Comments Add Comment

नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

विश्व अर्थतन्त्रमा ४१ खर्ब डलर नोक्सान हुने अनुमान

२१ चैत, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२० मा नेपालको अर्थतन्त्र पाँच दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को असरको कारण नेपालको अर्थतन्त्र सुस्ताउन सक्ने एडीबीले अनुमान गरेको हो ।

यसअघि सन् २०१९ मा नेपालको अर्थतन्त्र सात दशमलव १ प्रतिशत बढेको आकलन गरिएको थियो।

एडीबीले सन् २०२१ मा भने कोभिड-१९ को महामारी सकिएपछि अर्थतन्त्रमा पुनः सुधार हुँदै आर्थिक वृद्धिदर छ दशमलव ५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।

त्यस्तै, सन् २०१९ मा चार दशमलव ६ प्रतिशत रहेको मुद्रास्फीतिदर पनि २०२० मा छ प्रतिशत पुग्नसक्ने प्रक्षेपण एडीबीको छ ।

२०२१ मा पुनः मुद्रास्फीतिदर पाँच दशमलव ५ प्रतिशतमा झर्न सक्ने उल्लेख छ ।

विश्व अर्थतन्त्रमा ४१ खर्ब डलरको क्षति

यसवर्ष नेपाललाई केन्द्रित हुनेगरी दक्षिण एसियामा आउने लगानीमा पनि उल्लेख्य कमी आउन सक्ने एडीबीले चेतावनी दिएको छ । एडीबीले एसियाको आर्थिक वृद्धिदर यस वर्ष दुई दशमलव २ प्रतिशत रहने बताएको छ । यो सन् १९९८ को वित्तीय संकटयताकै कम हो ।

एडीबीका अनुसार कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा ४१ खर्ब डलरको क्षति पुग्नेछ । शुक्रबार एडीबीले अमेरिका, युरोपलगायतका मुलुकमा देखिएको कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्रलाई नै समस्यामा पार्नसक्ने चेतावनी दिएको हो ।

डेलीमेलकाअनुसार अहिले एडीबीले गरेको आर्थिक क्षति विश्वको समग्र अर्थतन्त्रको करिब पाँच प्रतिशत बराबर हो । तर, कर्जादाताहरुले भने यो क्षति अझै धेरै हुनसक्ने बताएका छन् ।

एडीबीले यो महामारीको कारण सामाजिक र वित्तीय संकट, स्वास्थ्य स्याहार र शिक्षामा दीर्घकालीन असर पनि पर्नसक्ने उल्लेख गरेको छ । तर, त्यस्ता विषयलाई भने विश्लेषकहरुले क्षतिको आकलनमा प्रयोग गरेका थिएनन् ।

एडीबीले चीनको आर्थिक वृद्धिदर पनि यसवर्ष २ दशमलव ३ प्रतिशतमा प्रक्षेपण गरेको छ । सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६ दशमलव १ प्रतिशत थियो ।

कोभिड-१९ को कारण अहिले समग्र विश्व अर्थतन्त्र समस्यामा परेको छ । अहिले विश्वभरका एक अर्बभन्दा धेरै मानिस लकडाउनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment