोरोनाको उत्पत्ति कसरी भयो ? नेपाल र भारतको स्रोत के हो ?

भाइरस भनेको के हो ?

भाइरस भनेको साधारणतया अति सुक्ष्म वस्तु हो । सबैले यसलाई जीव मान्दैनन् । किनभने, जीव हुन कम्तिमा एउटा आफ्नै कोष वा सेल चाहिन्छ । तर, भाइरसमा डीएनए वा आरएनए मात्र हुन्छ, यसमा पूरा कोष हुँदैन ।

जीव हुन आफ्नै खाना बनाई, खाई, वंश सञ्चालनका लागि निश्चित जीवन चक्र चाहिन्छ । ब्याक्टेरियासम्मले यस्तो गर्छ । ब्याक्टेरिया भनेको भाइरस भन्दा कयौं गुणा ठूलो हुन्छ । धेरैजसो ब्याक्टेरिया एउटा कोषको हुन्छ । भाइरसले न खाना उत्पादन गर्छ, न सास फेर्छ, न निश्चित जीवन चक्रमा हिँड्छ ।

त्यसैले विज्ञानको एक पक्षले यसलाई जीव मान्दैन, यसलाई एउटा वस्तु मात्र मान्छ । तर, यस पृथ्वीमा खर्बौं खर्ब किसिमका भाइरसहरू छन् । ती सबै यति साना छन् कि हाम्रो बुढीऔंलाको आयतनमा अर्बाै अर्ब भाइरस अट्छन् ।

मान्छे पृथ्वीमा आउन भन्दा अगाडि अरु जीवहरूसँगै भाइरस पनि आए । तर, भाइरसको आफ्नै जीवन वा अस्तित्व हुँदैन । भाइरस रुख, विरुवा, चरा, जंगली जनावर वा घरपालुवा जनावर, ब्याक्टेरिया वा मानिसको शरीरमा पस्छ र आफू बाँच्छ ।

भाइरसको अरुको शरीरभित्र बाँच्ने तरिका गज्जपको छ । हाम्रो जीउमा पसेपछि पनि यसलाई बाँच्न हाम्रो कोषभित्र जानुपर्छ । होइन भने यसले खाना पाउँदैन र केही समयमा मर्छ । त्यसैले अरु जीवसँगको सहअस्तित्वमा भाइरस पनि बाँच्छ ।

मानिसको छाला, नाक, कान, केश, पेट आदि ठाउँमा करोडौं करोड भाइरस बस्छन् । सबैभन्दा बढी आन्द्रामा त खर्बाै खर्ब हुन्छन् । ती सबै भाइरस अरु जीवको शरीरभित्र सहअस्तित्वका आधारमा रहेका हुन्छन् । तर, कुनै–कुनै भाइरस हाम्रा लागि निकै खराब हुन्छन्, जस्तै बिफर, दादुरा, सार्स र मार्सका भाइरसहरू ।

हामीले भाइरसको साइज हेर्‍यौं भने अधिकांश भाइरस १ माइक्रो मिटरभन्दा सानो (०.२ देखि ०.४) हुन्छ । १ मिलिमिटरमा १००० माइक्रो वा माइक्रो मिटर हुन्छ । १ सेमिमा १० मिलिमिटर हुन्छ । तसर्थ हामी यसलाई नाङ्गो आँखाले देख्दैनौं ।

हाम्रो शरीरमा धेरै किसिमका खर्बांै खर्ब भाइरस, लाखौं ब्याक्टेरिया, ईस्ट, प्रोटोजोआ आदि बस्ने गरेकाले हाम्रो शरीर भाइरसका लागि एउटा इकोसिष्टम हो ।

भाइरस कसरी सर्छ ?

जब भाइरसले मान्छेलाई आक्रमण गर्छ, भाइरससँग लड्ने क्रममा मान्छेको ईम्युन सिष्टम (प्रतिरक्षा प्रणाली) ले भाइरसलाई बिरामी मानिसको शरीरबाट बाहिर पठाउन भौतिक शक्ति पनि प्रयोग गर्छ ।

जस्तै हाछयुँ गरेर फोक्सोलाई खुम्चाउने र फुलाउने गरेर भाइरसलाई बाहिर फाल्छ । खोकी निकालेर पनि भाइरस बाहिर फाल्न खोज्छ । पानी वा विषालु पानी (नुनिलो वा गन्हाउने) नाकबाट निकालेर पानीले फ्लस गर्न खोज्छ वा गर्छ । यही प्रक्रियामा बिरामी मानिसको शरीरले करोडौं भाइरस बाहिर निकाल्छ र आफ्नो वरिपरि बसेका निरोगी मानिसहरूलाई रोग वा रोगका भाइरस सार्दै जान्छ ।

महामारी कसरी हुन्छ ?

कुनै पनि रोगको ब्याक्टेरिया वा भाइरस कम समयमा धेरै मानिसलाई सर्‍यो भने एकैपटक धेरै मान्छेहरू बिरामी हुन्छन् र बिरामीमध्ये कसैको ज्यान पनि जान सक्छ ।

ब्याक्टेरियाबाट महामारी फैलिन साधारणतया पानीबाट रोग सर्छ । भाइरसवाट महामारी हुन सो भाइरस बिरामी भएको मान्छेको शरीरबाट एरोसोल (थुक, सिंगान आदि) को रुपमा बाहिर आउँछ अनि सिधा निरोगी मान्छेको शरीरभित्र प्रवेश गर्छ । वा, भाइरस हावाको माध्यम भएर कम समयमा धेरै निरोगी मानिसहरूको जीउमा एकैपटक प्रवेश गर्छ । अनि एकैपटक धेरै मानिस बिरामी पर्छन् र रोगले महामारीको रुप लिन्छ ।

चीनमा कोरोना भाइरस कसरी उत्पन्न भयो ?

चरा, जनावर, माछा, मान्छेका जिउमा लाखौं ब्याक्टेरिया, अन्य माइक्रो अरगानिजम र करोडौं अरबौं भाइरस हुन्छन् । उक्त जीवको जीवन समष्टिगत इकोसिष्टमको प्रमुख भाग हो ।

जब यो जीव मर्छ वा मारिन्छ, मर्‍यो भने उक्त इकोसिष्टमका अरु कम्पोनेन्टहरू अनियन्त्रित रुपमा तितर–वितर हुन्छन्, भाइरस, ब्याक्टेरिया आदि पनि तितर–वितर हुन्छ । जस्तो– पृथ्वीको गुरुत्वाकर्षणले समुद्रको पानीलाई हलचल हुनबाट नियन्त्रण गर्छ । तर जब सुनामी आउँछ, गुरुत्वाकर्षणले आफ्नो नियन्त्रण गुमाउँछ, अनि समुद्रको पानी बौलाएर यत्रतत्र हिँड्छ । तसर्थ यस्तो बौलाहापन रोक्न सबै इकोसिष्टमहरूलाई सन्तुलित रुपमा राख्नु अनिवार्य हुन्छ ।

इकोसिष्टम असन्तुलित भयो भने वा जीवहरू मारियो भने यसमा भएको भाइरस यत्रतत्र छरिएर अर्को भाइरससँग मिलेर नयाँ म्युटेटेड खतरनाक भाइरस बनिने डर हुन्छ ।

सय÷दुई सय वा हजार वा लाखपटक जीव मार्दासम्म सायद यस्तो खतरनाक म्युटेशन हुँदैन होला । तर, जब करोडौं पटक जीव मारिन्छ, जस्तै– अहिले संसारमा हरेक दिन करोडौं कुखुरा मारिन्छ । अनि यस्तो खतराको सम्भावना निकै बढछ । यसैले बर्ड फ्लु भाइरस म्युटेट भएर माहामारीका रुपमा आउन सक्छ भनेर पहिलादेखि नै विज्ञहरू डराइरहेका छन् ।

चीनमा कोरोना भाइरस कसरी सर्‍यो त ?

चीनको वुहानमा डिसेम्वर महिनादेखि रोग शुरु भयो र विस्तारै यो रोगले महामारीको रुप लियो । यसरी रोग सर्नुको कारण बिरामीको थुक सिधा अरु मान्छेमा गएर तथा थुकमा भएका भाइरसहरू हावाको माध्यमबाट अरुमा सरेर हो ।

जब भाइरस मान्छेको शरीरबाट निस्कन्छ, यो जीवित हुँदैन । तर, जब पुनः मानिसको शरीरभित्र गयो भने त्यसले अर्को मान्छेको शरीरभित्र पुनः जीवन प्राप्त गर्छ । अनि भाइरसको संख्या बढाएर पुनः निरोगी मानिसलाई बिरामी बनाउँछ । चीनमा यसरी भाइरसको लागि उपयुक्त वातावरणमा रोगले महामारीको रुप लिँदै गयो ।

यो भाइरस द्रुतगतिमा सर्दा वा डिसेम्बर महिनामा वुहानको तापक्रम न्यूनतम ३ डिग्री सेन्टिगे्रड र अधिकतम ११ डिग्री सेन्टिगे्रड थियो । जब यो भाइरसले फेब्रअरीमा युरोपमा महामारीको रुप लियो, त्यहाँको तापक्रम पनि वुहानकै हाराहारीमा थियो ।

जब अहिले न्युयोर्कमा यो रोग महामारीको रुप लियो, त्यहाँको तापक्रम पनि वुहानको डिसेम्वर महिनाको तापक्रमको हाराहारीमा तापक्रम रहेको छ ।

युरोप र अमेरिकामा कोरोना भाइरस कसरी सर्‍यो ?

युरोप र अमेरिकामा पनि वुहानमा जस्तै उपयुक्त वातावरणले हावाबाट समेत भाइरस सरेको अनुमान गरिएको छ । त्यसमाथि पनि भाइरसका लागि उपयुक्त तापक्रम भएका बेलामा त्यहाँ फुटवलको खेल भएर इटाली र स्पेनको टिमवीच खेल भएका बेला निकै कम समयमा संक्रमित मान्छेहरूबाट स्वस्थ्य मानिसमा रोग सरेको अनुमान गरिएको छ ।

साथै युरोप र अमेरिकामा हाल रहेको पप, डिस्को, बार, डान्सबार आदिको संस्कृतिले गर्दा पनि एक बिरामीवाट अरु मानिसहरूमा यो रोग सरेको अनुमान गरिएको छ ।

नेपालमा कोरोना भाइरस सरेको स्रोतको अनुमान के हो ?

नेपालमा कोरोना भाइरस युरोपवाट फर्केका मानिसहरूमा देखिएको छ । साथै चीन र युरोपका मानिसरूबाट रोग सारिएका दुबई, दोहा, आबुधावी आदि ठाउँको एयरपोर्टमा काम गर्ने नेपालीहरू संक्रमित भएर रोग नेपाल आएको छ ।

मध्यपूर्वका शहरहरूमा तापक्रम उच्च भए पनि त्यहाँका एयरपोर्टहरूमा भएको एयर कन्डिसनले गर्दा भाइरसलाई उपयुक्त वातावरण भएर त्यहाँबाट पनि रोग सरेको अनुमान गरिएको छ । साथै ती रोग लागेका मानिसहरूसँगै एउटै कोठामा बस्दा वा सँगै प्लेनमा बस्दा अरु स्वस्थ्य मान्छेहरूलाई रोग सरेको अनुमान गरिएको छ ।

हालसम्म नेपालमा बाहिर वा इटाली र मध्यपूर्वबाट आएका मानिसहरूमा मात्र यो रोग देखिएको छ । तर, यो रोग भोलिका दिनमा एउटै घरमासँगै बस्ने अरु मान्छेमा पनि देखियो भने आश्चर्य मान्नुपर्दैन ।

भारतमा कोरोना भाइरस सरेको स्रोतको अनुमान के हो ?

भारतमा मार्च ३० को दिनसम्म १०२४ जनालाई कोरोना पोजिटिभ भई रोग लागेको तथा २७ जनाको मृत्यु भएको सूचना सार्वजनिक भएको छ । भारतमा केही दिन अगाडिदेखि संक्रमित मान्छेहरूको संख्या विस्तारै बढेर एक हजार नाघेको हो । भारतमा हालसम्म महाराष्ट्र राज्यमा सबैभन्दा बढी, ११२ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

उच्च तापक्रमको प्रभाव कोरोना भाइरसमा कस्तो हुन सक्छ ?

एउटै प्रजातिको जीव पृथ्वीको सबै ठाउँमा त्यहीरुपले बलियो हुँदैन । किनभने, जीव बलियो वा कमजोर हुने त्यहाँको तापक्रम, आद्रता, हावाको कम्पोजिसन, पानी, खाना आदिमा भर पर्छ । पृथ्वीको फरक– फरक ठाउँमा फरक–फरक अवस्था हुने कारणले एउटै जीव पृथ्वीको सबै ठाउँमा एकैनासले बलियो हुँदैन ।

अर्को हावापानीमा पनि आफुलाई बलियो बनाउन जीवहरूले आफ्नो सह–प्रजातिहरू बनाउँदै जान्छन् । जस्तै– हामीकहाँ पाउने बाघ अति बलियो जनावर हो, यसलाई बंगाल टाईगर भनिन्छ । तर, यही बंगाल टाइगर अर्को हावापानीमा यहाँजस्तै बलियो नभएर यसले सहप्रजाति वा अर्को स्वरुप बनाउँदै जान्छ । जस्तै– जाभान टाइगर, सुमात्रान टाइगर, साइबेरियन टाइगर, मञ्चुरियन टाइगर, आदि ।

पारिस्थितिकीय सिद्धान्तका आधारमा भन्ने हो भने अर्को हावापानी वा तापक्रमका कारण कोरोना भाइरस वुहान, युरोप वा न्युयोर्कमा जस्तो बलियो नेपालमा हुँदैन । किनभने, हाल काठमाण्डौको तापक्रम २८ डिग्री सेन्टिगे्रड पुगेर वुहानको डिसेम्बरको तापक्रम १३ डिग्री भन्दा निकै माथि पुगिसकेको छ । होइनभने यो भाइरसले नयाँ वातावरणमा बाँच्न आफ्नो स्वरुप वा स्टेन परिवर्तन गर्नुपर्छ, जुन कम समयमा सम्भव छैन ।

बढी तापक्रमले भाइरसलाई सिधा नकारात्मक प्रभाव पर्ने कारण उच्च तापक्रममा भाइरसको बाहिरी आवरण, जसलाई भाइरोन भनिन्छ, यो बाक्लो बोसो वा फ्याटबाट बनेको हुन्छ । उच्च तापक्रमले यो भाइरोनलाई कमजोर वा अनस्टेबल बनाउँछ ।

कसैले भारतका विभिन्न शहरहरू बढ्दै गएको संक्रमितहरूको संख्याका कारण तापक्रमको प्रभाव भारतमा परेको छैन, नेपालमा कसरी पर्छ भनी तर्क प्रस्तुत गरेको देखियो ।

तर, यथार्थ कुरा भारत सरकारले कोरोनाको महामारी फैलिएपछि ईरान, चीन, इटालीबाट १५८४ जनालाई संकटकालीन एयर लिफ्ट गरेको छ । ती ठाउँहरू र मध्यपूर्वबाट आफैं घर आउने भारतीयहरूको संख्या योभन्दा ५० गुणा धेरै भएको अनुमान गरिएको छ । एयर लिफ्ट गरिएको संख्या करिब १६०० को २० गुणा मान्छे मात्र आफैं आएको माने पनि कोरोनाको महामारी भएपछि भारत फर्कनेको संख्या करिब ३३६०० हुन्छ ।

हाल भारतमा कोरोना संक्रमित पाइएका १०२४ जना मान्छेहरू अधिकांश बाहिरबाट आएका हुन् । जुन बाहिरबाट आएको अनुमानित कुल संख्या ३३६०० भन्दा निकै कम छ । प्राप्त डाटाअनुसार दिल्ली शहरमा केही दिन अगाडि संक्रमित पाइएका ३० मध्ये २३ बाहिरबाट आएका हुन् भने ७ जना संक्रमित परिवारका सदस्यहरू हुन् ।

त्यसमाथि पनि भारत सरकार र नेपाल सरकारले हालसम्म कम्युनिटी संक्रमण नभएको वा बाहिरबाट संक्रमित भएका मान्छे वा परिवारसँग सिधा सम्पर्क नभएका मानिसलाई हालसम्म यो रोग नलागेको भनेको छ ।

यसमाथि पनि बढ्दै गएको यहाँको तापक्रमले कम्युनिटी संक्रमण हुने सम्भावनालाई निकै कम गर्दै लगेको छ ।

नेपालमा हाल कोरोना पराजित हुनेमा मैले देखेका मुख्य कारण यिनै हुन् ।

तर, यो कुराको सत प्रतिशत ग्यारेन्टी कसैले पनि लिन सकिँदैन । तसर्थ अधिकतम सावधानी पनि अपनाइनु आवश्यक छ ।

भविष्यमा कोरोना भाइरसको आतंकको सम्भावना किन छ ?

कोरोनाको संक्रमण हाललाई सकिए पनि यसको सम्भावना सधैंलाई अन्त्य हुँदैन । किनभने, भाइरसको एक अंश नेपालभित्र आइसकेको छ । यो अति सानो कण भएको हुनाले हामीले सबै भाइरस देख्दैनौं । तसर्थ केही भाइरस हाम्रो घरको फ्रिज वा एसी वा जुम्ला हुम्लाको चिसो ठाउँमा रहेर बाँचिरहने सम्भावना निकै छ ।

साथै, यस्तो भाइरस पोखरीमा भएका साना किराहरू वा माइक्रो अर्गानिजममा पनि सर्ने अनि सुरक्षितरुपमा पुससम्म बस्न पनि सक्छ । यो भाइरस कुकुर, बिरालो, परेवा, काग, भंगेरा आदिको जीउभित्र बस्यो र पुससम्म बाँच्यो अनि फेरि पुस महिनामा यो भाइरस निस्क्यो भने यसले नेपालमा निकै क्षति गर्न सक्छ । किनभने, काठमाडांैको पुस (डिसेम्बर) को सरदर न्यूनतम तापक्रम ३ डिग्री र अधिकतम तापक्रम १९ डिग्री हो । काठमाण्डौंको यो तापक्रम मध्येमा कोरोना भाइरसका लागि सबैभन्दा सुहाउँदो वातावरण हो ।

तसर्थ, हाम्रा लागि निकै ठूलो खतरा भनेको आगामी पुस हो । पुसमा बज्न सक्ने खतराको घण्टीको सामना गर्न हामी सबै तयार हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment