Comments Add Comment

भरतपुर महानगरपालिकाले सुरु गर्‍यो विपन्न समुदायलाई राहत वितरण

२१ चैत, चितवन । लकडाउनको समयमा दैनिक गुजारा चलाउन मुस्किल परेका परिवारलाई चितवनको भरतपुर महानगरपालिकाले राहत वितरण सुरु गरेको छ।  महानगर प्रमुख रेनु दाहालका अनुसार शुक्रबार महानगरका विभिन्न वडामा राहत वितरणको काम सुरु भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट जोगाउन सरकारले लागु गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गरेर खाने र अति विपन्न समुदायलाई वडा–वडाबाट राहत वितरण गरिने नगर प्रमुख दाहालले बताइन् ।

यसका लागि महानगरले महानगरका २९ वडालाई तीन समूहमा वर्गीकरण गरेको छ । वडाध्यक्षहरुले आ-आफ्नो वडामा भएका विपन्न, गरिब र ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका घरधुरीको तथ्यांक निकालेर महानगरमा पेश गरेका आधारमा वडाहरुको समूह विभाजन गरिएको छ ।

कम गरिब र विपन्न भएका वडाहरुलाई एक लाख ५० हजार, मध्यम संख्या भएको वडालाई दुई लाख र बढी विपन्न भएका वडालाई तीन लाखका दरले राहत रकम दिइने नगर प्रमुख दाहालको भनाइ छ ।

महानगरले वडा नम्बर १, २, ३, ४, ७, १०, १२, २२ मा एक लाख ५० हजार, वडा नम्बर ५, ८, ९, ११, १८ १९, २९ मा २ लाख र वडा नम्बर ६, १३, १४, १५, १६, १७, २०, २१, २३, २४, २५, २६, २७, २८ मा ३ लाखका दरले ६८ लाख रुपैयाँ राहतमा खर्च गर्न छ । यसमा लागि महानगरको विपद कोषबाट ५० हजार, प्रदेश सरकारबाट आएको २० लाखमध्येको रकम खर्च हुनेछ ।

पाँच जना वा सोभन्दा बढी सदस्य भएका परिवारका सदस्यलाई १५ किलो चामल, दाल, नुन र तेल वितरण गर्ने योजना छ । राहत एक सातासम्म बाँडिनेछ ।

विभिन्न संघसंस्थाले सहयोग दिँदा महानगरपालिकासँग समन्वय गरेर एकद्वार प्रणालीमार्फत् जानसक्ने नगरप्रमुख दाहालले अनलाइनखबरसँग बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment