Comments Add Comment

सडकमा सुत्नेलाई कोरोनाबाट जोगाउन फाइभस्टार होटलमा राखिने

चीनबाट सुरु भएको कोरोना भाइरस महामारीको जगजगी अहिले संसारभरै फैलिइसकेको छ । संसारकै धनी युरोप तथा अमेरिकी देशहरू अहिले कोरोना महामारीबाट सबैभन्दा बढी प्रताडित बनिरहेका छन् । मुलुकहरूले आफ्ना नागरिकलाई कोरोनाबाट बचाउनका लागि अनेक खालका उपायहरू अपनाइरहेका छन् । यसैबीचमा एक देशमा कोरोनाविरुद्ध यस्तो गज्जबको काम सरकारले सुरु गरेको छ कि त्यस्तो काम हाम्रो देशमा त कल्पनाभन्दा परको हो ।

अस्ट्रेलियाको पर्थमा सरकारले सडकमा सुत्ने घरबारविहीन मानिसहरूलाई कोरोना संक्रमणबाट जोगाउनका लागि फाइभस्टार होटलमा राख्ने भएको छ ।

प्रतिव्यक्ति प्रतिरात करिब ३० हजार रूपैयाँ बराबरको रकम तिरेर सरकारले सडक मानवहरूलाई फाइभ स्टार होटलमा राख्न लागेको हो । उनीहरूलाई करिब १ महिनासम्म होटलमा राखिनेछ । सुरुवातमा करिब २० जना सडकबासीलाई प्यान प्यासिफिक नामक होटलमा राखिनेछ ।

अस्ट्रेलिया सरकारले यो परियोजनालाई ‘होटल्स विद हार्ट’ नाम दिएको छ । यस क्रममा सरकारले यस्ता मानिसहरूको खोजी गर्नेछ, जसले अहिलेसम्म आफूलाई आइसोलेट गर्न सकिरहेका छैनन् ।

त्यस्तै, घरेलु हिंसाका सिकार बनिरहेका महिला तथा मानसिक स्वास्थ्यमा समस्या भएका मानिसहरूलाई पनि फाइभस्टार होटलमा राख्ने योजना सरकारको छ ।

कोरोना संक्रमणविरुद्ध लड्नका लागि अस्ट्रेलिया सरकारले एक टास्क फोर्स गठन गरेको छ । सोही टास्क फोर्सको सुझावका आधारमा यो परियोजना सुरु गर्न लागिएको हो । यसले स्वास्थ्य सेवाहरूमा पर्ने चापमा कमी आउने विश्वास सरकारको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment