Comments Add Comment

कोरोनाले सातामै लियाे ३३ हजार बढीको ज्यान, ५ लाख संक्रमित थपिए

२३ चैत, काठमाडौं । पछिल्लो एक सातामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणदर र मृत्युदर बढेको पाइएको छ । चीन उद्गम भएर विश्वव्यापी बनेको यो भाइरसबाट एक सातामै ३३ हजार आठ सय ३० मानिसको ज्यान गएको छ भने पाँच लाख ३८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

चैत १५ गतेसम्म विश्वभर संक्रमित हुने मानिसको संख्या छ लाख ६३ हजार एक सय २७ थियो । तर, यो संख्या चैत २२ गतेसम्म आइपुग्दा १२ लाख एक हजार चार सय ७३ पुगेको हो ।

सोही अवधिमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या पनि ३० हजार आठ सय ६१ बाट बढेर ६४ हजार छ सय ९१ मा पुगेको छ ।

चीनको वुहानबाट सन् २०१९ को अन्तिममा यो भाइरस देखिएयता अघिल्लो शनिबारसम्म मृत्यु हुनेको संख्याको तुलनामा पछिल्लो एक सातामा धेरै मानिसको मृत्यु भएको छ । पछिल्लो एक सातामा संक्रमितको संख्या पनि झण्डै दोब्बर पुगेको हो । यो महामारी रोक्न अहिले विश्वभर विभिन्न प्रयास भइरहे पनि संक्रमित र मृतकको संख्यामा कमी भने आउन सकेको छैन ।

जनवरी २२ मा यो भाइरसका संक्रमितको संख्या पाँच सय ८० मात्र थियो । त्यसको झण्डै साढे एक महिनापछि मार्च ६ मा संक्रमितको संख्या एक लाख पार भएको थियो । तर, त्यसको एक महिना पनि पूरा नहुँदै समग्र संक्रमितको संख्या ११ लाखले बढिसकेको छ ।

अहिलेसम्म यो भाइरसको महामारी यूरोप र अमेरिकामा फैलिएको छ । तर, अब भने यो महामारी एसियामा फैलिन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिइसकेको छ । उसले समग्र एसियालाई भाइरस रोक्ने प्रयास जारी राख्न र अझै सचेत रहन सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment