Comments Add Comment

दीपकको गुनासो–‘करोडौ कमाउने बलिउडकर्मीसँग हाम्रो तुलना गर्नु गलत हो’

बलिउड नायक अक्षय कुमारले कोरोनासँग लड्नका लागि भारतीय प्रधानमन्त्रीले सुरु गरेको कोषमा २५ करोड दान गरे । योसँगै बलिउडका अन्य कलाकारले पनि रकम सहयोग गरेको खबर सार्वजनिक भैरहेको छ ।

बलिउड तथा साउथका कलाकारले रकम सहयोग गरेको खबर बाहिरिएसँगै नेपाली कलाकारको आलोचना सामाजिक संजालमा हुन थालेको छ । विशेषगरि, महंगो पारिश्रमिक लिने कलाकार र एउटै चलचित्रबाट करोड बढी कमाएका निर्माताहरु किन मौन छन् भन्ने खालका प्रतिक्रिया आउन थालेका छन् ।

तर, नेपाली चलचित्रको आजसम्मको इतिहासमा सर्वाधिक कमाई गर्ने ‘छक्का पन्जा’ सिरिजका निर्माता तथा कलाकार दीपकराज गिरी भने बलिउडकर्मीसँग आफूहरुको तुलना हुनु नै गलत भएको बताउँछन् ।

दीपकले भने–‘एउटै चलचित्रबाट ५० करोड बढी रकम लिने कलाकार र ३० लाख पारिश्रमिक लिने कलाकारको तुलना हुन सक्दैन । कलाकारले पनि घर चलाउन पर्छ, गाडी चढ्न पर्छ, आफूलाई मेन्टेन गर्नपर्छ । यी सबै गर्दा कलाकारसँग बर्षमा १–२ वटा चलचित्र खेलेर कहाँ पुग्छ ?’

दीपकले अगाडि भने–‘हामीलाई पनि १६ करोड कमाएको चलचित्रका निर्माताले खै सहयोग गरेको भन्छन् । सहयोग आफ्नो खुशी अनुसार गर्ने हो । कसैले कर गरेर सहयोग हुँदैन । १६ करोडमा ६ करोड हात पर्छ, २ करोड लगानी हुन्छ । ७ जना निर्मातालाई वितरण गर्दा एउटाको हातमा कती पर्छ र ? यसैले बलिउड कलाकारसँग तुलना गरेर नेपाली कलाकारलाई गाली गर्नु राम्रो कुरा होइन ।’

ठूला–ठूला उद्योगपतिले कमाएको थाहा नहुने तर कलाकारले कमाएको थाहा हुने भएकाले पनि आफूहरुले यस्तो कुरामा बढी आलोचना भोग्नु परेको दीपक बताउँछन् । दीपकले भने–‘कोरोना राहत कोषमा सहयोग गर्ने बेला अहिले नै भएको छैन । अहिले, हामी चलचित्रकर्मीले प्राविधिकहरुलाई सहयोगको बिषयमा पहिला सोच्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment