Comments Add Comment

नारायणी अस्पतालमा २० बेडको आइसोलेसन वार्ड थपिँदै

१९ चैत, वीरगञ्ज । कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा २४ घण्टाभित्र २० बेडको आइसोलेसन वार्ड बनाइने भएको छ ।

केन्द्र र प्रदेश सरकारले अस्पताललाई कुनै किसिमको सहयोग नगरेपछि स्थानीय स्तरमै सहयोग संकलन गरेर २० बेडको वार्ड बनाउन लागिएको हो । यसअघि नारायणी अस्पतालले ५ बेडको आइसोलेसन वार्ड तयार गरेको थियो ।

पीपीई लगायतका अन्य सुरक्षा र उपचारका सामाग्री नभएको भन्दै निजी अस्पतालले कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीलाई समेत भर्ना लिन मानिरहेकाे छैन ।

आइसोलेसन वार्ड मात्रै बनाउन ६ लाख लाग्ने र बेडसहितको व्यवस्थापन मिलाउन ९ लाख लाग्ने अनुमान गरिएको छ । वीरगञ्जका दाताहरु आइसोलेसन वार्ड बनाउन सहयोग गर्न तयार भएका छन् । अस्पतालको आकस्मिक कक्षमाथि वार्ड बनाउने काम बुधबारबाटै सुरु गरिएको छ ।
आकस्मिक कक्षको माथिल्लो तल्लामा अहिले ४ वेडको आईसीयू सञ्चालनमा छ भने अगाडी तर्फको भागमा पिलर उठाइएको भएपनि गाह्रो लगाइएको छैन । त्यही खाली ठाउँमा २४ घण्टा भित्र २० वेडको आइसोलेसन वार्ड तयार गरिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

‘२४ घण्टामा आइसोलेसन वार्ड बनाउन सके एउटा रेकर्ड नै बन्छ, त्यो भन्दा राम्रो आवश्यक पर्दा यहाँका नागरिकलाई सेवा दिन पाउँछौं,’ उनले भने, ‘ कोरोना भाइरस संक्रमणका सम्भावित बिरामीलाई उपचारमा सहज हुन्छ । आईसियूकै छेउमा भएकोले सिरियस बिरामीलाई पनि हेरचाह गर्न सकिन्छ ।’

कोरोना संक्रमण रोकथामका लागि फिभर क्लिनिक चलाउने अस्पताललाई सरकारले १० लाखको दरले सहयोग गर्ने भनिएपनि रकम आइनसकेको उनको भनाइ छ ।

कोरोना भाइरसको हल्ला चल्न थालेपछि निजी अस्पतालले ज्वरोका बिरामी नलिने हुँदा नारायणीमा चाप बढेको छ । आकस्मिक कक्षमा दैनिक आउने १ सय बिरामी मध्ये १० जना ज्वरो कै बिरामी हुने गरेको अस्पतालले जनाएको छ ।

हालसम्म नारायणीले कोरोना भाइरस संक्रमणको संकास्पद बिरामी एक जनाको मात्रै थ्रोट स्वाब संकलन गरेर जाँचका लागि पठाएको छ । त्यसको रिपोर्ट नेगेटिभ आएको मेसु डा उपाध्यायले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरुले विषम परिस्थितिमा जोखिम मोलेरै काम गरिरहेको उनको भनाइ छ ।
‘कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि हामीसँग धेरै कुरा छैन, तर स्वास्थ्यकर्मीको मनोबाल र अठोट छ, केही थान पीपीई, केही थान भिटिएम छ । ’ डा उपाध्यायले भने ।

२० वेडको आइसोलेसन वार्ड बनाउन जगदम्बा सिमेन्ट, रुंगटा वेलफेयर लगायत दाताले सहयोग गरेका छन् । दातासँग सहयोग जुटाउनका लागि पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले समन्वय गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment