Comments Add Comment

लकडाउन प्रभावः चलचित्र प्राविधिकहरु आर्थिक संकटमा, सहयोग जुटाउँदै संघ

रमेश लामाले चलचित्रको सुटिङ सेटमा खाना पकाउन थालेको २५ वर्ष भयो । उनले पकाएको खाना नचाखेका कलाकार कमै छन् ।

यसरी सुटिङ सेटमा चुल्हो बालेर कलाकारहरुको पेट भर्दै आएका उनै रमेशलाई अहिले आफ्नो घरको चुल्हो बाल्न धौधौ पर्ने अवस्था आएको छ । परिवारको पेट कसरी भर्ने भन्ने चिन्ता परेको छ । कोरोनाको त्राससँगै चलचित्रको सुटिङ ठप्प भएपछि उनीसँग न काम छ न पैसा ।

चलचित्रको काम नहुँदा आफूलाई संकट परेको बताउँछन्, रमेश । उनले भने, ‘एक त काम छैन । अर्को, पहिले काम गरेका चलचित्रबाट पनि पैसा आएको छैन । कतिपयले चेक दिनुभएको छ । त्यो साट्न सक्ने अवस्था पनि छैन ।’

काठमाडौंमा टिक्न नसक्ने देखेर रमेश नुवाकोटको गाउँ फर्किसके । गाउँमा कम्तिमा भोकले मरिँदैन भन्ने सोचेर फर्केको उनी बताउँछन् ।

‘एकदिन काम भएन भने काठमाडौंमा बसेर खान गाह्रो हुन्छ । त्यसैले गाउँ फर्किएको हुँ,’ लामाले भने ।

अहिले रमेश मात्र होइन, अरु पनि धेरै चलचित्रका प्राविधिकहरुको अवस्था यस्तै छ। चलचित्र क्षेत्रमा नै ज्यालादारी काम गरेर परिवार पालिरहेका अर्का प्राविधिक हुन्, भरत नेपाल । विगत १५ वर्षदेखि चलचित्र क्षेत्रमा लाइटम्यानको रुपमा कार्यरत छन्, उनी ।

काम ठप्प भएपछि भरतको अवस्था पनि नाजुक बनिरहेको छ । श्रीमती र छोरासहित काठमाडौंमा बस्दै आएका भरतले कोठा भाडा तिर्न नसकेको बताए ।

‘दुई महिनाको भाडा तिर्न सकेको छैन । घरबेटीलाई फकाएर पैसा आएपछि दिन्छु भनेको छु,’ उनले भने । भरतले यहाँको परिवारलाई मात्र हेरेर पुग्दैन, गाउँमा रहेका बुबा-आमाको खर्च पनि पुर्‍याउनुपर्छ । तर, अहिले उनले आफ्नो बुबा-आमालाई पैसा पठाउने स्थिति नै छैन ।

‘अहिले त उल्टो गाउँबाट नै चामल ल्याएर खाइरहेका छौं’, भरत भन्छन् । काम भएको समय भरतले दुईतर्फकै खर्च पुर्‍याएका थिए । तर, काम रोकिएपछिको अवस्था नाजुक छ ।

आनन्दबहादुर गुर्मछान मगर ‘नन्दु’ ले २७ वर्षदेखि स्पोटब्वाईको रुपमा चलचित्रमा काम गरे । अहिले उनी उमेरले पनि ६७ वर्ष पार गरिसके । बुढो भएको भनेर उनलाई चलचित्रमा काम दिन पनि छोडिएको छ ।

केही महिना अगाडि उनले एक विदेशी चलचित्रमा काम गरेका थिए । त्यही चलचित्रबाट आएको पारिश्रमिकले आफ्नो गुजारा चलाइरहेको उनी बताउँछन्।

’विदेशी चलचित्रमा काम गर्‍यो भने राम्रै पैसा हुन्छ । केही समय अगाडि काम गरेको पैसाले अहिलेसम्म चुरोट तानिरहेको छु । नेपाली चलचित्रमा त बुढो भए भनेर लिनै छोडे,’ उनले गुनासो गरे ।

नन्दु काठमाडौंमा भाडाको कोठामा बस्छन् । श्रीमती र छोरी उनीसँगै छन् । छोराहरु रोजगारीका लागि विदेश पुगेका छन् ।

नन्दु भन्छन्, ‘कुनै समय म चलचित्रमा काम गर्थेँ, बुढीले ज्यामी काम गर्थिन् । त्यहीँबाट आएको पैसाले खाइयो, सन्तानलाई पढाइयो । अहिले छोराहरुले विदेशबाट पैसा पठाउँछन् ।’

प्राविधिक संघसँग आशा

चलचित्रका प्राविधिकहरुको साझा संस्था छ, चलचित्र प्राविधिक संघ । प्राविधिकहरुले अहिले समस्यामा परेका बेला संघबाट केही राहतको अपेक्षा राखेका छन्।

लाइटम्यान भरतले भने, ‘यत्रो समय कलाकार तथा निर्माताको लागि काम गरियो । यस्तो संकटको अवस्थामा उहाँहरुबाट सहयोगको अपेक्षा छ ।’

रमेशले पनि प्राविधिक संघबाट राहत पाउनुपर्ने बताए । ‘हामीले संघमा कार्ड रिन्यु गर्दा सकी–नसकी संघमा पैसा बुझाएका छौं। त्यो पैसाबाट भएपनि अहिले हामीलाई राहत दिनुपर्ने होइन र ?’ रमेश संघका पदाधिकारीलाई प्रश्न गर्छन् ।

नन्दु चाहिँ संघले भत्ताको व्यवस्था गर्नुपर्ने बताउँछन् ।

उनले भने, ‘यत्रो वर्ष यही क्षेत्रमा समय बिताइयो । चलचित्र बाहेक अरु सोचिएन, गरिएन । अब त काम गर्न सकिन्न । चलचित्रमा लामो समय गुजारेकालाई भत्ता दिने भन्थे, त्यसैको आशामा छु ।’

केही प्राविधिकहरुको आर्थिक अवस्था राम्रो पनि छ । जस्तो कि, साउण्डम्यान मनोज तामाङ काठमाडौंका रैथाने हुन् । त्यसैले अहिले काम रोकिदा पनि उनलाई खासै समस्या छैन ।

उनी आफूलाई भन्दापनि बाहिरबाट काठमाडौं आएर दुःख गरेकाहरुलाई संघले सहयोग गरिदे‍‍‍ओस् भन्ने चाहन्छन् । मनोजले भने, ‘मेरो त अवस्था ठिकै छ । जसले काठमाडौंमा भाडा तिरेर बस्नुभएको हुन्छ, उहाँहरुलाई चाहीँ हाम्रो संघले हेरिदिए हुन्थ्यो ।’

के गर्दैछ प्राविधिक संघ ?

अहिले प्राविधिक संघ विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका प्राविधिकहरुलाई सहयोग गर्न लागिपरिरहेको संघका अध्यक्ष पुष्कर लामाले बताए । उनले भने, ‘अहिले हामीले विभिन्न ठाउँबाट सहयोग रकम जम्मा गरिरहेका छौँ । सकेसम्म छिट्टै सहयोग वितरणमा जानेछौँ ।’

पहिलो चरणको सहयोगमा विपन्न तथा निम्न आर्थिक स्थिति भएका प्राविधिकहरुलाई सहयोग गर्ने पुष्करले बताए । उनले भने, ‘हामीलाई कसको आर्थिक अवस्था के छ ? कसले कहिलेसम्म काम गरेको छ ? को कति व्यस्त थियो ? को लामो समयदेखि बेरोजगार छ ? सबै थाहा छ । त्यही अनुसार आर्थिक स्थिति कमजोर भएकाहरु पहिचान गरेर सहयोग गर्नेछौं ।’

चुलो नै बाल्न कठिन भएका प्राविधिकहरु धेरै भएको उल्लेख गर्दै पुष्करले पहिलो चरणको राहत उनीहरुकै लागि भएको  बताए ।

प्राविधिकहरुका लागि स्वतःस्फूर्त रुपमा केही कलाकारहरुले सहयोगको घोषणा गरेका छन् । नायक पल शाहले सबैभन्दा बढी पाँच लाख रुपैयाँ दिने बताएका छन् । यस्तै, ‘छक्का पञ्जा’ टिमले एक लाख १० हजार, वर्षा राउतले ५० हजार र अन्य केही कलाकारहरुबाट पनि सहयोग आइरहेको पुष्करले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment