Comments Add Comment

धरानमा १२ जनाको रिपोर्ट नेगेटिभ

१९ चैत, विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा कोरोना भाइरसको आशंका गरिएका १२ जना बिरामीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिष्ठानमा ल्याब स्थापना भएपछि बुधबार पहिलो पल्ट १२ जनाको स्वाब परीक्षण गरिएको थियो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक एैरले प्रदेश भरिका कोरोना भाइरसको आशंका गरिएका बिरामीको संकलित स्वाब परीक्षण गर्दा सबैको नेगेटिभ आएको जानकारी दिए ।

‘प्रतिष्ठानबाट संकलित चार जनासहित १२ जनाको स्वाबको नमुना परिक्षण गरिएको थियो’ सहप्रवक्ता एैरले भने,‘परीक्षण गरिएका सबैको रिजल्ट नेगेटिभ आएको छ’। संकलित स्वाब मोरङ, झापा, सुनसरी, धनकुटा लगायतका जिल्लाबाट रहेको उनले बताए । थप तीन जना बिरामीको स्वाब परीक्षणका लागि संकलन भएको उनले बताए ।

प्रदेशभित्रका विभिन्न अस्पतालबाट कोरोना भाइरसको आशंका गरिएका बिरामीको संकलित स्वाब परीक्षणको काम सुरु भएको हो ।

एैरका अनुसार प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा.डा.नारायण भट्टराईको नेतृत्वमा कोभिड–१९ संक्रमण भए नभएको यकिन गर्न पीसीआर (पोलिमर चेन रियाक्सन) परीक्षणको काम गरिएको हो ।

यसअघि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र स्वाब परीक्षण गर्ने व्यवस्था रहेको थियो । प्रदेश १ का विभिन्न अस्पतालमा नमुना संकलन गरी प्रतिष्ठानमा परिक्षणका लागि पठाइने गरिएको छ ।

४२ जना नमुना नेगेटिभ

प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका मध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बुधबारसम्म ५४ जनाको स्वाब संकलन गरी ल्याब परीक्षण गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले अझै १२ जनाको रिपोर्ट आउन बाँकी रहेको बताए ।

बुधबारसम्म झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको स्वाब परीक्षण भएको हो ।

मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ जना गरी जम्मा ८ जनाको नमुना संकलन गरिएको प्रवक्ता डा.मेहताले बताए ।

कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेशभरि एकसय १९ जनाले अस्पतालमा नाम दर्ता गराएका छन् । आइसोलेसनमा ३ पुरुष र ६ महिलासहित ९ जना भर्ना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment