Comments Add Comment

पोखरामा स्थानीयद्वारा एम्बुलेन्सलाई अवरोध

कानून भन्छ–अवरोध गर्नेलाई एक वर्ष कैद सजाय

एम्बुलेन्सको बाटो छेकेका स्थानीयबासी

२२ चैत, काठमाडौं । पोखरा महानगरपालिकामा एम्बुलेन्सलाई अवरोध गरिएको छ । पोखराको ठुलीबिडीमा ग २ घ ५६८४ नम्बरको एम्बुलेन्सलाई अवरोध पुर्याइएको जानकारी आफूले पाएको वडा नम्बर २२ का वडाध्यक्ष मित्रलाल बरालले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नम्बर २२ द्वारा सञ्चालित एम्बुलेन्सलाई शुक्रबार राति लुकुन्स्वारा जाने क्रममा ठुलीबिडीबाट अगाडि बढ्न नदिइएको हो ।

ठुलीबिडीका एक स्थानीय भने लकडाउनका बेला होहल्ला हुने र घरमा रक्सीको बोटल प्रहार गरेकाले आफूले एम्बुलेन्स लगायतका कुनै पनि गाडी सञ्चालन गर्न नदिएको बताउँछन् ।

प्रहरी बोलाउन खोजेपछि मात्रै उनीहरू पछि हटेका थिए ।

वडाध्यक्ष बराल आफूले सम्झाइ बुझाइ गरेपछि स्थानीय बाटो खोल्न तयार भएको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘मैले स्थानीयलाई सम्झाइसकेको छु, अब त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाएका छन् ।’

एक वर्ष कैद सजाय हुन्छ– गृह मन्त्रालय

कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ११ औं दिनमा स्थानीयबासीले एम्बुलेन्स अवरोध गरेका छन् । एम्बुलेन्स अत्यावश्यक सेवामा पर्दछ । अत्यावश्यक सेवामा अवरोध पुर्याउनु दण्डनीय अपराध हो ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ मा यस्तो अपराध गर्नेलाई एक वर्षसम्म सजाय र एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

बाटो वा एम्बुलेन्स अवरोध गर्नेलाई संक्रामक रोग ऐन, २०२० अनुसार ६ महिनासम्म कारवाही हुने व्यवस्था छ । यस्तै, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ मा आदेश उल्लंघन गर्नेलाई प्रहरीले गिरफ्तार गर्ने र त्यसरी गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

एम्बुलेन्सलाई अवरोध पुर्याउनेलाई माथिका तीन वटै ऐनअनुसार कारवाही हुनसक्ने गृह मन्त्रालयले जनाएको छ । एम्बुलेन्स अवरोध, लकडाउन उल्लंघन, संक्रामक रोग नियन्त्रणमा अवरोध पुर्याएको कानून आकर्षित हुन्छ ।

‘सामान्य अवस्थामा त एम्बुलेसन्स रोक्न पाइँदैन भने लकडाउनका बेला रोक्न पाउने कुरै भएन’, गृह मन्त्रालयका प्रवक्ता केदारप्रसाद शर्मा भन्छन्, ‘सर्वसाधारणलाई मात्रै होइन अधिकार प्राप्त व्यक्तिले पनि एम्बुलेन्स रोक्न पाउँदैन, यसमा जोजो संलग्न भए पनि कानुन अनुसार कारबाही हुन्छ ।’

यो पनि पढ्नुहोस ज्वरोका बिरामीको पीडा : एम्बुलेन्सले बोक्न मानेन, गाउँलेले बाटो छेके

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment