Comments Add Comment

लकडाउनको बेला स्मार्ट फोन नभएको भए…

मोबाइल फोनमा इन्टरनेट, सोशल मिडिया तथा एप्सका अनेकौं खराबी होलान् र हामीले हाम्रा बच्चाहरुलाई मोबाइलबाट टाढै राख्ने हजार कोसिस गरिहन्छौं होला । तर, अहिलेको समयमा यसले न केवल मानिसहरुलाई बचाउनका लागि सहयोग मिलिरहेको छ, अर्थव्यवस्थालाई पनि यसैले साहारा दिइरहेको छ ।

स्मार्टफोन तथा सामाजिक सञ्जाललाई लिएर हामीलाई प्राय: चेतावनीले भरिएका सल्लाह दिने गरिन्छ । तर, आजको यो परिस्थितिमा जब हामी एउटा महामारीको सामना गरिरहेका छौं, यो बेला मोबाइलले नै धेरै वटा जीवन बचाइरहेको छ भन्ने कुरा पनि हामीले बिर्सनुहुँदैन ।

एकपटक सोच्नुहोस् त, यदि यो महामारी सन् २००५ को बेला आएको भए के हुन्थ्यो होला ? त्यति बेला न त तीब्र गतिको ब्रोडब्याण्ड थियो न त स्मार्टफोन । न त आजको जस्तो टुल्स तथा एप्स नै थिए । त्यो बेला यदि हाम्रो सामना यो महामारीसंग  भएको भए सायद हाम्रो मुस्किल अहिलेकोभन्दा कैयौं गुणा बढी हुन्थ्यो होला ।

अमेरिकी राष्ट्रपति केनेडीलाई गोली हानेर हत्या गरिएको खबर होस् कि बर्लिनको पर्खाल ढलेको घटना नै होस् अथवा सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारीको आक्रमण नै किन नहोस् । यद्यपि, दैनिक जीवनमा जति ठूला प्रभाव अहिलेको यो कोरोना नामको महामारीले पारिरहेको छ, माथि उल्लेखित कुनै पनि घटनाले पार्न सकेको थिएन ।

अहिले हामी भिडियो-कन्फ्रेन्समार्फत् आफ्ना सहयोगीहरुसँग कुराकानी गर्नसक्छौं । फेसटाइममार्फत् काठमाडौंको एउटा घरबाट लण्डनको एउटा फ्ल्याटमा बसोबास गर्ने आफ्नो नातेदारसँग सजिलै कुराकानी गर्न सक्छौं । आफ्नो सामाजिक सञ्जालमा पल-पलको अवस्थाका बारेमा लेख्न सक्छौं । तर, यदि यो भाइरस सन् २००५ मा स्मार्टफोनको लहर चल्नुभन्दा ठिक अघि आएको भए पक्कै पनि परिस्थिति बेग्लै हुने थियो ।

आज हामी अलग-अलग कामहरुका लागि जति धेरै डिजिटल प्रविधिहरु प्रयोग गर्छौं। त्यो बेला सायदै कुनै पनि टुलहरु उपलब्ध थिए होला । फेसबुक त्यो बेला केवल एक वर्षको भएको थियो । तर, त्यो अमेरिकाको एउटा कलेजबाट प्रारम्भ भएको थियो र त्यो वर्ष केवल वेलायतको विश्वविद्यालयसम्म मात्र पुगेको थियो ।

इन्स्टाग्राम तथा ह्वाट्सएपका बारेमा कसैले सोचेका पनि थिएनन् होला । सामाजिक सञ्जालको बारेमा चर्चा त परको कुरा थियो । त्यसो त कतिपय मानिसहरु फ्रेन्ड्स रियुनाइडेटको माध्यमबाट आफ्ना पुराना साथीहरुसँग त्यो बेलामात्र सम्पर्कमा रहनसक्थे, जसलाई आईटीवीले सन् २००५ मा किनेको थियो ।

त्यही वर्ष युट्युबको जन्म भएको थियो । त्यसको अर्को वर्ष ट्विटर आयो । सन् २००७ मा एप्पलले आफ्नो पहिलो आईफोन सार्वजनिक गर्‍यो ।

आजभन्दा ठिक १५ वर्षअघि करिब ८० लाख घरहरुमा ब्रोडब्याण्ड कनेक्सन थियो । उनीहरुको डेस्कटप कम्प्युटर १० एमबीपीएस (मेगाबाइट पर सेकेण्ड) को अधिकतम स्पिडमा चल्न सक्दथ्यो । त्यसको अर्थ के हो भने एउटा एल्बम डाउनडोल गर्नका लागि करिब डेढ मिनेटको समय लाग्थ्यो । करिब ७० लाख परिवार त्यो बेला डायल–अप कनेक्सनको माध्यमबाट निकै सुस्त इन्टरनेटसँग जोडिएका थिए ।

यसको अर्थ के हो भने जुन सेवाहरु आज हाम्रा लागि अति नै जरुरी छन् । त्यो बेला त्यसको बीउ मात्र रोपिँदै थियो ।

लकडाउनले रोकिएन व्यवसाय

स्काइपको थालनी सन् २००३ मा एस्टोनियाका आन्त्रप्रेन्योर्सले गरेका थिए । तर, त्यो केवल एउटा इन्टरनेट टेलिफोनी तथा कन्फ्रेन्स-कल सर्भिस मात्र थियो । त्यसमा भिडियो सन् २००८ मा गएर जोडियो ।

यदि तपाईं त्यो बेला कसैसँग भिडियो च्याट गर्न चाहनुहुन्थ्यो भने त्यसका लागि निकै महँगो उपकरणहरुको आवश्यकता पर्थ्यो । अहिले फेसटाइम तथा ह्वट्सएपमार्फत् अहिले जो कोही आफ्ना परिवार तथा साथीहरुसँग कुराकानी गर्नसक्छ ।

हामी जुम तथा ब्लुजिन्स जस्ता सेवाहरु पनि खोजिरहेका छन् । अहिलेसम्म करिब-करिब एक्सक्लुसिभ तरिकाले व्यवसायिक ग्राहकहरुको रुपमा प्रयोग गरिने जुम पछिल्लो हप्ता एक पटक एप्पलको एप स्टोर चार्टमा टिकटकपछि दोस्रो स्थानमा आउन सफल भएको थियो ।

आज बेलायतका ९६ प्रतिशत घरहरुमा ब्रोडब्याण्ड इन्टरनेटको कनेक्सनको औसत डाउनलोड गति ५४ एमबिपिएस छ । यही कारणले लाखौं मानिसहरु आज अफिसको साटो घरबाटै काम गर्न पाइरहेका छन् ।

दुई दशकअघि अफिसभन्दा बाहिर पनि काम गर्न सकिन्छ कि भन्ने अनुमानले आज आएर साकार रुप लिएको छ । तर, यो यसकारण पनि सम्भव भयो । किनभने आज हामीसँग कनेक्टिभिटी तथा थुप्रै प्रकारका त्यस्ता टुलहरु छन् । जसले हामीलाई अफिस नै नगईकन घरबाटै काम गर्न सक्ने सुविधा प्रदान गरिरहेका छन् ।

लकडाउनले अर्थ व्यवस्थामा निकै गहिरो प्रभाव परेको कुरालाई नकार्न मिल्दैन । तर, एक पटक सोच्नुहोस् त यो अझ कति खराब हुनसक्थ्यो ?

आज बेलायतमा मात्रै अनलाइनमा आधारित दर्जनौं व्यवसायहरु फस्टाइरहेका छन् । अनलाइन सपिङदेखि टेक अवेगर्नका लागि समेत अहिले अनलाइन सेवाले बेलायतमात्र होइन संसारभरीका मानिसहरुलाई निकै सहज बनाइदिएको छ ।

लकडाउनको क्रममा शिक्षाको नयाँ बाटो

विभिन्न देशहरुमा कोरोनाको महामारीका कारण स्कुल तथा कलेजहरु बन्द हुँदा  लाखौं बालबालिकाहरु घरमा त्यसै बसेका छन् भने कसै–कसैले अनलाइनबाट पढिरहेका पनि छन् । जसकाकारण अनलाईन प्लेटफर्ममा पनि दबाब बढ्न थालेको छ ।

‘एडुटेक’ को बारेमा सन् २००५ मा पनि धेरै चर्चा भएको थियो । तर, यसको ठूलो भाग स्कूलमा आईटी सिस्टमहरु सुर्धानका लागि मात्र सीमित थियो । बालबालिकाले घरबाट नै पढ्न सक्छन् भन्ने कुरा त्यो समयमा कसैले सोचेका थिएनन् । त्यो समयमा बालबालिकासँग न कम्प्युटर थियो, न त कुनै ब्रोडब्याण्ड कनेक्सन नै।

त्यो समयको मनोरञ्जनको कु्रा गर्नुपर्दा बजारमा भर्खर मात्र फ्ल्याट स्क्रिन टेलिभिजन निस्किएको थियो । तर, ती टेलिभिजनहरु इन्टरनेटसँग कनेक्टेड थिएनन् । त्यसको अर्थ कुनै स्ट्रिमिङ सुविधा थिएन । यसको साथै अभिभावकहरुले अनलाइन योग गर्नेपनि कुनै सम्भावना नै थिएन । जसरी स्मार्टफोन र सामाजिक सञ्जालले हाम्रो जिन्दगीमा असर पारिरहेका छन्। त्यसप्रति अब आउने वर्षहरुमा धेरै चिन्ताहरु बढिरहेका छन् ।

हामीलाई के भनिएको छ भने अनलाइन मित्रताले हामी ठगिको शिकार हुनसक्छौं । आफ्नो सामुन्नेमा गरिने सम्पर्कभन्दा अर्को कुनै विकल्प छैन । दिनभरी स्क्रिनमा टाँसिरहनु स्वास्थ्यका लागि पनि राम्रो मानिँदैन ।

तर, आजको संकटलाई मध्यनजर गर्दै के भन्न सकिन्छ भने प्राविधिक टुलहरुमार्फत् नै यो संकटबाट मुक्ति मिल्नसक्छ । यदि सही तरिकाले प्रयोग गरियो भने जीवन बचाउन पनि प्रविधिले निकै महत्वपूर्ण सावित हुनसक्छ ।

(बीबीसीबाट)   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment